बलिदानको अवमूल्यन
जुनसुकै राजनीतिक र सामाजिक विद्रोह, खबरदारी र आन्दोलन रचनात्मक भएन भने आखिर दुःख पाउने उनै भुइँमान्छे हुन्।
मुखै कानुन भएको शासन थियो, जहानियाँ राणा शासन। त्यसविरुद्ध युवा गंगालाल श्रेष्ठले प्रदर्शन गरे। सोहीक्रममा उनले भनेका थिए, ‘मालिकले च्यै–च्यै भन्दै फ्याँकिदिएको एक टुक्रा रोटीमा कुकुरहरू झ्याम्मिएझैं राणाहरूको एउटा सानो निगाह र जुठो पाउन झ्याम्मिँदै के बाँच्ने ?’ तब उनलाई जेल कोचियो। लोभ, लालच, डर, धम्कीविरुद्ध उनले निर्भिकताका साथ बोले। भने, ‘जताततै कोलाहल ज्वाला देख्छु, आफैं सल्किन लागेको छु ! मलाई त्यो निभाएर मर्न दिनोस् !’ राणाविरोधी आन्दोलनका अर्का हस्ती शुक्रराज शास्त्री भन्थे, ‘मानिसले मानिससँग मानिसको किसिमले व्यवहार गरियोस्, त्यो पनि कमसेकम भगवान्का लागि।’
मृत्युदण्डको सजायलाई छोरा शुक्रराजले सहर्ष स्वीकार गरेपछि वृद्ध पिता माधवराज जोशी कहिल्यै विचलित भएनन्। बरु राणा शासकहरूसँग नझुकी छोराले प्राणदण्ड स्वीकार गरेकोमा पिता माधवराजले जेलमा पुगेर शुक्रराजलाई स्याबासी दिन पो पुगे। जब छोरालाई सुलीमा चढाइयो तब छोराको शवअघि माधवराजको मुखबाट निस्कियो, ‘क्या बात बेटा ! बेटा हो तो तुम जैसा हो।’ उनीहरू जस्ता हजारौं महान् सहिदहरूको जति स्तुति गरे पनि पुग्दैन। किनकि त्यो वलिदानीको जगमा आज हामी नागरिक जीवन बिताइरहेका छौं, दास, रैती, प्रजा हुँदै सम्मानित नागरिकका रूपमा। त्यसैले त सहिद शब्द सुन्नेबित्तिकै सम्मानले छाती फुल्छ। स्वाभिमानले शिर झुक्छ। वीरताको गाथा गाउन मन लाग्छ। तानाशाही शासकप्रति दाह्रा किट्दै बचेखुचेको प्रवृत्तिविरुद्ध धावा बोल्न मन लाग्छ। किनकि महान् सहिदहरूको सहादतको मूल्यमा मुलुकको अग्रगमनको यात्रा तय भएको हुन्छ। उनीहरूको बलिदानी, आहुति र रगतको जगमा राष्ट्रिय स्वाभिमान र समृद्धिको यात्रा तय गर्ने गरिन्छ।
विडम्बना, पछिल्लो दशक हामीले सहिद शब्दको ओज, मर्यादा, मूल्य, गरिमा, सम्मान, मर्म र आस्थालाई निम्नकोटीमा झारिसक्यौं। कि सहिद अब निरीह गाली र खिसीट्युरीको स्तरमा झरिसक्यो। त्यसलाई ‘सहिद’ बनाइदिने हो ?, त्यो त ‘सहिद’ भएछ नि ? भो त्यो ‘सहिद’को पछि नलागेकै बेस। अर्थात्, गाडीको हुटबाट झरेर मरे पनि, भीरबाट लडेर मरे पनि, सँधियारसँगको झगडामा मारिए पनि र रक्सी खाएर झगडामा मारिए पनि दल, दलाल, दबाब, भोट र प्रभावको बलमा सरकारी सूचीमा परेका ‘सहिद’ प्रकरणले निम्त्याएको अवमूल्यनमा नेतादेखि सर्वसाधारणसम्म रमाइरहेका छन्।
सहिदको अवमूल्यन, मुलुकको दशा
सहिदको अवमूल्यन हुँदै गएपछि पछिल्लो दशक सस्तो ‘सहिद’ शब्दको जगजगी छ। जहानियाँ राणाशासनविरुद्ध सहादत दिएका लखन थापा मगरदेखि राणाशासनको अन्त्यका लागि हाँसीहाँसी फाँसी चढ्न तयार शुक्रराज, धर्मभक्त, गंगालाल, दशरथ चन्दहरूका अगाडि अमूल्य सहिद उपमा लाग्दा जीउ जिरिंग हुने गथ्र्यो। सम्मानले रगत उम्लिन्थ्यो। तर जब ‘सहिद’हरूको सूची रुपैयाँ पाउने हिसाबले बढ्न थाल्यो। सहिद शब्दकै अपमान, अवमूल्यन र मानमर्दन हुन थाल्यो। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको नेपाली शब्दकोशमा ज्वाजल्यमान भएर बसेको सहिद शब्द हिजोआज नयाँ परिचयको ‘सहिद’ शब्दका रूपमा अभ्यासमा छ। जसलाई नयाँ पुस्ताले सजिलै अभ्यासमा ल्याएका छन्। शब्दको ओज पनि एकै स्तरको हुँदा कतै वास्तविक महान् सहिदको योजनाबद्ध अपमान त होइन ? प्रश्न गर्नुपर्ने बेला आएको छ।
वीर सहिद, अमर सहिद, आदर्श सहिद
देशको सीमा रक्षा, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने उनै व्यक्तिलाई सहिद भनिन्छ। यही पढ्दै आएका नेपालीलाई पछिल्लो दसक राजनीतिक पहुँच, दाउपेच र पैसाका लागि ‘सहिद’ घोषणा गर्ने विकृत अभ्यासले गाँजेको छ। फलस्वरूप ती महान् चिनियाँ काजी, दुर्गानन्द झा, जगतप्रकाशजंग शाह, रत्न वान्तवा, वीरेन राजवंशी, हमसेर राई, दिलबहादुर रम्तेल, यज्ञबहादुर थापा, भीमसेन दाहाल, दयाराम परियार, चन्द्र बयलकोटी, सेतु बिक, चन्द्र दर्जी, ताहिर अली अन्सारी, योगेन्द्रमान शेरचन, भीमदत्त पन्त, अनिल लामा, हस्तबहादुर धौलाकोटी, सुरज विश्वास, दर्शनलाल यादव, प्रद्युम्न खड्का, सगुन ताम्राकारजस्ता हजारौं सहिदको बलिदानी अमूल्य छ।
त्यसैले उहाँहरूलाई आदर र सम्मानका साथ गर्वले सहिद भन्छौं। उहाँहरूको नाम लिँदा आज पनि हाम्रो शिर गर्वले ठाडो हुन्छ। सम्मानले निहुँरिन्छ। वीरताको गाथा गाउन मन लाग्छ। स्वाभिमानको स्वर गुन्जिन्छ। उहाँहरूको बलिदानको जगमा स्वतन्त्रताको अभ्यास गरिरहेका छौं। समानताको स्वाद चाखिरहेका छौं। अधिकारको अभ्यास गरिरहेका छौं। बिडम्बना, पछिल्लो दशक पैसाका लागि, सत्ताको पहुँचका बलमा, विपक्षीलाई ठीक पार्न, कार्यकर्ता पाल्न, भोटको खोट राजनीति गर्न ‘सहिद’ सूचीकरणमा विकृति आएको छ। दुर्घटनामा निधन भएका व्यक्तिलाई ‘सहिद’ घोषणा गराउन पाए राज्यबाट पैसा पाइन्छ भनेर चक्काजाम गरिन्छ। यो बुझाइ राज्य–दल–बिचौलिया र नेता–कार्यकर्ताबीच साँठगाँठ हुने संस्कृति मौलायो। राम रमाइलोका लागि रक्सी खान बसेकाहरू झगडामा मारिएका एकथरी मान्छेसमेत ‘सहिद’को सूचीमा पर्न थाले। देखासिकी कतिसम्म बढ्यो भने फलाना ठाउँको घटनामा यसरी नै मारिँदा ‘सहिद’ घोषणा गरेर सरकारले पैसा दिएको थियो। त्यसैले हामी पनि ‘सहिद’ घोषणाका लागि आन्दोलन गरौं भन्ने जमात फैलिँदै गयो। वास्तविक सहिदको अपमान अवमूल्यन र अनादर हुन थाल्यो। योभन्दा दुःखद् के हुन सक्छ ?
सबै सहिद घोषणा हुँदैनन् तर पनि महान छन्
संसारमै सहिदहरू भनेका निरंकुश राज्यसत्ताविरुद्ध धावा बोल्दा अकालमा मारिएका र आन्दोलनका क्रममा गोली खाएका योद्धाहरूका रूपमा समेत परिभाषित गर्ने चलन छ। अर्थात्, सहिदहरूको नियमित निधन भएको हुन्न। हत्या गरिएको हुन्छ। अमेरिकामा मार्टिन लुथर किङ, अब्राहम लिंकन, भारतमा महात्मा गान्धी, राजीव गान्धी, बंगलादेशमा अब्दुल अहल पहले, पाकिस्तानमा बेनजिर भुट्टोहरूको हत्या गरिएको थियो। उनीहरूको बहुआयामिक योगदान र सहादतलाई विश्वले नै सम्मान गर्ने गर्छ। नेपालको सरकारी सहिद सूचीकरण भने गम्भीर बहसको विषय बनेको छ। राजनीतिक रूपमा पक्ष–विपक्षमा विभक्तमध्ये जग्गाको किचलोमा होस् या ‘केटी भगाउने’ प्रकरण। तिनमा हुने गलफत्ती। सडक दुर्घटना होस् या दादागिरी। त्यसमा हुने दुई पक्षबीचका गिरोह र कुटपिट। यसरी मारिएकालाई दलीय पक्षधरताका आधारमा ‘सहिद’ घोषणा गरिए। अनि सरकारबाट पैसा असुल्ने खराब प्रवृत्ति बढ्यो। यसले वास्तविक महान् सहिदको अवमूल्यन गरेको छ। सहादत, आहुति र बलिदानीको मर्यादालाई सस्तो बनाइदिएको छ। कागजी ‘सहिद’ खेती यति फस्टाएको छ कि मल हाल्दिनेमा दलका नेता अग्रपंक्तिमा छन्।
नेपाल अझै सहादतको उर्वर भूमि
राजनीतिक नेतृत्वको अदूरदर्शिता, पुरातन सामन्ती सोच, अभ्यास र विभेदको जरो गहिरो छ। नेपाल अझै पनि राजनीतिक, सामाजिक आन्दोलनको उर्वर भूमि हो भन्नेमा सन्देह छैन। अहिले पनि विभिन्न कालखण्डका क्रान्ति, युद्ध, आन्दोलन, विद्रोह र दमनविरुद्धको प्रतिवादमा सहादत पाएकाहरूका सन्तति खाडीमा पसिना चुहाइरहेका छन्। कतिपय सहिद परिवारको बिल्लीबाठलाई सरोकारवालाले नजरअन्दाज गरिरहेका छन्। राज्य एक कदम अघि बढेर नेपालको विविधताको विशिष्ठतालाई सामयिक सम्बोधन गर्नुपर्छ। अनि सम्वृद्धिको यात्रामा अघि बढ्नु पर्ने हुन्छ। अझ उपलब्ध अधिकार कटौती गरेर अनुदार बन्ने उल्टो यात्रामा हिँड्ने संकेत देखिन्छ। यसले कतै फेरि भिन्न अधिकारको सवालमा सहिद हुनुपर्ने अवस्था त आउँदैन ? सोचनीय विषय छ।
आजको पुस्ता गौरवमय इतिहास आत्मसात गर्दै विकास, समृद्धि, मर्यादा, सुशासन र स्वाभिमानको यात्रामा सरिक हुन चाहन्छन्। उनीहरू पटकपटक आन्दोलन र विद्रोहमा भन्दा पनि विकास र समृद्धिको राजमार्गमा गुड्न चाहन्छन्। दुर्भाग्य। शासन सत्ता, कर्मचारीतन्त्र र सरोकारवाला निकायहरूमा भ्रष्टाचारी र अनुदारवादीको बाहुल्यता कायमै छ। सहादत जहिले पनि स्वतन्त्रता, समानता, न्याय, मर्यादा र लोकतन्त्र प्राप्तिका लागि हुने गर्छ। एक पटक थाहा अभियन्ता रूपचन्द्र विष्टले भनेका थिए, जो नेपाली आफ्नो शरीरको उचिरो काट्न पनि कर्तनालय जान खोज्छ, उनीहरूलाई नै सबैभन्दा बढी स्वतन्त्रताको अभ्यास गर्नु छ भन्ठान्छन्। सोच्छन्, अर्काका छोराछोरीले बलिदान गरिदिउन्।
कुरो गम्भीर यस मानेमा छ कि अबको जुनसुकै राजनीतिक र सामाजिक विद्रोह, खबरदारी र आन्दोलन रचनात्मक भएन भने आखिर दुःख पाउने उनै भुइँमान्छे हुन्। जसका नाममा राज्यसत्तामा पुग्ने र उसैलाई ‘म शासक तिमीहरू रैती’का व्यवहार गर्ने उही सदाबहार आमनेपाली राजनीतिक शैलीमा परिवर्तन नखोजी सुखै छैन। जनता जहिल्यै अभाव, अन्याय, अत्याचार र पहुँचविहीन निरीह हुने र नेता सदा परम्परागत फगत शासकजस्ता मात्र भइरहने काम भएको छ। बरु सहिदको सहादतको उच्च मूल्यांकन गर्दै नागरिकलाई सुखी र देशलाई सम्वृद्ध बनाउने महायात्रामा होमिनु पर्छ। यो नै सहिदको सपना साकार पार्नु हो। फेरि सहिद नजन्माउनु हो।