लाइबेरियाका कारागारमा कैदीबन्दीको बिचल्ली
म्यानरोभिया : पश्चिम अफ्रिकी मुलुक लाइबेरियाका विभिन्न कारागारहरु गाँस, बास र कपास अभावमै सञ्चालन भइरहेका छन् । लाइबेरियाको विभिन्न १५ वटा कारागारहरु लामो समयदेखि गाँस, बास र कपासबिनै सञ्चालन भइरहेका हुन् ।
यसअघि यस महिनाको सुरुवातमा त्यहाँको केन्द्रीय कारागारमा खाना, पोशाक र बासको अभाव भएको समाचार बाहिरिएको थियो । सो समाचार बाहिरिएको २ हप्ता वितिसक्दा त्यहाँका अन्य १५ वटा कारागारहरुले समेत गास, बास र कपास अभावको सामना गरिरहेको बीबीसीले जनाएको छ ।
ति कारागारहरुमा खाना, लत्ताकपडा र कैदीलाई राख्ने ठाउँ नहुँदा अन्य अपराधीहरुलाई समेत कारागारमा भर्ना गराउन समस्या भएको बताइएको छ । ति कारागारहरुमा कैदीको भीडभाड र आर्थिक सहयोग उपलब्ध नहुँदा सो समस्या छाएको बताइएको छ ।
त्यहाँका कारागारमा रहेका कैदीले दिनमा एकछाक खाना, एउटै कोठामा क्षमताभन्दा बढी कैदी र लामो समयदेखि एक जोर मात्र कपडा लगाउने गरेको बीबीसीले उल्लेख गरेको छ ।