सार्वजनिक लेखा समितिका सभापति भन्छन्- ‘अख्तियारले मनलाग्दी मुद्दा चलाउँछ’
भैरहवा: सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई मन लागेको मुद्दामात्र चलाउने गरेको दाबी गरेका छन्। आइतबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आफूहरुले छानबिन गरेर त्रुटि भेटिएपछि नै मुद्दा चलाउने अख्तियारलाई निर्देशन दिने गरे पनि अख्तियारले मनलाग्दीअनुसार गर्ने गरेको बताए।
अख्तियारले आफूलाई मन लागे अनुसार मुद्दा चलाउने र नचलाउने गर्दा ठीक नभएको जिकिर गरे। ‘हामीले पठाएको वनको मुद्दा अख्तियारले चलाइदियो तर वाइडबडीको चलाएन,’ उनले भने, ‘हामीहरुले धेरै छानबिन गरे पठाएका हुन्छौं। कुनै न कुनै त्रुटि नभइ हामीले पठाएको हुँदैनौं। तर उनीहरुले मन लागेकोलाई मुद्दा चलाउँछन्, नलागेकोलाई चलाउँदैनन्।’
सार्वजनिक लेखा समिति भनेको ऐनद्वारा नै परिकल्पना गरिएको संसदको समिति भएको र मिहीन ढंगले छानविन गरेरमात्रै कारबाहीको लागि अख्तियारलाई पठाउने गरको उनले बताए। पूर्व अर्थराज्य मन्त्रीसमेत रहेका शाहले देशमा आर्थिक संकट नआउने बताए।
‘आर्थिक क्षेत्रमा तरलता अभावका विषयमा हामीले नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई लेखा समितिमा बोलाएर बुझेका थियौं,’ उनले भने, ‘अहिले जुन आर्थिक मन्दिको अवस्था छ त्यो फागुन-चैत भित्रै हल हुन्छ।’
नेपालमा राजस्व संकलनको दर राम्रो रहेको र लक्ष्यअनुसार नै संकलन भइरहेकाले श्रीलंकाजस्तो अवस्था नआउने उनले दाबी गरे। ‘श्रीलंकाजस्तो विदेशी मुद्रा सञ्चय हाम्रो समस्या होइन, यहाँ बैंकहरुको लगानी र नियामक निकायले गरेको कडाइपछि तरलता अभाव देखिएको हो,’ उनले भने, ‘अहिले विकास निर्माणका काम पनि कम भएकाले फागुन-चैत महिनासम्म विकास खर्च बढ्ने र आर्थिक मन्दी कम हुँदै जान्छ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय चुनढुंगा उत्खननका विषयमा अनुसन्धान गरी दायर गरेको भ्रष्टाचार मुद्दामा कानुनअनुसार जो कोही दोषी भए कारबाहीको भागेदारी बन्नुपर्ने बताउँदै विगतमा जस्तो सामान्य जरिवानाबाट उम्किन नसक्ने बताए।
सभापति शाहले उद्योगहरुको विद्युत महशुल भुक्तानी बक्यौता मिनाहा हुन नसक्ने बताए। उनले लोडसेडिंगको बेलामा १७-१८ घण्टा विद्युत उपभोग गर्ने उद्योगहरुले ट्रंकलाइन विद्युत प्रयोग गरेनन भन्नै मिल्दैन भन्दै त्यस्ता उद्योगहरुले विद्युत महशुल बुझाउनु पर्ने बताए।