राष्ट्रसंघका विज्ञ मारिएको आरोपमा ५१ जनालाई मृत्युदण्ड, समलिंगी भाले पेन्गुइनले कोरले अण्डा

राष्ट्रसंघका विज्ञ मारिएको आरोपमा ५१ जनालाई मृत्युदण्ड, समलिंगी भाले पेन्गुइनले कोरले अण्डा

न्युयोर्कः अमेरिकाको न्युयोर्क राज्यस्थित एक चिडियाखानामा समलिंगी भाले पेन्गुइन जोडीले अण्डा कोरलेका छन्। न्युयोर्कको सिराक्युज सहरस्थित रोजामण्ड जिफोर्ड चिडियाखानामा एक जोडी हम्वोल्ट जातको समलिंगी भाले पेन्गुइन जोडीले अण्डा कोरलेका हुन्। चिडियाखानाका अनुसार समलिंगी भाले पेन्गुइन जोडी एल्मर र लिमाले पहिलोपटक अण्डा कोरल्न सफल भएका छन्। सो समलिंगी पेन्गुइन जोडीले कोरलेको अण्डाबाट जन्मिएको हुर्काउन र तिनलाई पालनपोषण गर्नसमेत सक्षम देखिएको चिडियाखाना प्रशासनले जनाएको छ। 

सो जोडीले प्रजनन क्षमता भएको पेन्गुइनले पारेको अण्डालाई कोरलेको बताइएको छ। अन्य पोथी पेन्गुइनले पारेको अण्डा कोरल्नु भाले पेन्गुइनका लागि नयाँ घटना भएको पेन्गुइन विज्ञहरुले बताएका छन्।
सो जोडीले प्रजनन क्षमता भएको पेन्गुइनले पारेको अण्डालाई कोरलेको बताइएको छ। मध्यमखालको उचाई भएको हम्बल्ट जातको पेन्गुइनलाई आइयुसिएनले खतराको सुचीमा राखेको छ। सो जातको पेन्गुइनको मुख्य बासस्थान दक्षिण अमेरिका र प्यासिफिक कोस्ट हो। 

राष्ट्रसंघका विज्ञ मारिएको आरोपमा ५१ जनालाई मृत्युदण्ड 
किन्सासाः संयुक्त राष्ट्रसंघका विज्ञहरु मारिएको आरोपमा ५१ मानिसलाई मृत्युदण्डको सजाय सुनाइएको छ। सन् २०१७ मा राष्ट्रसंघका दुई विज्ञहरुलाई मारेको आरोपमा डेमोक्रेटिक रिपब्लिक कंगोको सैन्य अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो। 

कंगोमा हत्याको मुद्दामा मृत्युदण्डको सजाय दिने गरिएको थियो। तर कंगो सरकारले सन् २००३ मा मृत्युदण्डको सजायमा रोक लगाइ आजीवन काराबासको सजायमा परिणत गरिएको थियो। त्यसयता सामूहिक मृत्युदण्ड सुनाइएको यो पहिलो केस भएको बताइएको छ। 

कंगोको कसाइ प्रान्तस्थित सरकारी सेना र विपक्षी समूहबीच भएको हिंसा अनुसन्धानमा खटिएका राष्ट्रसंघका विज्ञ जाइदा क्याटलान र माइकल सार्पको सन् २०१७ मार्च महिनामा हत्या भएको थियो। हत्या भएको १६ दिनपछि उनीहरुको शव फेला परेको थियो। उनीहरु सन् २०१६ देखि २०१७ मार्चसम्म भएको हिंसाबारे अनुसन्धानमा खटिएका थिए। सो समयावधिमा करिब ३४ सय मानिसको हत्या भएको थियो भने हजारौंले बासस्थान छोडेको थिए। 
त्यहाँको विपक्षी सशस्त्र समूहले उनीहरुको हत्या गरेको पुष्टि कंगोस्थित कनाङ्गा सैन्य अदालतले गरेको थियो। सो पुष्टि भएपछि सैन्य अदालतले ५४ आरोपितमध्ये ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो।

लाइबेरियाका कारागार गाँस, बास र कपासबिनै सञ्चालनमा
म्यानरोभियाः पश्चिम अफ्रिकी मुलुक लाइबेरियाका विभिन्न कारागारहरु गाँस, बास र कपास अभावमै सञ्चालन भइरहेका छन्। लाइबेरियाको विभिन्न १५ वटा कारागारहरु लामो समयदेखि गाँस, बास र कपासबिनै सञ्चालन भइरहेका हुन्। 

यसअघि यस महिनाको सुरुवातमा त्यहाँको केन्द्रीय कारागारमा खाना, कैदीको पोसाक र कैदीको लागि बासको अभाव भएको समाचार बाहिरिएको थियो। सो समाचार बाहिरिएको २ हप्ता वितिसक्दा त्यहाँका अन्य १५ वटा कारागारहरुले समेत गाँस, बास र कपास अभावको सामना गरिरहेको बीबीसीले जनाएको छ। 

ती कारागारहरुमा खाना, लत्ताकपडा र कैदीलाई राख्ने ठाउँ नहुँदा अन्य अपराधीहरुलाई समेत कारागारमा भर्ना गराउन समस्या भएको बताइएको छ। ती कारागारहरुमा कैदीको भीडभाड र आर्थिक सहयोग उपलब्ध नहुँदा सो समस्या छाएको बताइएको छ। त्यहाँका कारागारमा रहेका कैदीले दिनमा एकछाक खाना, एउटै कोठामा क्षमताभन्दा बढी कैदी र लामो समयदेखि एक जोरमात्र कपडा लगाउने गरेको बीबीसीले उल्लेख गरेको छ। 

गधा र बाख्रा चोरको बिगबिगी
जयपुरः भारतको राजस्थानमा बाख्रा र गधा चोरीका घटना बढेका छन्। राज्यको हनुमानगढ जिल्लामा पछिल्लो समय बाख्रा र गधा चोरीका घटना बढेका हुन्।
जिल्लामा बाख्रा र गधा चोरको बिगबिगी रहेको जिल्लास्थित खुइया प्रहरी चौकीले जनाएको छ। प्रहरीका अनुसार पछिल्लो एक महिनाभित्रमा ७० वटा गधा चोरी भएको घटना सेलाउन नपाउँदै ३४ बाख्रा चोरी भएको घटना सामुन्ने आएको छ।

गधा र बाख्रा चोर पक्रिन र चोरी भएका गधा र बाख्राको खोजीमा त्यहाँको विशेष प्रहरी टोली खटिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यहाँको तिब्बी प्रहरी चौकीले चोरी भएका बाख्रा र गधा खोजी र चोर पत्ता लगाउन विशेष टोली बनाएको बताइएको छ। सो क्षेत्रमा जाडोको समयमा स्थानीयहरु चडै निदाउने भएकाले चोरहरुले बाख्रा र गधा चोरीको मौका छोप्ने गरेको बताइएको छ। चोरहरु स्थानीय नै हुने आशंका गरिएको छ। चोरहरुले चोरीका गधा र बाख्रा चोरेर टाढाको बजारमा बिक्री गर्ने गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

एक वर्षमा २ हजार यमनी बालबालिका मारिएको दाबी 
मारिबः संयुक्त राष्ट्रसंघ (युएन)ले एक वर्षको अवधिमा करिब २ हजार यमनी बालबालिका मारिएको दाबी गरेको छ। हुथी विद्रोहीले आफ्नो समूहमा भर्ति गरेका ती बालबालिका एक वर्षको अवधिमा मारिएको दाबी संघको नयाँ रिपोर्टले गरेको हो। 

शनिबार साँझ सार्वजनिक युएनको नयाँ रिपोर्टअनुसार यमनको हुथी विद्रोहीले आफ्नो समूहमा भर्ती गराएका करिब २ हजार यमनी बालबालिका लडाइँमा मारिएका छन्। सन् २०२० जनवरीदेखि सन् २०२१ मे महिनासम्म सो संख्यामा ती बालबालिका मारिएका हुन्। हुथी विद्रोहीले यमनका विभिन्न विद्यालय र विभिन्न ग्रामिण भेगका बालबालिकालाई आफ्नो सिद्धान्त सिकाउँदै आफ्नो समूहमा भर्ना गराएको युएनले उल्लेख गरेको छ। 

अमेरिकाका पाँच वटा राज्यमा आपतकालीन घोषणा
न्युयोर्कः अमेरिकाको इस्ट कोस्ट क्षेत्रमा हिमआँधी भयानक बन्दा त्यहाँका पाँच वटा राज्यमा आपत्कालीन घोषणा गरिएको छ। भयानक हिमआँधीका कारण अवस्था जटिल बनेपछि न्युयोर्क, न्युजर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्य सरकारले आपत्कालि घोषणा गरेका हुन्। सो क्षेत्रमा चार वर्षपछि सबैभन्दा ठूलो हिमआँधी आएको बताइएको छ। शनिबार त्यहाँको नेसनल वेदर सर्भिसले सो आँधीलाई ‘बम साइक्लोन’को नाम दिएको छ।

मध्य अक्षांशीय चक्रपातले समेत चिनिने बम साइक्लोन चिसो हावासँग समुद्रको तातो हावा ठोक्दिाँ वायुमण्डलमा भारी दबाब पर्न जान्छ। र सोही कारण हिउँ तथा बरफ तुफान आउने गर्छ। अमेरिकाको इस्ट कोस्टमा पनि सोही कारण हिम एवम् आँधी आएको बताइएको छ। सो क्षेत्रमा भारी हिमपात हुनुका साथै आँधीपछि बाढीको सम्भावना रहेको बताइएको छ। विज्ञहरुले सबैलाई सतर्क रहन चेतावनीसमेत दिएका छन्। सो आँधीका कारण अधिकारीहरुले आइतबारका लागि तय भएका करिब ६ हजारभन्दा बढी अमेरिकी उडानसमेत रद्द गरेका छन्।

क्यानडामा ट्रक चालकको प्रदर्शन बन्यो उग्र 
ओटावाः क्यानडामा ट्रक चालकद्धारा जारी प्रदर्शन उग्र बनेको छ। कोभिड-१९ विरुद्धको खोप सरकारद्धारा जारी आदेशको विरोधमा जारी सो प्रदर्शन उग्र बनेको हो। संसारभर कोभिड-१९ खोप अभियानतर्फ मानिस उन्मुख भइरहेका बेला क्यानडामा भने सो खोप अभियानको विरोधमा हजारौ ट्रक चालकहरुले राजधानी ओटावामा सडक प्रदर्शन थालेका हुन्। प्रदर्शनकारीहरुले सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन मात्र नभई सरकारी कार्यालय र प्रधानमन्त्री निवास घेराउ गरेको बताइएको छ। 

सो प्रदर्शनबाट त्रसित क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो आफ्नो सपरिवारसहित गुप्त स्थान सरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। प्रदर्शनका कारण प्रधानमन्त्रीको सुरक्षामाथि खतरा उत्पन्न भएको बताइएको छ। प्रधानमन्त्री ट्रुडोको सरकारले त्यहाँका सबै मानिस र अमेरिका प्रवेश गर्ने हरेक ट्रक चालकलाई कोभिड-१९ विरुद्धको खोप अनिवार्य गराएको छ। सरकारको सो निर्णयको विरोधमा त्यहाँका ट्रक चालकले चक्का जामसमेत गर्दै आएका छन्। सो प्रदर्शन हिंसामा परिणत हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन्। 

बेइजिङ ओलम्पिकको विरोधमा उत्रिए उइघुर र तिब्बती नागरिक
ब्रसेल्सः चीनले शीतकालीन बेइजिङ ओलम्पिक्स २०२२ को अन्तिम तयारी गरिरहँदा उइघुर समुदाय र तिब्बती नागरिकले भने त्यसको विरोधमा प्रदर्शन गरिरहेका छन्। शीतकालीन ओलम्पिक्स बहिष्कार गर्नुपर्ने भन्दै चिनियाँ मुस्लिम अल्पसंख्यक उइघुर र तिब्बती नागरिकले विभिन्न क्षेत्रबाट विरोध प्रदर्शन गरेका हुन्। 

सो समूहहरुले बल्जियमको डिक्समुडेमा चीन र चीनको शीतकालीन ओलम्पिक्सविरुद्ध एकसाथ विरोध प्रदर्शन गरेका हुन्। चीनले मानवअधिकारको उल्लंघन गर्दै आएकोले बेइजिङ ओलम्पिक्सको बहिष्कार गर्न विश्वका विभिन्न मुलुकलाई आह्वानसमेत गरेका छन्। 

प्रदर्शनकारीहरुले प्रदर्शनको क्रममा हातमा ब्यानर र पम्प्लेट बोकेका थिए। उइघुरहरुले आफूले तिब्बती नागरिकसँगको सहकार्यमा सो विरोध कार्यक्रम आयोजना गरेको बताएका छन्। मानव जिवनभन्दा बहुमूल्य खेलकुद पदक हुन नसक्ने प्रदर्शनकारीहरुको भनाइ छ। चीनले खेलकुदमार्फत् नरसंहार निम्त्याएको भन्दै त्यसविरुद्ध विश्व जागरुक हुनुपर्ने उनीहरुले बताएका छन्। शीतकालीन बेइजिङ ओलम्पिक्स आगामी फेब्रुअरी ४ देखि राजधानी बेइजिङमा आधिकारिकरुपमा सुरु हुँदैछ। 

सिरियाली जेल नजिकै भएको झडपमा मर्नेहरुको संख्या ३३२ पुग्यो 
हस्साकाहः सिरियाली कारागारनजिकै भएको झडपमा परी आइतबारसम्म मर्नेहरुको संख्या ३३२ पुगेको छ। कुर्दिस बल र दइश समूहका लडाकुबीच भएको दोहोरो भिडन्तमा परी मर्नेहरुको संख्या ३३२ पुगेको हो। 
उत्तर-पूर्वि सिरियाको हस्साकाह सहरस्थित गवारान कारागार नजिकै भएको दोहोरो झडपमा सो संख्यामा मानिसहरुको ज्यान गएको हो। सो क्षेत्रमा यही जनवरी २० देखि झडप सुरु भएको थियो।
सो झडप नियन्त्रणमा आएको बताइए पनि आइतबारसम्म सो झडप जारी रहेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.