महँगोमा धान किन्दै सरकार

महँगोमा धान किन्दै सरकार

जनकपुरधाम : अधिकांश किसानले व्यापारीलाई सस्तोमा धान बिक्री गरिसकेपछि बल्ल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान किन्न थालेको छ। खाद्यले मधेश प्रदेशको जनकपुर, लहान र वीरगन्जबाट पुस २८ देखि धान खरिद गरिरहेको छ। सरकारले सोना मन्सुली धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको छ। तर, स्थानीय किसानले व्यापारीलाई प्रतिक्विन्टल १ हजार ५ सयदेखि १८ सयसम्ममा बिक्री गरेका थिए।

सरकारले समयमै जानकारी नदिँदा व्यापारीलाई सस्तोमा धान बेच्नुपरेको महोत्तरी लोहारपट्टि–६ कविलासाका किसान पुरन साहले बताए। ‘धान काटेको केही महिनामै गाउँको गल्लामा १५ सयभन्दा बढी कुनै व्यापारीले दिन मानेनन्। सरकारले क्विन्टलको २९ सय २ तोकेर मात्र के गर्नु ? किसानले पाउने हैन,’साहले भने, ‘धानको मूल्य त व्यापारीको लागि तोकेको हो। किसानले भएभरको सबै धान बेचिसकेको छ। अब व्यापारीसँग भएको धान सरकारले किन्दै छ। किसानलाई के फइदा। किसानभन्दा व्यापारी मालामाल भइरहेका छन्।’ 

कात्तिकमा बाढीले धान नष्ट गर्दा उत्पादन आधा घटेको र त्यसमा पनि उचित मूल्य नपाएको उनले गुनासो गरे। धान भण्डारणको समस्या तथा धान बिक्री गरेर बिउ, मल किन्नुपर्ने बाध्यताले अधिकांश किसानले चाँडै व्यापारीलाई बिक्री गर्ने गर्छन्। तर, सरकारले अन्तिममा धान खरिद गर्छ। धनुषा लक्ष्मीनियाका सखी चन्दन यादवले भने, ‘हामी किसानले सस्तोमा व्यापारीलाई धान बिक्री गरिसक्यौं। अब हाम्रो धान व्यापारीले किनेर अहिले किसान बनेर सरकारलाई महँगोमा बेच्दैछ।’

धान बेचेर गहुँको बिउ, रासायनिक मल किन्नुपर्ने भएकाले सस्तोमा बिक्री गर्न बाध्य भएको महोत्तरी गौशाला नगरपालिकाका किसान राजकिशोर महतोको भनाइ छ। गहुँबाली लगाउने बेलामा मल, बिउ किन्न व्यापारीलाई नै सस्तोमा धान बेचेको उनको भनाइ छ। अन्य बाली लगाउन पैसा चाहिन्छ तर किसानको हातमा पैसा नभएपछि उब्जाएको धान बजारमा लगेर व्यापारीलाई बिक्री गर्न बाध्य भएको किसान रामबाबु यादवले गुनासो गरे। उनले भने, ‘सरकारले तोकेको मूल्य धेरै किसानलाई थाह नै छैन। थाहा भएकाहरूको पनि गहुँ लगाउने बेलामा गहुँबाली लगाउन चाहिने मलखाद, बिउ, विषादी सबै किन्नुपर्छ। धान लगेर व्यापारीलाई दिने र त्यहीबाट गहुँबालीका लागि आवश्यक बिउ, मलखाद र विषादी किनेर ल्याउने गरेका छन्।’ 
शहिदनगर नगरपालिकाका ननुपट्टीका किसान विन्देश्वर पण्डितले बजार लगेर प्रतिक्विन्टल १६ सयका दरले बिक्री गरेको बताउँछन्। पण्डितले भने, ‘घरायसी समस्या टार्न सस्तोमै धान बेचियो। धान असोजमै पाक्यो। उतिबेलै धान भित्र्याएँ। समस्या भएपछि सस्तोमै बिक्री गरिदिएँ।’

किसानले व्यापारीलाई  १ हजार ५ सयदेखि १८ सय प्रतिक्विन्टल सम्ममा बिक्री गरेको धानको मूल्य सरकारले २ हजार ९ सय २ रुपैयाँ तोकेको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय जनकपुरधामले किसानबाट १५ सय मेट्रिक टन धान किन्ने लक्ष्य राखेको छ। निमित्त कार्यालय प्रमुख उपेन्द्र लिम्बूले धान खरिदका लागि माथिको निर्देशनअनुसारले खरिद गर्ने भएकोले ढिलो–चाँडोमा केही गर्न नसक्ने बताए। उनले भने, ‘धान खरिदमा केही ढिलाइ भएको हो तर हामीले यहाँबाट केही गर्न सक्दैनौं। नेपाल सरकारको मन्त्रिपरिषद्ले धानको मूल्य निर्धारण गरेपछि मन्त्रालय हुँदै विभाग भएर हामीकहाँ आइपुग्छ। अनि ढिलो भइसकेको हुन्छ।’ 

मधेसमा घट्यो धान उत्पादन
मधेस प्रदेशको जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ। गत कात्तिकमा भएको बेमौसमी वर्षाले प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो। धानखेतीको समयमा वर्षा भएको र ग्वारो किराको प्रकोपसमेत कम भएकाले यस वर्ष धान उत्पादन दर बढ्ने अनुमान गरिए पनि धान भिœयाउने बेला भएको बेमौसमी वर्षाले क्षति पुर्‍याउँदा धान उत्पादनमा कमी आएको हो। 

प्रदेशमा चालू आर्थिक वर्षमा कुल ३ लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.५१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८ सय ६ मेट्रिक टन धान उत्पादन भएको छ। आव २०७७/७८ मा ३ लाख ४५ हजार ६०३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.६५ मेट्रिक टनका दरले १२ लाख ६२ हजार २०० मेट्रिक टन धान उत्पादन भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.