थासाङको नरसाङमा ‘नरिझेव’ देवीको ख्याति
जोमसोम : गुरु रिपोेर्छे अर्थात पद्यसम्भवको बहुस्वरुप ‘नरिझेव देवी’ मुस्ताङको थासाङ गाउँपालिका-२ खन्तीमा अवस्थित छ। त्यस स्थानलाई नरसाङ गुम्बा भनिन्छ। वर्षेनी बर्खायामको भाद्र महिनामा त्यहाँ नरिझेव देवीको पूजापाठ तथा स्तुती गर्ने गरिन्छ।
मुस्ताङवासीको धार्मिक आस्थाको धरोहर नरसाङ गुम्बामा नरिझेव देवीको साक्षात दर्शन गर्न श्रद्धालुहरु उपस्थित हुने गर्छन्। नरसाङ गुम्बा भित्र पद्यसम्भवको प्रतिमूर्ति नरिझेव देवीको विशाल मूर्ति छ। नरिझेव देवीको घाँटीमा तिलहरी, नौ गेडी, कन्ठी फ्रम, चन्द्रमा र सुनको क्लीप पहि¥याईएको छ। नरिझेव देवीको बौद्ध अनुसार लामाहरुले पूजा गर्छन्। नरिझेव देवीको दर्शन तथा पूजापाठ गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ। कुनै शुभकार्यको थालनी गर्दा होस वा कुनै मनले चाहेको भाकल गरेमा नरिझेव देवीले सिद्ध गरिदिने जनविश्वास छ। विशेष गरी थाकसात सय क्षेत्रका बासिन्दाले नरिझेवको पूजाआजा र दर्शन गर्ने गरिएको पाईन्छ। यहाँ जोमसोमदेखि ठिनी, स्याङ, मार्फा, छैरो, चिवाङका स्थानीय तथा छिमेकी जिल्ला डोल्पाबाटसमेत नरिझेवको पूजाआजा र दर्शन गर्न आउने गरेको पाईएको छ।
थासाङको खन्तीमाथि समून्द्रीसतहको २५ सय मिटर अग्लो स्थानमा अवस्थित गुम्बामा नरिझेव देवी बिराजमान छिन्। सदियौँदेखि यहाँ थाक सात सय क्षेत्रका स्थानीयले नरिझेव देवीको पूजाआजा गर्दै आईरहेको पाईएको छ। विशेष धार्मिक पर्वमा मात्र नरसाङ गुम्बा खुल्ला रहन्छ। अन्य समय खुल्ला हुँदैन। गुम्बा भित्र विराजमान नरिझेव देवीको मुन्टो बाङ्गो अवस्थामा देख्न सकिन्छ। पौराणिक धार्मिक किवदन्ती अनुसार नरिझेव देवी त्यहाँ विराजमान गर्ने क्रममा बाटोमा अशुभ भएकाले देवीको मुन्टो बाङ्गो भएको हो भन्ने भनाई छ। गुरु पद्यसम्भवसंग जोडिएका मुस्ताङमा दर्जनौ धार्मिकस्थल छन् जसमध्ये एक हो, थासाङको नरिझेव देवीको चाखलाग्दो कथा। नरिझेव देवी विराजमान गरिएको गुम्बा सरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकारले आर्थिक सहयोग गरेका छन्। गुम्बाको जिर्णोदार, स्तरोन्नति र गुम्बासम्मको दुरीमा रेलिङसहितको सिंढी बाटो समेत निर्माण भईसकेको छ।
आठौं शताब्दीताका तिब्बतमा ठिसोङ राजा थिए। तिब्बतमा बौद्ध धर्मको प्रचार-प्रसार र आस्था बढ्दै थियो। त्यस ताका तिब्बती राजा ठिसोङले बुद्ध धर्मको पुनउत्र्थान गर्न भारतबाट बौद्ध धर्म सम्बन्धीका बिद्धान झिकाएका थिए। तर तिब्बतमा बोन र धामी झाँक्री प्रभाव बढी थियो। त्यसबेला असामान्य परिस्थितीमा राजा ठिसोङले तिब्बतमा बौद्ध गुम्बा निर्माण गर्ने योजना बनाए। तर तिब्बती राजा ठिसोङले गुम्बा निर्माण गर्दैगर्दा विभिन्न बाधा व्यवधान उत्पन्न भयो।
त्यसबेला शुभकार्यमा असहज परिस्थिती सृजना गर्ने व्यक्तिलाई राक्षसको संज्ञा दिईन्थ्यो।
भारतबाट झिकाईएका बौद्ध अनुयायीहरुले अस्थिर परिस्थितीको सामाना गर्न पद्यसम्भवलाई तिब्बत बोलाउन सुझाव दिए। त्यसपछि राजा ठिसोङले गुरु पद्यसम्भवलाई तिब्बत झिकाए। गुम्बा निर्माणमा सहयोग पुर्याउन तथा शान्ति कायम गर्न तिब्बत पुगेका पद्यसम्भवले गुम्बा निर्माणमा भाँजो हाल्ने व्यक्ति (राक्षसहरुलाई) लखेट्दैँ मुस्ताङ तर्फ आए। त्यसबेला शुभकार्यमा असहज परिस्थिती सृजना गर्ने व्यक्तिलाई राक्षसको संज्ञा दिईन्थ्यो।
गुरु रिपोर्छे अर्थात पद्यसम्भवले राक्षसलाई लखेट्दैँ मुस्ताङ ल्याउने क्रममा थासाङ-२ को अग्लो स्थानको एक गुफामा ध्यान गरी बसे। पद्यसम्भव घ्यान गरी गुफामा बसेकाले यस गुफालाई गुरुसाङ्वो गुफा भन्ने गरिएको छ। गुरु साङ्वो गुफा भित्र पद्यसम्भव ध्यान गरिबसेकाले त्यहाँ पद्यसम्भवको अभिलेख विद्यमान छ। गुरुसाङ्वो गुफामा पद्यसम्भव ध्यान गरी बस्ने क्रममा अनेक-अनेक स्वरुपमा प्रकट हुने गरेको धार्मिक किंवदन्तीमा उल्लेख छ। गुरु पद्यसम्भव एकदिन सुनौलो मृगको रुपमा प्रकट भए। त्यसपछि सुनौलो मृग देखेपछि शिकारहरु उनको पिछा गर्न थाले। गुरुसाङ्वो गुफा नजिक मृगको रुपमा प्रकट भएका पद्यसम्भवलाई शिकारीले लखेटन थाले।
पहिलोदिन शिकारीहरुको प्रयास सफल हुन सकेन। दोश्रोदिन पनि शिकारीहरुले मृगलाई लखेट्दैँ थासाङ-२ को घट्टे खोला ओढार पु¥याए। पछिल्लो समय ओढार रहेको घट्टे खोलालाई बोक्सी खोला भन्ने गरिन्छ। पहाडमाथिको ओढारमा शिकारको घेराबन्दीमा परेको उक्त सुनौलो मृग देवीको रुपमा प्रकट भईन्। गुरु पद्यसम्भव देवीको स्वरुपमा प्रकट हुँदै शिकारीहरुलाई भनीन्, ‘मलाई तिमिहरुले नमार, म तिमीहरुको भलोको लागि यहाँ आएकी हु, बरु सक्छौ भने कालिगण्डकी नजिकको अग्लो स्थानमा चोखोपानी चढाएर पूर्वतर्फ फर्काएर राख।’ सुनौलो मृगको रुपमा प्रकट भएकी देवीको कुरा सुनेर उनलाई अग्लो स्थानमा विराजमान गराउन शिकारीहरु सहमत भए।
देवीकोरुपमा प्रकट भएकी पद्यसम्भवले मलाईं लैजादा कुनै अशुभ नहोस भनी शिकारीहरुलाई भनेका थिए। त्यसपछि शिकारीहरुले पद्यसम्भव दैवीकोस्वरुपलाई थासाङको खन्ती माथिको अग्लो स्थानतर्फ लगे। मृगको रुप धारण गरेकी देवी पद्यसम्भवलाई लैजाने क्रममा बाटोमा लार्जुङ पुग्दा एक विधवा महिलाले बाटो काटिदिएर शुभ-साईत बिगारिदिईन्। त्यो देखेर देवी रुपी पद्यसम्भवले थुक्क भनी आफ्नो मुन्टो दाँयातर्फ मर्काए।
यसका कारण देवी नरिझेव बोल्न नसक्ने भईन् भने उनको मुन्टो बाङ्गो हुन् पुगेको भन्ने धार्मिक किंवदन्ती छ। त्यसपछि शिकारीहरुले नरसाङमा लगेर देवीलाई विराजमान गराए। पद्यसम्भवको स्वरुप देवीलाई नरसाङमा बिराजमान गराईएकाले नरिझेव देवी भनिएको नरसाङ गुम्बा संरक्षण तथा व्सवस्थापन समितिका सचिव अशोक गौचनले उल्लेख गरे।
थाक सात सय क्षेत्रका थकालीहरुले नरिझेव देवीको श्रद्धाका साथ पूजापाठ र स्तुती गर्ने गरिएको समितिका सचिव गौचनले जानकारी दिए। सदिंयौकालदेखि वर्षेनी भाद्र मेलामा देवीको १३ जना कुमारहरुले पूजापाठ र स्तुती गर्ने गरिएको उनको भनाई छ। पछिल्लो थाक सात सय क्षेत्रमा बसाईसराई हुन थालेपछि कुमार केटाहरुको अभाव हुन थाल्यो। अहिले सीमित कुमारहरुको उपस्थितीमा नरिझेव देवीको पूजापाठ र स्तुती गर्ने गरिएको समितिका सचिव गौचनले बताए।
थासाङको टिटी, ताक्लुङ, कुञ्जो, लेते, छयो र घाँसालाई घ्यापर क्षेत्र अर्थात ढुटुव (६ हाते), ताङ्गीदेखि तल नाउरिकोट, नाकुम, भुर्जुङकोट र लार्जुङलाई प्रे ढुक (८ हाते), कोवाङ, खन्ती, सौरु, टकुचे र सिर्खमलाई शसी ढुप भनी तीन भागमा क्षेत्र विभाजन गरिएको थियो। यसरी विभाजित गरिएका गाउँ समूहका कुमारहरुले वर्षेनी आलोपालो नरिझेव देवीको पूजापाठ र स्तुती गर्ने परम्परा रहेको समितिका सचिव गौचनको भनाई छ। पछिल्लो समय गाउँ छुट्याएर पूजापाठ गर्ने प्रचलन हटेसकेको छ। अहिले थासाङ क्षेत्रका कुमारहरुको उपस्थितीमा भाद्र मेलामा नरिझेव देवीको पूजापाठ गर्ने गरिएको उनले उल्लेख गरे।
कमलको फूलबाट उदय भएका गुरु पद्यसम्भव शक्तिशादी थिए। पद्य सम्भव लोकको भलाई र शान्ति स्थापनाका लागि पैदा भएको भन्ने किंवदन्तीमा उल्लेख छ। तिब्बतमा राजा ठिसोङले गुम्बा निर्माणका लागि आमन्त्रण गरिएका गुरु पद्यसम्भवको मुस्ताङमा उल्लेख अभिलेख छ।
तिब्बतबाट राक्षसलाई लखेट्दै मुस्ताङ आउने क्रममा मुस्ताङको पान्डा खोलामा ध्यान गरिबसेको, लोघेकर दामोदरकुण्डको घ्याकरमा राक्षसको मुटु कलेजो र रगत निकालेर पहाडमा मिल्काएको र मराङमा राक्षसको अन्तिम समाधि गरेको भन्ने बौद्ध धर्म ग्रन्थमा उल्लेख छ।
घ्याकरमा राक्षसको मुटु, कलेजो र रगत मिल्काएकाले घ्याकरको पहाडै रातो भएको, पान्डा खोलामा पद्यसम्भवको पैतालाको डोब रहेको र मराङमा राक्षसको बध गरेकाले त्यहाँ पद्यसम्भवकै निर्दैशनमा गुम्बा निर्माण भएको भन्ने भनाई छ। लोघेकरको मराङमा लोघेकर गुम्बा विश्वकै पहिलो र पुरानो गुम्बा हो भन्ने दावी गरिएको छ। त्यसपछि तिब्बतमा गुम्बा निर्माण भएको जानकारहरु बताउँछन्।