नदीले दसगजामा कटान

नदीले दसगजामा कटान

गुलरिया : गुलरिया नगरपालिका–१० निवासी श्रीनिवास बर्मा नदीले खेतीयोग्य जमिन कटान गरेपछि दुःखी छन्। नदी कटानले एकातिर कृषिको उर्वरभूमि मानिने बर्दियाको हजारौं बिघा कृषि योग्य जमिनमा क्षति पुर्‍याएको छ। अर्कोतिर बबई नदीले नेपाल–भारत सीमावर्ती दशगजा क्षेत्रमा कटान तीव्र पारेपछि दुईदेशीय सीमा मिचिने सम्भावना पनि बढेर गएको छ। 

नदी कटानले गर्दा नेपालको धेरै कृषियोग्य जमिनमा क्षति पुगेको छ। बर्माले भने, ‘नेपाल भारत सीमावर्ती दशगजा क्षेत्रमा नदी कटान भएपछि नेपालतर्फको जमिन भारतमा पुगेको छ।’ वडा–१० अन्तर्गत गौढी, जयरामपुर, हंगीपुरलगायतका कृषियोग्य क्षेत्रहरू नदी कटानको जोखिममा छन्। समयमै नदी नियन्त्रणको थप दीर्घकालीन योजना नबने अझै क्षति बढ्छ। समस्याको बेवास्ता गरिए केही वर्षभित्र जोखिममा परेका गाउँका सयौं स्थानीयहरू विस्थापित हुने उनको भनाइ छ। 

दुईदेशीय सीमा क्षेत्रमा कटानको समस्या देखिएपछि कटान समस्या दिगो समाधान गर्न दुबै देशको सहकार्य जरुरी देखिएको पूर्वसिँचाइमन्त्री एवं संघीय सांसद संजयकुमार गौतमले बताए। नेपाल–भारतको अन्तरसम्बन्ध स्थापित गर्दै समस्या समाधानका लागि दुबै देश तयार हुनुपर्नेमा जोड दिँदै गौतमले बबई भादा औरही नदी नियन्त्रण आयोजनाअन्तर्गत नेपालतर्फ तटबन्ध गर्ने काम सकिएको बताए। 

भारततर्फको भूमिमा तटबन्ध नगरिँदा दुवै देशलाई समस्या देखिएको छ। भारत सरकारले आफ्नो क्षेत्रमा तटबन्ध नगरे बबई नदी नियन्त्रण आयोजनाको भविष्य चौपट हुने आँकलन छ। ‘भारतीय राजदूतलगायत दुवै देशका सीमाविद्हरूलाई नदी कटान क्षेत्रको अवलोकन गराउन आवश्यक छ।  यसको नेतृत्व म गर्छु,’ उनले भने। बबई नदीले गुलरिया नगरपालिकाको सीमावर्ती दक्षिण पूर्वी क्षेत्रमा कटान गरेपछि बबई नदी नियन्त्रण आयोजनालाई पनि समस्यामा पर्छ। 

सीमा क्षेत्रसम्म २ किलोमिटर क्षेत्रमा तीव्र कटानी भएको बबई भादा औरही नदी नियन्त्रण आयोजनाका प्रमुख अनुभव चौधरीले बताए। ‘हामीले कटान क्षेत्रको अध्ययन गरिसकेका छौं। आयोजनाले अनुमानित ४० करोडको बजेट स्टिमेट गर्दै यसै वर्ष नदी नियन्त्रणको योजना स्वीकृत गराउने तयारी हाम्रो छ,’ उनले भने। बर्दियामा लामो समयदेखि बबई नदी समस्याका रूपमा देखिएको छ। बाढीका कारण यहाँको थुप्रै खेतीयोग्य जमिनमा क्षति पुर्‍याउने गरेको उनको भनाइ छ। 

बाढीपछि कटानको समस्या उस्तै छ। नदी कटानले आफ्ना जमिन आँखै अगाडि बगाएको देख्नुपर्दा स्थानीयहरू दुःखी छन्। राज्यलाई ठूलो घाटा व्यहोर्नु परेको छ। गुलरिया नगरक्षेत्रको कटान रोक्दै दीर्घकालीन समाधानको उपाय खोजिनुपर्ने निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेलले बताए। समयमै पर्याप्त बजेट विनियोजन गर्दै आयोजना निर्माणका सामाजिक कठिनाइहरू सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। 

बर्दिया बाढी प्रभावित जिल्ला हो। पूर्वमा बबई र पश्चिममा कर्णाली नदीको बीचमा अवस्थित बर्दियामा हिउँद र वर्षा दुवै समयमा कटानको समस्या रहँदै आएको छ। ‘यहाँका ठूला नदीहरू दीर्घकालीन रूपमा नियन्त्रित गर्दै स्थानीयको जिउधनको सुरक्षा गर्नु जरुरी छ,’ उनले सुझाए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.