सर्वत्र पाइयोस् रक्ततत्त्व
पीडितले हारगुहार गरी जोहो गरिएको रगत र रक्त–तत्त्वहरू अस्पतालहरूबाट खुलेआम बिक्री गरिरहेका छन्।
समयसापेक्ष कार्य सम्पादन गर्नुपर्छ। तर, गरौं भन्दाभन्दै पनि कतिपय अवस्थामा मानव काबुभन्दा बाहिर हुँदोरहेछ। यस्तै परिस्थिति संसारका सर्वश्रेष्ठ प्राणी मानव जातिमाथि हाम्रै जीवनकालमा देख्न र भोग्न विवश बनाइदियो। आधुनिकताको नाममा ‘मूल नछोडौं, प्रविधि पाउँदा परम्परा नबिर्सौं !’ कोरोना भाइरसले यो भनाइलाई मनन्योग्य बनाइदियो।
जीवनकालमा सम्पादित कार्यहरूको कहिल्यै पनि समीक्षा गरेर हामीले समयनुसार प्रभावकारी तवरले प्रयोगमा ल्याउने कोसिससमेत गरेनौं कि ? पुर्खाले आर्जेको यो जन्मभूमिमा पुर्खाहरूले विगतमा गरेका तर वैज्ञानिक तवरले विज्ञानसम्मत सिद्ध हुन नसकेको यो कोरोना भाइरसले प्रष्ट्याएको छ। तसर्थ, हाम्रो मौलिकतालाई संरक्षण र सम्वद्र्धन गर्दै आफू र आफूमार्फत परिवार, परिवारमार्फत टोल, टोलमार्फत समाज, समाजमार्फत देशलाई नै आधुनिकीकरण गर्न सक्नु पर्छ। हामी १६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइरहेका छौं। रक्त सञ्चारको क्षेत्रमा स्वयंसेवी रक्तदाताको विकल्प वा स्वयंसेवी रक्तदाताहरूले दान गरेको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको उपमा दिने कुनै पनि वैज्ञानिकहरूले आजसम्म यो जगत्लाई विकल्प दिन सकेका छैनन्। हाम्रो देशमा स्वयंसेवी रक्तदातालाई विगतदेखि वर्तमानसम्म आइपुग्दा यथोचित व्यवस्थापन गर्न नसकिएको कुरा जगजाहेर छ। यो पुनीत दिनमा व्यक्तिगत, संस्थागत एवं विभिन्न कोणबाट वर्षभरि स्वयंसेवी तवरले काम गर्नुपर्छ।
आफ्नो शरीरको अमूल्य रगत जीवनदान स्वरूप पीडितको स्वास्थ्य लाभको निमित्त गरिनु पर्छ। दानलाई सर्वोपरि महादानको संज्ञाका साथ उच्च इज्जत र सम्मान व्यक्त गर्ने दिन वा दिवसका रूपमा बुझ्न जरुरी छ। ‘रगत दिउँ, जगत् सुरक्षित राखौं’ विश्व रक्तदाता दिवस जून १४ को उपलक्ष्यमा शुभकामना ! ‘रगत र रक्ततत्त्वहरू आवश्यकतानुसार उपलब्ध हुन जति जरुरी छ, त्योभन्दा बढी यसको यथोचित व्यवस्थापन गर्न आवश्यक छ’ भन्ने मूल नाराका साथ १६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ। समयको अन्तरालमा तय गरिएका यस्ता नाराहरूले त्यो समय र क्षणको अवस्थालाई सारमा चित्रण वा प्रस्तुत गर्न खोजेको हुन्छ। नाराहरूमा आफूलाई समाहित गरी आफ्नो तर्फबाट योगदान दिन वा पुर्याउन सकेमा मात्र कुनै पनि नारा वा गरिएको आह्वानले मूर्तरूप पाउन सक्छ।
तब मात्र लक्षित वर्गले राहतको अनुभूति गर्न पाउने छ। हो, यस वर्ष हामी स्वयंसेवी रक्तदाताहरूले नाराको वास्तविक धारणा बुझ्नु पर्छ। के छ त भने– पीडित पक्षहरूको उपचारका क्रममा मानव रगत र रगतबाट तयार पारिएका रक्त–तत्त्वहरूको चिकित्सक वर्गबाट जसरी माग गरिन्छ, त्यसरी नै यसको आवश्यकता अनुसार प्रयोग हुनुपर्ने हो तर त्यस्तो भइरहेको छैन। सहज तवरले रगत र रगतबाट तयार पारिएका रक्त–तत्त्वहरू चिकित्सक वर्गद्वारा माग गरिन्छ। त्यो माग गरिएका रगत र रक्त–तत्त्वहरू पीडितलाई आवश्यक छ कि छैन ? त्यसमा खासैमा महत्व दिएको पाइँदैन। भनाइको तात्पर्य जति पोका रगत वा रगतबाट तयार पारिएका रक्त–तत्त्वहरूको माग गरिन्छ, त्यत्तिकै ती पोकाहरू फिर्ता हुने क्रम तिब्र छ।
यति मात्र कहाँ हो र ? त्योभन्दा डरलाग्दो पक्ष त पीडितले हारगुहार गरी जोहो गरिएको रगत र रक्त–तत्त्वहरू अस्पतालहरूबाट खुलेआम बिक्री गरिरहेका छन्। कतै म्याद नाघेपछि नालीमा फ्याँकिरहेका भेटिन्छन्। निर्लज्ज तवरले गर्दै आइरहेको यस्तो गतिविधिलाई नियमनकारी निकाय किन मौन छन् ? निर्विकल्प स्वयंसेवी रक्तदाताहरूको शरीरबाट दानमा प्रदान गरिएको रगत पीडितको उपचारका क्रममा आवश्यक पर्न सक्ने हुन्छ। तर त्यस्तो रगत र रगतबाट तयार पारिएका रक्त–तत्त्वहरूको उपलब्धतामा यथोचित व्यवस्था गर्न वर्तमान अवस्थामा सकिरहेका छैनौं। राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइरहँदा देशमा रक्तसञ्चार सेवाको इतिहासले ७८औं वसन्त पार गरिसकेको छ।
यत्रो लामो समयमा के के सफलता हाँसिल गर्न सक्यौं त ? कहिल्यै पनि गम्भीर समीक्षा गरेको पाउन सकिन्न। यो चल्नु पर्ने चिज चलिरहेको छ भन्नु सिवाय अरू केही होइन भन्दा फरक नपर्ला ! त्यसैले हामी भन्छौं, ‘रगत र रक्ततत्त्वहरू आवश्यकतानुसार उपलब्ध हुन जति जरुरी छ, त्योभन्दा बढी यसको यथोचित व्यवस्थापन गर्न आवश्यक छ।’ तसर्थ जीवनमा सही मार्ग देखाउने कुनै माध्यम छ भने त्यो हो आफूले आर्जेको अनुभव। यसैलाई आत्मसात् गर्न र स्विकार्न सकेमा मात्र देशभित्र सञ्चालित रक्त सञ्चार सेवामा सुधार आउने छ। पीडित पक्षले आवश्यकताअनुरूप रगत र रगतबाट तयार पारिएका रक्त–तत्त्वहरू यत्रतत्र सर्वत्र सहज तवरले प्राप्त गर्न सकिने छ।
लेखक नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन्।