सन्धिखर्कमा चिस्यान केन्द्र
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कमा अत्याधुनिक चिस्यान केन्द्र (कोल्ड स्टोर) बन्ने भएको छ। कृषकले उत्पादन गरेको फलफुल तथा तरकारी सुरक्षित भण्डारण गर्न सन्धिखर्क नगरपालिकाले वडा नं १ को हटारीमा कोल्ड स्टोर बनाइने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।
पहिलो तलामा २ च्याम्बर कोल्ड स्टोर, दोस्रो तलामा १७ वटा सटर र तेस्रो तलामा कार्यालय तथा नास्ता पसलसहितको चिस्यान केन्द्र हुनेछन्। जसको लागत ७ करोड ७९ लाख ४७ हजार २ सय ७ रुपैयाँ छ।
चिस्यान केन्द्र नहुँदा किसान कृषि उपज सस्तो मुल्यमा बेच्न बाध्य छन्। केही तरकारी तथा फलफुल कुहिएर जाने गरेको छ। ‘त्यसलाई कोल्ड स्टोरमा राखेर अफ सिजनमा बिक्री गरेर किसानले राम्रो आम्दानी गर्न सकुन्।
बारीमै कुहाउन नपरोस् भनेर निर्माण थालेका हौं,’ मेयर कमलप्रसाद भुसालले भने, ‘१ सय ५० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण भएपछि कृषकलाई सहज भ्य युवाहरूसमेत स्वरोजगार मार्फत आत्म निर्भर बन्ने अपेक्षा छ।’
२०७९ चैत १६ भित्र सक्ने गरी लुम्विनी अर्घाखाँची जेभीले निर्माण सम्झौता गरेको छ। चाहेको तरकारी तथा फलफुल वेमौषममा नपाइने, महंगो मुल्य पर्ने गरेको छ। चिस्यान केन्द्र सञ्चालन भएपछि उपभोक्तासमेत लाभान्वित हुनेछन्। यसबाट सन्धिखर्कसँगै मालारानी गाउँपालिका र गुल्मी नयाँगाउँ क्षेत्रका सुन्तला कृषकसमेत लाभान्वित हुने मेयर भुसालले बताए।