किन उर्लिन्छ, किन ढल्छ सेयर ?
सेयर बजार पनि सामूहिक खेल हो। नियमानुसार सबै मिलेर खेल्दा हरेक कुरामा सन्तुष्टि प्राप्त हुन्छ। कुरामा बत्तिन भन्दा स्वअध्ययन र विश्लेषण हितकर हुन्छ।
नेपालको सेयर बजारमा दिग्गज मानिएका विश्लेषकका भविष्यवाणी प्रायः फेल खाएका छन्। आज एउटा सोच्यो, भोलि अर्कै हुन्छ। हिजोको कारोबार हेरेर आज लगानी गर्छु भन्ने अवस्था छैन। कहाँ, कुनबेला के हुन्छ ? कसैलाई पत्तो हुँदैन। के कारण यस्तो उतारचढाव आउँछ ? लाखौं लगानीकर्ता छन्। दुःखको कमाइ कस्तो ठाउँमा लगानी भयो ? थाहै पाउँदैनन्। अँध्यारोमा तीर हानेजस्तो। लागे मर्यो, नलागे...।
बजार सामान्य गतिमा हिँडिरहेको बेला कुनै नेता या विशिष्ठ पदका व्यक्तिको अभिव्यक्तिले हलचल गराइदिन्छ। उच्च विन्दुमा पुगेको नेप्से, अचानक ओह्रालो लाग्छ। न्यून विन्दुमा छ भने पनि उकालो चढ्न थाल्छ। यसबाट के आँकलन गर्न सकिन्छ ? उनीहरूको मनमा त्यस्तै आयो, भनिदिए। लगानी गर्ने त आफूले हो नि। उनीहरूका कुरै नसुने त बजार सामान्य रूपमा चलिरहन्थ्यो। तर, यहाँ त्यस्तो भएन। जसले जे भन्यो त्यसैका पछि लागेर लगानीकर्ताले धेरै गुमाउनु परेको छ। बोल्नेको त कुरै नगरौं, सुर हराएजस्ता छन्।
यस्तो नेपालमा मात्र होइन। अन्तर्राष्ट्रिय बजारमा पनि बेलाबेलामा भइरहेका उदाहरण छन्। सन् १९९६ मा अमेरिकाको केन्द्रीय बैंकका तत्कालीन बोर्ड अध्यक्ष एलन ग्रिनस्पानले एउटा पार्टीमा जिस्किएर सेयर बजारलाई इंगित गर्दै ‘तर्कहीन उत्साह’ (इरेसनल एक्ज्यूबेरेन्स) भनेका थिए। ती दुई शब्दले अमेरिकामा मात्रै होइन, संसारका अन्य सेयर बजारमा पनि ठूलो असर परेको थियो। नेपाल तथा अन्तर्राष्ट्रिय सेयर बजारमा भएका यस्ता घटनाले पनि लगानीकर्ताको ध्यान अभिव्यक्तिकर्ताको भनाइमै केन्द्रित देखियो। सामाजिक मनोविज्ञानका कारण ठूला तथा सामान्य लगानीकर्ता त्यसको सिकार बन्न पुगे।
सन् २०१३ को अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता तथा पुँजी बजार विज्ञ अमेरिकाका प्राध्यापक रोबर्ट सिलरले सेयर बजारको सम्बन्धमा लगानीकर्ताको मनोविज्ञानले बजारको प्रवृत्ति निर्धारण हुने कुरा गरेका छन्। यसबाट के स्पष्ट हुन्छ भने पुँजी बजारमा लगानीकर्ताको सामूहिक मनोविज्ञान मिल्न गयो भने कसैको सकारात्मक वा नकारात्मक टिप्पणीले अर्थ राख्दैन। आफ्नो नेतृत्व आफैं गर्न सकिन्छ। अरूको भर पर्दा गलत निर्णय पनि हुनसक्छ।
बजारमा कुनै पनि लगानीकर्ता मन्त्री तथा तथा नेताको अभिव्यक्ति सुन्न आतुर हुन्छन्। उनीहरूले के भन्छन्, त्यसैका पछाडि लाग्ने। राम्रो भने खुसी हुने, नराम्रो भने आत्तिने। यदि उनीहरूका कुरै नसुनेर आफूले लगानी गर्न खोजेको कम्पनीका विषयमा अध्ययन गरे, त्यो समय सदुपयोग हुन्थ्यो। अलिकति भए पनि ज्ञान आर्जन हुन्थ्यो। आखिरमा फाइदा भए पनि आफैंलाई हो, घाटा भए पनि आफैंलाई। किन अरूको कुरा सुनेर समय बर्बाद पार्ने ?
हामी मानव, त्यसमा पनि सामाजिक प्राणी। यही समाजमा बाँच्नुपर्छ। खेल्नुपर्छ। रमाउनुपर्छ। हाम्रो जीवन नै एउटा खेल हो। हरेक पल खेलिरहेकै छौं। सेयर बजार पनि सामूहिक खेल हो। नियमानुसार सबै मिलेर खेल्दा हरेक कुरामा सन्तुष्टि प्राप्त हुन्छ। त्यसैले यो खेलमा अरूले भनेको कुरामा बत्तिनभन्दा पनि आफैं अध्ययन विश्लेषण गर्नु हितकर हुन्छ। दर्शकले बाहिरबाट देखेका तथा आफूलाई मनमा लागेका कुरा मात्रै भन्छन्। खेल मैदानभित्रको मेहनत स्वयं खेलाडीलाई थाहा हुन्छ। बाहिरका कुरा पनि सुन्नुपर्छ। तर, निर्णय स्वयंले लिनुपर्छ।
१९९५ सालदेखि नेपाल बैंक लिमिटेड र विराटनगर जुट मिल्सले सर्वसाधारणलाई सेयर जारी गरेपछि नेपालमा अनौपचारिक रूपमा सेयर कारोबार सुरु भएको हो। धेरै वर्षसम्म यिनै दुई संस्थाबाहेक अन्य कसैको सेयर बजारमा प्रवेश भएन। त्यसपछि एकैपटक २०३३ सालमा धितोपत्र खरिदबिक्री केन्द्र स्थापना भयो। त्यसपछि नेपालमा पुँजी बजार संगठित भयो। हुनत २०२१ सालमा कम्पनी ऐन आएपछि पहिलो पटक सरकारी ऋणपत्र जारी भएको थियो। तर, धितोपत्र कारोबार गर्ने व्यवस्थित संयन्त्र थिएन। त्यो प्रभावकारी भएन। केन्द्र स्थापना भएपछि नेपालमा दोस्रो बजारको उल्लेख्य विकास हुने आशा गरिएको थियो। तर, आवश्यक कानुनी तथा संस्थागत पूर्वाधार नभएकाले अपेक्षा गरेजस्तो केही भएन। २०४० सालमा धितोपत्र कारोबार ऐन पनि आयो। उल्लेखनीय केही हुन भने सकेन।
२०४६ सालमा भने नेपालको आर्थिक उदारीकरण नीति बन्यो। जसले पुँजीबजारलाई गतिमान बनाउन अहं भूमिका खेलेको छ। २०५० सालमा धितोपत्र कारोबार ऐन २०४० लाई संशोधन गरी ‘धितोपत्र खरिद बिक्री केन्द्र’लाई ‘नेपाल स्टक एक्सचेन्ज (नेप्से)’ मा रूपान्तरण गरियो। त्यसपछि धितोपत्रको सञ्चालन तथा व्यवस्थापन गर्ने छुट्टै दोस्रो बजारको स्थापना भयो। जसलाई नियमन गर्ने स्वायत्त निकायका रूपमा ‘नेपाल धितोपत्र बोर्ड’ को स्थापना पनि भयो। अनि मात्रै २०५० पुस २९ देखि सेयरको नियमित कारोबार सुरु भएको थियो।
नेपालको सेयर बजारमा केही निश्चित लगानीकर्ताको प्रभाव रहन्छ भन्ने चर्चामा छ। विभिन्न चलखेल हुन्छ भन्ने सुनिन्छन्। बजार उनीहरूकै हातमा छ भन्ने हल्ला पनि हुन्छ। भइरहेको छ। किन त्यस्तो चर्चा भयो त ? किनकि लगानीकर्ता एकजुट छैनन्। सबैको मनोविज्ञान एक छैन। लगानीकर्ताले भित्री कुरा नहेरेर बाहिरको कुरामा विश्वास गर्नुहुँदैन। सबैले लगानीमा मात्रै ध्यान दिएमा त्यस्तो केही हुनै सक्दैन। सबैको मनोविज्ञान दह्रो हुनुपर्यो। लगभग ४० लाखभन्दा बढी लगानीकर्ता भएका ठाउँमा दुईचार जनाले केही गर्न सक्दैनन्। लगानीकर्ताले कम्पनीहरूको वित्तीय विश्लेषण गर्ने चलन छ। कम्पनीका अघिल्ला र वर्तमान व्यवसाय कस्तो छ हेर्नुपर्छ। भावी योजनाहरूको अध्ययन गर्नुपर्छ। अनि मात्रै लगानी कुनमा गर्ने प्रस्ट हुन्छ। ढुक्क भइन्छ। त्यसबाट स्वयंको मनोविज्ञान पनि दर्बिलो हुन्छ। त्यहाँ कुनै बाहिरियाको अभिव्यक्तिले असर गर्दैन।
हाम्रो मनोविज्ञानले सधैं राम्रो कम्पनीको मात्रै सेयर किन्ने भन्छ। त्यसैका विषयमा पढ्छौं, हेर्छौं, बुझ्छौं, सोध्छौं अनि किन्छौं पनि। तर, कुन समयमा त्यसलाई बेच्ने ? त्यसका विषयमा न कसैसँग बुझ्छौं, न खोजी नै गर्छौं। मानिस जन्मिएपछि मर्ने कुरा पक्का छ। त्यस्तै कुनै पनि स्टक खरिद गर्नुभन्दा पहिले यो विन्दुमा पुगेपछि जे परे पनि बेच्छु भन्ने तयारी गर्नैपर्छ। हाम्रो वास्तविकता चाहिँ आफ्नो पोर्टफोलियो हेर्दै घटेको बेलामा ला, आज त बर्बाद भइगो नि भन्छौं। बढेको समयमा, आज यति बढ्यो, एक हप्तापछि यति हुन्छ भन्छौं। सधैं बढेको मात्रै हेर्न चाहन्छौं। तर, बेच्ने कुरै गर्दैनौं। बजारमा घटबढ सामान्य प्रक्रिया हो। भइरहन्छ।
अहिलेको नेपाली सेयर बजारमा नयाँ तथा साना लगानीकर्ता मात्रै घाटामा छन् भन्ने भ्रम छ। तर, वास्तविकता त्यस्तो होइन। यहाँ त ठूला तथा दीर्घकालीन रूपमा लगानी गर्ने लगानीकर्तालाई पनि मार परेको छ। प्रायः ठूला लगानीकर्ताले ऋण लिएर लगानी गरेका हुन्छन्। उनीहरूलाई त्यसको ब्याज तिर्न पनि धौधौ परेको अवस्था छ। कतिपयले त घरबार पनि गुमाइसके। यस्तो संकटकालीन अवस्थामा ठूला वा साना लगानीकर्ताले लगानी रणनीति बनाएर, आत्मविश्वासका साथ अगाडि बढेमा सफलता हात पर्न सक्छ। गैरलगानीकर्ताको अभिव्यक्तिबाट निर्देशित नभई सम्हालिएर अगाडि बढ्नु राम्रो हुन्छ। अध्ययन नगरी हौसिएर कुनैमा पनि लगानी गरिहाल्नु हुँदैन। त्यसका बारेमा राम्रोसँग अध्ययन गरी सम्वन्धित विज्ञको अनुभव बुझेर मात्रै लगानी गर्दा सफलता पक्कै पनि प्राप्त हुन्छ।
लगानी गर्दा कम्पनीको व्यवसाय, व्यवस्थापन, मुनाफा, प्रतिसेयर आम्दानी, बजारमा उक्त कम्पनीको वर्चश्व, विगतको सम्भावित मूल्यको उतारचढाव, खुद मुनाफा, बजारहिस्सा, लाभांस क्षमता तथा नीतिसमेतमा ध्यान दिएर लगानी गर्नु उचित हुन्छ। सबै लगानीकर्तामा कम्पनी कुन छान्ने भन्ने ज्ञान नहुन सक्छ। त्यस्ता लगानीकर्ताले गैरलगानीकर्ताको कुरा सुन्नु हुँदैन। उसले सम्वन्धित विज्ञ वा जसले स्वयं बजारमा लगानी गरिरहेको छ, उसको परामर्श लिनु उत्तम हुनेछ।