यसरी स्वर्गको द्धार
‘के स्वर्ग र नरकको कुरा साँचो हो ?’, गुरुको कुटी पुगेर एक साधकले सोधे। साधक नयाँ थिए। गुरुले प्रतिप्रश्न गरे, ‘तिमी को हौ ? किन यस्तो प्रश्न सोधिरहेका छौ ?’ ती साधकले स्पष्ट भने, ‘म एक योद्धा हुँ।’ युद्धभूमिको रणसंहार देखेर खासमा उनी शान्तिको खोजीमा थिए। यद्यपि उनले के स्वर्ग के नर्क, के खुसी के दुःख, के ठिक, के बेठिक ? सबै बिर्सिएका थिए भन्दा फरक नपर्ला।
‘अरे ! तिमी त योद्धा हौ। तिमीलाई कुन राजाले योद्धा बनाए ? तिमी त भिखारीजस्तो देखिन्छौ।’ गुरुले निकै सोचेर भने। आफूलाई खसालेर बोलेको देखेर साधक बनेर आएका योद्धा सुरुमा त आश्चार्यमा परे, गुरुबाट पनि यस्तो कुरा ? तर त्यो वाक्य किन गुरुवाणी बन्यो ? त्यसतर्फ उनले केही सोचेनन्। मात्र गुरुका कुरा सुनेर योद्धा रिसले क्रोधित भए। उनका आँखाहरू राता–पिरा भए।
अचानक योद्धाले दुवै हात फटकार्न थाले। उनले म्यानबाट तलवार झिके। त्यो सबै देखेर गुरु रिसाएनन्, डराएनन्, गाली पनि गरेनन्। शान्त भावमा उनले भने–‘तिमी तलवार पनि बोक्छौ ? तर मलाई लाग्छ, त्यसको धार झरेको छ, त्यसले मेरो गला काट्न सक्दैन।’ योद्धा छक्क परे। के सोचेको के भयो ?
जब योद्धाले तलवार माथि उठाए। त्यही बेला गुरुले भने– ‘मित्र ! यो नै नरक हो।’ साधक बनेका योद्धाले यथार्थ कुरा आफ्नै कामबाट बुझे। त्यसपछि योद्धाले तलवार म्यानमा राखे। एकैछिन आफूलाई शान्त बनाउने प्रयत्न गरे। दुवै हात जोडेर गुरुलाई प्रणाम गरे। गुरुले केहीबेर साधकको अनुहार हेरे र भने– ‘मित्र ! यो नै स्वर्गको द्वार हो।’
नैतिक शिक्षा : स्वर्ग र नर्क आफैंभित्र हुन्छ। तपाईंले आफूलाई कस्तो बनाउनु हुन्छ र अरूसँग कस्तो व्यवहार गर्नुहुन्छ। यसैमा भर पर्छ।