वैधानिकताका लागि बौद्ध धर्ममा फर्कियो म्यानमार सेना, पादरीमाथि गोली हानी हत्या

वैधानिकताका लागि बौद्ध धर्ममा फर्कियो म्यानमार सेना, पादरीमाथि गोली हानी हत्या

बर्माः म्यानमार सेनाले वैधानिकताका लागि बौद्ध धर्ममा फर्किएको खुलेको छ। देशमा सैन्य कू लागू गरेको करिब १ वर्षपछि म्यानमार सेनाले वैधानिकताको लागि बौद्ध धर्ममा फर्किन लागेको खुलेको हो।

स्थानीय मिडियाका अनुसार म्यानमार सेना प्रमुख मिन आउङ लेइनले संसारकै विशाल बुद्धको विराजमान मूर्ति निर्माण गर्ने योजना बनाइरहेका छन्। बुद्ध धर्मको संरक्षकको रुपमा आफूलाई चिनाउन र वैधानिकताका लागि सेना प्रमुखले बौद्ध धर्मलाई प्राथमिकतामा राखेको स्थानीय मिडियालाई उद्धृत गर्दै सोमबार अलजजिराले खबर छापेको छ।

विगतमा म्यानमारमा करिब ९० प्रतिशत बौद्ध धर्मावलम्बीहरु करिब ६० वर्षसम्म सेनाको नियन्त्रणमा रहेकाले सेना प्रमुख लेइङले पनि वैधानिकताका लागि आफूले सो तरिका अपनाएको विश्लेषकहरुले बताएका छन्। माथिल्लो वर्गका भिक्षुहरुसँग गठबन्धन बनाई बौद्ध धर्मको प्रयोग गरी शासन र सत्ता आफ्ना पकडमा लिन उपयोगी हुने ठानेर म्यानमार सेनाले सो बाटो अपनाएको विश्लेषकहरुको भनाइ छ।

तर गएको वर्ष म्यानमार सेना प्रमुखको नेतृत्वमा करिब १५ सय म्यानमार नागरिकको हत्या भएको छ भने बौद्ध धर्मविरोधी कदमहरु सेनाले चालेको समाचार बाहिरिएका थिए। त्यसैले अत्याचार र अराजक बनेको म्यानमार सेनाले बौद्ध धर्मको गलत प्रयोग गरिरहेको र त्यहाँको सेना ढोंगी भएको म्यानमारका केहि भिक्षुहरुले बताउँदै आएका छन्। बौद्ध धर्मको सिद्धान्त विपरित कदम चालिरहेको म्यानमार सेनाले बौद्ध धर्ममा फर्किएको नाटक गर्नु अनुचित भएको त्यहाँका अधिकारीहरुले आलोचना गरेका छन्।

आइएस सदस्य नै नक्कली राहदानीमार्फत युरोप र अमेरिका प्रवेश गरेको खुलासा

इस्तानबुलः आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)का सदस्यले नक्कली राहदानीमार्फत् युरोपेली र अमेरिकी मुलुक प्रवेश पाउने गरेको खुलासा भएको छ। गार्जियनको नयाँ अनुसन्धानले हालै सो खुलासा गरेको हो।

आइएससँग जोडिएका सदस्यले आधिकारीक भिजा र यात्रा छापसहित बेलायत, युरोपेली संघ, क्यानडा र अमेरिकालगात मुलुक सहजै प्रवेश पाउने गरेको सोमबार सार्वजनिक अनुसन्धानले फेला पारेको हो। आइएसका सदस्यले सिरिया, टर्की, अफगानिस्तानलगायत मुलुकबाट नक्कली राहदानी र अन्य कागजातको आधारमा सहजै पश्चिमा मुलुक प्रवेश गर्ने गरेको बताइएको छ।

टर्की, सिरिया र उज्वेकिस्तानमा रहेका विभिन्न राहदानी व्यापार सञ्जालहरुले विभिन्न मुलुकको नक्कली राहदानी उपलब्ध गराइदिने गरेको बताइएको छ। ती सञ्जालहरुले नक्कली राहदानी बनाइदिएबापत करिब १५ हजार अमेरिकी डलर असुल्ने गरेको तथ्य समेत सो अनुसन्धानले पुष्टि गरेको छ।

तालिवानले सयभन्दा बढर्व अफगान र अन्तर्राष्ट्रिय सेना मारेको दाबी

न्युयोर्कः अफगानिस्तानमा एक सयभन्दा बढी भूतपूर्व अफगान सरकारका अधिकारीहरु मारिएको दाबी गरिएको छ। संयुक्त राष्ट्र संघ (युएन)ले अफगानिस्तानमा तालिवान शासन सुरु भएपछि त्यहाँ पूर्व अफगान सरकारका सेना र अन्तर्राष्ट्रिय सेना मारिएको दाबी गरेको हो।

तालिवानले गएको अगष्ट १५ मा अफगानिस्तान कब्जा गरेको थियो। अफगानिस्तान कब्जापछि तालिवानले त्यहाँको सत्ता चलाउँदै आएको छ। तालिवानले सत्ता चलाउन थालेपछि हालसम्म पूर्व अफगान सरकारका करिब १ सय सेना र अन्य अधिकारीहरुको हत्या गरेको युएनले जनाएको छ।

युएनका महासचिव एन्टोनियो गुटेरेसले आइतबार रिपोर्ट सार्वजनिक गर्दै तालिवानले दुई तिहाइभन्दा बढी पूर्व अफगान सरकारका सेना र अन्य कर्मचारीको हत्या गरेको बताएका छन्।

पोर्चुगलमा भारी मतका साथ समाजवादी पार्टी विजयी

लिस्वोनः पोर्चुगलको साधारण सभाको चुनावमा समाजवादी पार्टीले भारी मतका साथ जीत हासिल गरेको छ। आइतबार भएको साधारण सभाको चुनावमा त्यहाँको सत्ताधारी समाजवादी पार्टीले भारी मतका साथ जीत हासिल गरेको हो।

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कास्टाले बजेट पारित गराउन नसक्दा साधारण सभाको चुनाव आयोजना गरिएको थियो। संसदको करिब २३० मध्ये समाजवादी पार्टीले करिब ११७ सिट जितेको छ भने मुख्य विपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले ७१ सिटमात्र जितेको छ। सो चुनावमा समाजवादी पार्टीको तर्फबाट उठेका प्रधानमन्त्री एन्टोनियो कोस्टाले जीत हासिल गरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

आर्थिक सुधारका लागि देशमा स्थायित्व जरुरी भएको प्रधानमन्त्री कोस्टाले बताएका छन्। जीतपछि कोस्टाले आफूले देशबासीको लागि भलाइको काम गर्ने प्रतिज्ञा गरेका छन्।

अमेरिकी राष्ट्रपति र कतारका शासकबीच भेट हुदै

वासिङ्टनः अमेरिकी राष्ट्रपति जो बाइडेन र कतारका शासक शेइख तमिम विन हमाद अल थानीबीच भेटवार्ता हुने भएको छ। दुई देश प्रमुखबीच सोमबार (अमेरिकी समयअनुसार) अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा प्रत्यक्ष भेटवार्ता हुने भएको हो।

युरोपमा ऊर्जा संकट बढिरहेको बेला दुई देश प्रमुखले उर्जा सुरक्षा सम्बन्धमा छलफल गर्ने अमेरिकी अधिकारीहरुले बताएका छन्। कतार संसारकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास र तेल वितरक मुलुक हो। कतारले सबैभन्दा बढी प्राकृतिक तेल र ग्यास युरोप र अमेरिकामा गर्दै आएको छ। युक्रेन र रुसबीच तनाव बढिरहँदा र युरोपमा ऊर्जा संकट छाइरहँदा बाइडेन र कतारका शासकबीच आयोजित भेटवार्तालाई चासोको रुपमा हेरिएको बताइएको छ।

ब्राजिलमा बाढ र पहिरोमा पर १९ को मृत्यु

ब्राजिलियाः ब्राजिलमा बाढी र पहिरोमा परी कम्तीमा १९ मानिसको मृत्यु भएको छ। भारी वर्षासँगै आएको बाढी र पहिरोमा परी ब्राजिलको एम्बु डास आर्टिज र फ्रान्सिस्को मोरातो क्षेत्रमा कम्तीमा १९ मानिसको मृत्यु भएको हो।

त्यहाँको स्थानीय सरकारले सोमबार बताएअनुसार बाढी र पहिरोका कारण अन्य ५ लाख मानिस अस्थायीरुपमा विस्थापित भएका छन्। बाढी र पहिरो पश्चात त्यहाँका मानिसको उद्धार गरिएको स्थानीय मिडियामा खबर छ। आइतबारको बाढी र पहिरोका कारण करिब २.८ मिलियन डलर बराबरको क्षति भएको बताइएको छ।

युगान्डा र रुवान्डा सीमा तीन वर्षपछि पुनःसञ्चालन

काम्पालाः युगान्डा र रुवान्डाको सीमा तीन वर्षपछि खुलेका छन्। दुई देशले तीन वर्षपछि सोमबारदेखि एक अर्काका लागि सीमा खुला गरेका हुन्।

पूर्वी अफ्रिकी मुलुक युगान्डा र रुवान्डाले सन् २०१९ मा आन्तरिक तनावका कारण सीमा बन्द गरेका थिए। करिब ३ वर्षदेखि बन्द रहेका सीमा दुवैतर्फबाट खुलेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

रुवान्डाका राष्ट्रपति पाउल कागामे र युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीका छोरा एवम् लेफ्टिनेन्ट जनरल मुहुजी कैइनरुगावाबीच गत हप्ता भेटवार्ता भएको थियो। सो भेटवार्तापछि दुवै मुलुकले सीमा खुला गर्ने घोषणा गरेका थिए।

रुवान्डाले आफ्ना नागरिकलाई हिरासतमा राख्ने गरेको र विभिन्न यातना दिने गरेको आरोप युगान्डामाथि लगाएको थियो भने युगान्डाले रुवान्डामाथि आफ्ना सेनाका गुप्तचरमाथि घुसपैठ गरेको आरोप लगाएको थियो। सोही आरोपमा तनाव बढ्दा दुवै देशले दुई देशबीचको सीमा बन्द गरेका थिए।

पाकिस्तानमा पादरीमाथि गोली हानी हत्या

पेशावरः पाकिस्तानमा चर्चमा प्राथना गरेर फर्किरहेका पादरी (ईसाई धर्मगुरु)माथि गोली हानि हत्या गरिएको छ। पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरमा आइतबार प्रार्थना गरेर फर्किरहेका पादरीमाथि गोली हानी हत्या गरिएको हो।

सो घटना पेशावरस्थित गुलबहारमा भएको हो। बन्दुकधारीहरुले पादरी विलियम सिरजको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। बन्दुकधारीको गोली लागि अन्य क्रिस्चियन धर्मावलम्बीहरु घाइते भएको बताइएको छ। सो घटनापश्चात स्थानीय प्रहरीले सूचनाको आधारमा छानविन सुरु गरेको थियो। यद्यपि, हमलाकारहरुबारे हालसम्म कुनै जानकारी नमिलेको प्रहरीले जनाएको छ। घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले नलिएको बताइएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सो घटनाको निन्दा गरेका छन्। सन् २०१७ को जनगणनाअनुसार ईसाई पाकिस्तानको सबैभन्दा दोस्रो ठूलो धार्मिक अल्पसंख्यक समुदाय हो। यसअघि सन् २०१३ मा पेशावरमा आइतबारको प्राथना सभाको क्रममा भएको आत्मघाति हमलामा परी ७८ मानिसले ज्यान गुमाएका थिए।

जर्मनीमा ट्राफिक जाँचमा खटिएका दुई प्रहरीको गोली हानी हत्या

बर्लिनः पश्चिम जर्मनीमा गस्तीमा खटिएका दुई प्रहरीमाथि गोली हानी हत्या भएको छ। ट्राफिक जाँचको लागि गस्तीमा खटिएका दुई प्रहरी अधिकारीको स्थानीय समयअनुसार सोमबार बिहानै गोली हानी हत्या भएको हो।

पश्चिम जर्मनीको कुसेल क्षेत्रमा ट्राफिक जाँचमा खटिएका प्रहरीमाथि बिहान ४ बजेर २० मिनेटमा जाँदा कारमा सवार व्यक्तिले गोली प्रहार गरेको त्यहाँको प्रहरीले जनाएको छ। गोली हानेलगत्तै ती व्यक्ति फरार भएको र उनीहरुको खोजी भइरहेको समेत प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान अघि बढेको छ भने प्रहरीले कुसेल क्षेत्रका सवारी चालक र अन्य यात्रुहरुलाई जहाँको त्यहि खडा हुन निर्देशन दिएको गार्जियनमा खबर छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.