स्विडेनमा चुरोटको ठुटा टिप्न कागको प्रयोग, अमेरिकामा विश्वकै लामो चट्याङ

स्विडेनमा चुरोटको ठुटा टिप्न कागको प्रयोग, अमेरिकामा विश्वकै लामो चट्याङ

स्टकहोमः चुरोटका ठुटा टिप्न स्विडेनका विभिन्न कम्पनीहरुले कागको प्रयोग गरेका छन्। स्विडेनको सहरका विभिन्न गल्ली र सार्वजनिक स्थलहरुमा फालिएका चुरोटका ठुटा टिप्न त्यहाँका कम्पनीहरुले कागको प्रयोग गरेका हुन्। 

चुरोट तानेर जथाभाबी फ्याँकीएका चुरोटका ठुटा टिप्न त्यहाँका केही कम्पनीहरुले कागलाई तालिम दिएका थिए। सहरका विभिन्न गल्ली, चोक र अन्य सार्वजनिक स्थलमा फ्याँकिएका चुरोटका ठुटा टिप्न र सहरलाई सफा सुग्घर राख्न तालिम प्राप्त कागहरु ख्टाइएको कर्भिड क्लिनिङ कम्पनीले जनाएको छ।

‘जंगली पन्छी कागलाई भोलुन्टरको रुपमा काममा लगाइएको छ,’ कर्भिड क्लिनिङका संस्थापक गुन्थर ह्यानसेनले गार्जियनसँग भनेका छन्, ‘ती कागहरुलाई हामीले चुरोटका ठुटा टिप्ने तालिम दिएका थियौं।’

दि किप स्विडेन टाइडि फाउन्डेसनका अनुसार स्विडेनको विभिन्न गल्लीहरुमा वर्षमा १ अर्बभन्दा बढी चुरोटका ठुटा भेटिने गर्छन्। त्यहाँका विभिन्न संघसंस्थाहरुले सहरका गल्ली र अन्य सार्वजनिकस्थल सफा गर्न वर्षेनि १.६ मिलियन पाउन्ड खर्च गर्ने गर्छन्।

विश्वकै लामो चट्याङ रेकर्ड

न्युयोर्कः वैज्ञानिकहरुले विश्वमा हालसम्मकै लामो चट्याङ परेको पुष्टि गरेका छन्। करिब ५ सय माइल (७६८ किलोमिटर) लामो चट्याङ परेको वैज्ञानिकहरुले पुष्टि गरेका हुन्। अमेरिकाका तीनवटा राज्यको आकाशमा एकैपटक विजुली चम्केको देखा परेको थियो। आकाशमै चम्केको सो विजुली पृथ्वीको इतिहासमा हालसम्म रेकर्ड भएको भन्दा लामो भएको वैज्ञानिकहरुले बताएका छन्।

वैज्ञानिहरुका अनुसार अमेरिकी राज्य मीसीसीपी, लुइजिनिया र टेक्सासमा सो विजुली चम्किएपश्चात् विद्युतीय लहर आकाशबाट जमिनमा खसेको थियो। यसअघि सन् २०१८ मा ब्राजिलको आकाशमा करिब ४४०.६ माइल (७०९ किलोमिटर) लामो विजुली चम्केको थियो। सो विजुलीलाई हालसम्मकै लामो चट्याङ मानिएको थियो। सामान्यतया चट्याङ पर्ने क्रममा करिब १० माइलसम्म विजुली चम्किने गर्छ भने सो विजुली क्षणभरमै विलिन हुन्छ।

यसअघि सन् २०२० मा अर्जेन्टिना र उरुग्वेमा १६ देखि १७ सेकेन्डसम्म विजुली चम्किएको देखा परेको वैज्ञानिकहरुले बताएका छन्। विषम मौसमका कारण चट्याङले पनि खतरनाक रुपमा आफ्नो स्वरुप परिवर्तन गर्दै गएको वल्र्ड मेटेरोलोजिकल अर्गनाइजेसनका वैज्ञानिकहरुले बताएका छन्।

अमेरिकाले रुसलाई युद्धमा तान्न खोजेको पुटिनको आरोप

मस्कोः रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनले अमेरिकाले रुसलाई जबरजस्ती युद्धमा तान्न खोजेको आरोप लगाएका छन्। युक्रेनका कारण अमेरिकाले जबरजस्ती आफ्नो देशलाई युद्धमा तान्न खोजेको आरोप पुटिनले लगाएका हुन्।

युक्रेनमा तनाव बढिरहेका बेला पुटिनले सार्वजनिकरुपमा सो धारणा व्यक्त गरेका हुन्। ‘अमेरिकाले विभिन्न बहानामा रुसमाथि प्रतिबन्ध लगाउने बाटो खोजिरहेको छ। पछिल्लो समय युक्रेनको विषयलाई लिएर अमेरिकाले रुसलाई जबरजस्ती युद्धमा होमिन बाध्य बनाइरहेको छ,’ पुटिनले भनेका छन्।  अमेरिकाले युरोपमा नाटो गठबन्धनका सेनाबारे रुसको चिन्तालाई बेवास्ता गरेको समेत पुटिनको भनाइ छ।

रुसले युक्रेनको सीमा नजिकै आफ्नो क्षेत्रमा लाखौ सेना तैनाथ गरेपछि सो क्षेत्रमा तनाव बढेको छ। रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना बुनेको अमेरिकाले बताउँदै आएको छ।

भारतीय स्वास्थ्यकर्मीमाथि खोप प्रमाणपत्र ठगीको आरोप

नयाँ दिल्लीः फ्रन्टलाइनमा खटिएका भारतीय स्वास्थ्यकर्मीमाथि कोभिड-१९ को खोप प्रमाणपत्र ठगीको आरोप लागेको छ। कोभिड-१९ विरुद्ध दोस्रो खोप नलगाएका मानिसले पूर्ण मात्राको खोप लगाएको भन्दै भारतका स्वास्थ्यकर्मीमाथि खोप कार्ड बनाएको आरोप लागेको हो।

कोभिड-१९ विरुद्ध भारतले सुरु गरेको खोप कार्यक्रम अभियानले सो जानकारी दिएको हो। खोप कार्यक्रम अभियानमा खटिएका स्वास्थ्यकर्मी आफैँ ठगीमा लागेको बताइएको छ। सरकारको लक्ष्य पूरा गर्न ती स्वास्थ्यकर्मीले सो ठगी गरेको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन्।

भारत सरकारले आफ्ना सबै नागरिकलाई कोभिडविरुद्ध बुस्टर र पूर्ण मात्राको खोप लगाउने लक्ष्य राखेको थियो। पछिल्लो समय ओमिक्रोन संक्रमण तीव्र बनेको भन्दै सरकारले सार्वजनिक स्थल एवं अन्य महत्वपूर्ण कार्यहरुमा खोप कार्ड अनिवार्य गराएको थियो।

ज्वालामुखी प्रभावित टोङ्गामा लकडाउन

नुकुअलोफाः शक्तिशाली ज्वालामुखी प्रभावित टोङ्गामा लकडाउन हुने भएको छ। ज्वालामुखी पीडितहरुका लागि सहायता सामग्री पुर्‍याउन टोङ्गा पुगेका व्यक्तिहरुमा कोभिड-१९ संक्रमण पुष्टि भएपछि त्यहाँ देशव्यापी लकडाउन लागू हुने भएको हो।

टोङ्गाका प्रधानमन्त्री सियाओसी सोभालेनीले बताएअनुसार ज्वालामुखी पीडितका लागि सहायता सामग्री पुर्‍याउन गएका पाँच जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। देशमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएसँगै आफूले लकडाउनको निर्णय गरेको त्यहाँका प्रधानमन्त्रीले बताएका छन्।

दक्षिण प्रशान्त क्षेत्रमा पर्ने राष्ट्र टोङ्गाले यसअघि कोभिड फ्री मुलुकको रुपमा चिनाएको थियो। यसअघि टोङ्गाले सन् २०२० को सुरुवातमै आफ्ना अन्‍तर्राष्ट्रिय सीमा नाका बन्द गराएको थियो।

केही हप्ताअघि समुद्रमुनीबाट विस्फोट भएको ज्वालामुखीबाट निस्केको खरानी र सुनामीका कारण टोङ्गामा तीन मानिसको निधन भएको थियो। त्यहाँका ८५ मानिस प्रभावित बनेका थिए भने देशभर रहेका अन्य पूर्वाधार र घरहरुमा क्षति पुगेको थियो। अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, चीन, फ्रान्स, फिजी र बेलायतले टोङ्गामा सहायता सामग्री पठाएको छ।

गरिब मुलुक लाइबेरियाले जलायो ४ मिलियन डलरको पुराना नोट

मोन्रोभियाः गरिब मुलुकको सूचीमा परेको पश्चिम अफ्रिकी मुलुक लाइबेरियाको केन्द्रीय बैंकले पुराना र विकृत बैंक नोटहरु जलाएर नष्ट गरेको छ। लाइबेरियाको केन्द्रीय बैंकले करिब ४ मिलियन डलर रकम बराबरको पुराना नोटहरु जलाएर नष्ट गरेको हो।

नयाँ नोट छपाउन पुराना र विकृत बैंक नोट जलाएको त्यहाँको सरकारले जनाएको छ। लाइबेरियाले सन् २०१८ मा १ सय मिलियन डलर बराबरको नयाँ नोट छपाएको र सो रकमको हिसाब गायब भएको आरोप लाग्दै आएको थियो।

सोही कारण पनि त्यहाँको केन्द्रीय बैंकले सो मात्रामा ती नोट जलाएर नष्ट गरेको हुनसक्ने बीबीसीले जनाएको छ।

कंगोमा सन्दिग्ध आक्रमणमा परी ६० को मृत्यु

बेनीः मध्य अफ्रिकी मुलुक कंगोमा सन्दिग्ध आक्रमणमा परी कम्तीमा ६० मानिसको मृत्यु भएको छ। विद्रोही समूहद्वारा बुधबार बिहान गरिएको सन्दिग्ध आक्रमणमा परी कम्तीमा ६० मानिसको मृत्यु भएको हो।

स्थानीय अधिकारीहरुका अनुसार कंगोको विद्रोही समूहले कंगोको आइटुरी प्रान्तमास्थित एक क्याम्पमा आक्रमण गरेको थियो। आन्तरिकरुपमा विस्थापित मानिसको लागि बनेको क्याम्पमा गरिएको आक्रमणमा परी कम्तीमा ६० मानिसको मृत्यु भएको हो। सो आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले नलिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

पाँच महिनापछि देखा परिन् किम पत्नी

प्योङयाङः उत्तर कोरियाली शासक किम जोङ उनकी पत्नी पाँच महिनापछि पहिलो पटक देखा परेकी छन्। किम पत्नी रि सोल जु बुधबार पाँच महिनापछि पहिलोपटक सार्बजनिक रुपमा देखा परेकी हुन्।

उत्तर कोरियाको राजधानी प्योङयाङमा लुनार नयाँ वर्षको अवसरमा आयोजित कला प्रदर्शनी कार्यक्रममा सहभागी हुन किम र उनकी पत्नी जु एकसाथ बाहिर निस्केको त्यहाँको सरकारी मिडियाले जनाएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार किम पत्नी रि अन्तिम पटक गएको सेप्टेम्बर ९ मा सार्वजनिक रुपमा देखा परेकी थिइन्। सो समयमा उनी आफ्नी पतिसँग उत्तर कोरिया स्थापना भएको वार्षिकोत्सवको अवसरमा कुमसुसन दरबार घुम्न निस्केकी थिइन्।

संयोजान: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.