फेसबुक प्रयोगकर्ता ह्वात्तै घटे, अमेरिकी खेलाडीलाई फोन नबोक्न चेतावनी

फेसबुक प्रयोगकर्ता ह्वात्तै घटे, अमेरिकी खेलाडीलाई फोन नबोक्न चेतावनी

क्यालिफोर्नियाः सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता १७ वर्षमा पहिलो पटक ह्वात्तै घटेका छन्। नयाँ रिपोर्टअनुसार फेसबुक कम्पनीले आफ्नो मेटा भर्सन प्रयोगमा ल्याएपछि १७ वर्षमा पहिलो पटक फेसबुक प्रयोगकर्ता ह्वात्तै घटेका हुन्।

मेटा फेसबुकद्धारा हालै जारी नयाँ रिपोर्टले सो तथ्य देखाएको हो। जसअनुसार फेसबुकले सन् २०२१ को चौथो त्रैमासिकमा आफ्ना ५० लाख दैनिक प्रयोगकर्ता गुमाएको छ। कम्पनी स्थापना भएको १७ वर्षमा फेसबुकले ठूलो संख्यामा आफ्ना प्रयोगकर्ता गुमाउनुपरेको सो रिपोर्टमा उल्लेख छ। हालः फेसबुकका संसारभर कूल १.९३ बिलियन सक्रिय प्रयोगकर्ता रहेको बताइएको छ।

बेइजिङ ओलम्पिकमा अमेरिकी खेलाडीहरुलाई फोन नबोक्न चेतावनी

बेइजिङः अमेरिकी गुप्तचर एजेन्सी एफबिआईले शीतकालीन बेइजिङ ओलम्पिक्स २०२२ मा सहभागी आफ्ना खेलाडीहरुलाई फोन नबोक्न चेतावनी दिएको छ। सुरक्षा खतराको कारण देखाउँदै एफबिआईले आफ्ना खेलाडीहरुलाई कुनै पनि फोन नबोक्न चेतावनी दिएको हो।

खेलाडीहरुले प्रयोग गर्ने मोबाइल फोनमा साइबर हमला हुनसक्ने र सुरक्षा खतरा हुनसक्ने भन्दै ओलम्पिक्समा सहभागी हुन लागेका आफ्ना खेलाडीलाई सो चेतावनी दिइएको एफबिआईद्‍वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सो सम्बन्धमा अमेरिकी टिम र अन्तर्राष्ट्रिय ओलम्कि समितीले तत्काल कुनै पनि प्रतिक्रिया नजनाएको बताइएको छ। यसवर्षको शीतकालीन बेइजिङ ओलम्पिक्स शुक्रबारदेखि सुरु हुँदैछ।

जापानको ५० प्रतिशत आयात चीनमा निर्भर

टोक्योः जापानको ५० प्रतिशत आयात चीनमा निर्भर रहेको पाइएको छ। जापान सरकारद्वारा बिहीबार जारी नयाँ रिपोर्टअनुसार जापानको ५० प्रतिशत आयात चीनमा निर्भर रहेको पाइएको हो।

मूल्य र आयातित वस्तुहरुको हिसाबले ५० प्रतिशतभन्दा बढीले जापानको निर्भरता चीनमा रहेको सरकारी रिपोर्टमा उल्लेख छ। आयातित सामग्रीमा जापान सबैभन्दा बढी सन् २०१९ मा चीनमा निर्भर रहेको समेत सो रिपोर्टले देखाएको छ।

जापानले कपडा, खेलकुद सामग्री, फेस मास्क, मोबाइल र कम्प्युटरजस्ता सामग्रीहरु सबैभन्दा बढी चीनबाट आयात गर्ने गरेको क्योडो न्युजमा समाचार छ। अन्य मुलुकको तुलनामा जापान चीनबाट आयातित सामग्रीमा बढी निर्भर हुने गरेको समेत सरकारी तथ्यांकले देखाएको क्योडो न्युजले उल्लेख गरेको छ। 

विशेष अमेरिकी फौजद्वारा सिरियामा आक्रमण, कम्तीमा १३ को मृत्यु

आत्मेहः विशेष अमेरिकी फौजले सिरियामा सुरु गरेको आक्रमणमा परी कम्तीमा १३ मानिसको ज्यान गएको छ। अमेरिकी फोजले उत्तर पश्चिम सिरियामा गरेको आक्रमणमा परि बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको हो।

बुधबार र बिहीबारको आक्रमणमा सो संख्यामा मानिसले ज्यान गुमाएका हुन्। आक्रमणपछि ध्वस्त भएको अत्मेह क्षेत्रको एक भवनबाट चार महिला र ६ बालबालिकाको शव निकालिएको बताइएको छ।

सरकार विपक्षी नियन्त्रित सो क्षेत्रमा अमेरिकी सेनाले गरेको पहिलो जवाफी आक्रमण सफल भएको अमेरिकी रक्षा विभागका अधिकारीहरुले जनाएका छन्। सो आक्रमणबारे विस्तृत विवरण भने प्राप्त नभएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

आक्रमणको खास कारण पहिचान नभएपनि सो क्षेत्रमा जिहादी समूहसँग सम्बन्धित अलकायदा समूहले कब्जा जमाएको बताइएको छ।

न्युजिल्याण्ड विदेशीका लागि अक्टुबरसम्म बन्द रहने 

अकल्याण्डः विदेशीहरुका लागि न्युजिल्याण्ड आगामी अक्टुबरसम्म बन्द रहने भएको छ। त्यहाँको सरकारले बिहीबार विदेशीहरुका लागि पूर्णरुपमा आफ्नो मुलुक खुला नगर्ने निर्णय गरेको हो।

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले कोभिड-१९ विरुद्ध पाँचौं चरणको योजनाअन्तर्गत सो घोषणा गरेकी हुन्। न्युजिल्याण्ड संसारका अन्य मुलुकसँग पूर्णरुपमा आगामी अक्टोबरपछि मात्र भौतिक रुपमा जोडिने उनले बताएकी छन्। यद्यपि कोभिड मापदण्ड पूरा गरेका दक्ष जनशक्ति, अन्तर्राष्ट्रिय विद्यार्थी र अष्ट्रेलियन नागरिकका लागि भने न्युजिल्याण्ड खुला रहने बताइएको छ।

कोभिड-१९ विरुद्धको प्रतिबन्धअन्तर्गत न्युजिल्याण्ड सरकारले आफ्ना सीमानाकामा सबैभन्दा कडाई गर्दै आएको छ।

न्तर्राष्ट्रिय मान्यतानजिक तालिवान

काबुलः अफगानिस्तानको तालिवान अन्तर्राष्ट्रिय मान्यतानजिक पुगेको तालिवानका विदेश मन्त्रीले बताएका छन्। समाचार एजेन्सी एएफपिसँगको अन्तर्वार्तामा तालिवान सरकारका विदेशमन्त्री अमिर खान मुताकीले सो बताएका हुन्।

तालिवानका सदस्य र पश्चिमा शक्ति मुलुकका अधिकारीहरुसँग हालै भएको ओस्लो बार्तापछि पहिलो पटक सञ्चारमाध्यमसँग अन्तर्वार्ता दिँदै विदेशमन्त्री मुत्ताकीले सो बताएका हुन्। गत महिना तालिवान सदस्य र पश्चिमा नर्वेको राजधानी ओस्लोमा अधिकारीबीच वार्ता भएको थियो।

अफगानिस्तानमा तालिवानले गएको अगष्टमा कब्जा गरेको थियो। अफगानिस्तान कब्जापछि त्यहाँ सत्ता शासन हातमा लिएको तालिवान सरकारलाई हालसम्म कुनै पनि मुलुकले आधिकारिकरुपमा मान्यता दिएको छैन। ‘हालसम्म नपाएको अन्तर्राष्ट्रिय मान्यतानजिक तालिवान पुगिसकेको छ। अन्तर्राष्ट्रियरुपमा मान्यता पाउने हाम्रो लक्ष्य चाडै पूरा हुँदैछ,’ उनले भनेका छन्।

तेलको ऋण तिर्न श्रीलंकालाई भारतले दियो ५ सय मिलियन डलर

कोलम्बोः भारत सरकारले पेट्रोलियम पदार्थ तेलको ऋण तिर्न श्रीलंका सरकारलाई ५ सय मिलियन डलर रकम सहयोग उपलब्ध गराएको छ। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई भारतले बुधबार सो रकम सहयोगस्वरुप ऋण उपलब्ध गराएको हो।

पहिलो चरणमा उपलब्ध गराएको सो रकमबाट श्रीलंकाले भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्ने बताइएको छ। टापु मुलुक श्रीलंकाका पछिल्लो समय आर्थिक संकटसँग जुधिरहेको छ। श्रीलंकालाई आर्थिक सहयोग गर्न भारतले अझै १ बिलियन डलर उपलब्ध गराउने तयारीमा रहेको भारतीय मिडियामा उल्लेख छ। खाद्य संकटबाट समेत जुधिरहेको श्रीलंकाले पछिल्लो समय चीनसँग समेत ऋण मागिरहेको छ।

युरोपमा थप सेना पठाउने अमेरिकाको कदम रुसको नजरमा विनाशकारी

मस्कोः युरोपमा थप सेना पठाउने अमेरिकी निर्णयलाई रुसले विनाशकारी कदम बताएको छ। युरोपका केही मुलुकमा थप सेना पठाउने अमेरिकी निर्णयलाई रुसले विनाशकारी कदम बताएको हो।

युक्रेनमाथि रुसले आक्रमण गर्ने प्रवल सम्भावना रहेको बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत त्यहाँको रक्षा विभागले यसै शाताभित्र युरोपमा थप सेना पठाउने निर्णय गरेको छ। आफ्नो सहयोगी नाटोलाई सहयोग गर्न अमेरिकी रक्षा विभागले थप २ हजार सेना नर्थ क्यारोलिना, पोल्याण्ड र जर्मनीलगायत क्षेत्रमा पठाउने बताएको छ। यसअघि अमेरिकाले जर्मनीमा खटाएका १ हजार सैनिकलाई रोमानियामा पठाउने निर्णय गरेको छ। अमेरिकाको सोही निर्णयलाई रुसले विनाशकारी कदम बताएको हो।

रुसले युक्रेनको दक्षिणी प्रायद्धिप क्राइमियालाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन भरेको झन्डै आठ वर्षपछि युक्रेनसँगको विवाद पुन चर्केको हो।

रुसले युक्रेननजिकै आफ्नो सीमा क्षेत्रमा करिब १ लाख सैनिक तैनाथ गरेको छ। यद्यपि रुसले युक्रेनमाथि आक्रमणको योजना रहेकोमा अस्वीकार गर्दै आएको छ।

अर्जेन्टिनामा कोकिन सेवनबाट एकैदिन २० को मृत्यु, ७४ बिरामी

ब्युनस आर्यसः अर्जेन्टिनामा लागु औषध कोकिन सेवनबाट एकैदिन २० को मृत्यु भएको छ भने अन्य ७४ जना गम्भीर बिरामी परेका छन्। अर्जेन्टिनाको ब्युनस आर्यसमा मिसावटयुक्त कोकिन सेवनबाट एकैदिन २० जनाले ज्यान गुमाएका हुन् भने अन्य ७४ विरामी परेका हुन्।

सो घटनाबारे त्यहाँको स्वास्थ मन्त्रालयका अधिकारीहरुले बिहीबार बिहानै जानकारी दिएका हुन्। अधिकारीहरुले घातक उपभोगको रुपमा कोकिनलाई घातक सूचीकृत गर्ने क्रममा सो घटना बाहिरिएको अन्‍तर्राष्ट्रिय मिडियामा खबर छ। सो कोकिन सेवनपछि गम्भीर घाइते भएकाहरुको उपचार भइरहेको बताइएको छ।

विज्ञहरुले सो घटनाबारे थप विश्लेषण एवम् अनुसन्धान गरिरहेको बताइएको छ। लागु औषध तस्करहरुले अन्तर्राष्ट्रियरुपमा मिसावट गरी सो कोकिन वितरण गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

स्थानीय प्रहरीका अनुसार सो कोकिन छिमेकी गरिब क्षेत्र सान मार्टिनमा बिक्री गरिएको र त्यहाँबाट उत्तरी भेगमा अवस्थित अर्जेन्टिनाको राजधानीसम्म पुर्‍याइएको थियो। सो कार्यमा संलग्न एक दर्जन लागु औषध तस्करहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.