‘मनोबल नै क्यान्सरको उपचार रहेछ’
‘म क्या भाग्यमानी छु । मेरो प्रतिरक्षा प्रणाली बलियो रहेछ ।’
कोही मान्छे सबैथोक पाएर पनि भाग्यले ठगेको बिलौना गर्छन् । रुबी भने धेरैथोक गुमाएर पनि आफूलाई भाग्यमानी भनिरहेकी थिइन् । मन छिया–छिया पार्ने जीवन–भोगाइ अरूका प्रेरणामा पस्किइरहेकी छिन् उनी । त्यसैले त उनी आम मान्छेभन्दा फरक छिन् ।
संसारले आज क्यान्सर दिवस मनाइरहेको छ । ‘क्लोज द केयर ग्याप’ अर्थात् ‘हेरचाहको खाडल पुरौं’ मूल सन्देश छ यसपालि । नेपालमा यति धेरै क्यान्सरका बिरामी छन्, जोे उपचार र स्याहारको पहुँचमा छैनन् । कति यस्ता बिरामी छन्, जो यसको ‘डरलाग्दो’ रूप ठानेर विक्षिप्त छन् ।
तिनका लागि पाठशाला हुन् रुबी क्षत्री । जसले चौथो चरणको लिम्फोमा क्यान्सर दह्रो मनोबलको सहारामा सहजै जितिनन् मात्रै, यस्तै पीडितका घाउमा मलम बनेर उभिँदै आएकी छन् पनि ।
‘मसँग के छैन र दुःखी हुने ?’ उनले निधार खुम्च्याइन् । अनि, मुस्कुराउँदै भनिन्, ‘म त क्यान्सरको योद्धा हुँ । विजय प्राप्त गरिसकेँ । म एकल आमा हुँ । अनि, म धेरै व्यक्तिलाई मातहत राख्न सक्ने नेतृत्वदायी व्यक्ति हुँ ।’
क्यान्सरको कथा
घर र अफिस गरिरहँदा उनलाई एकाएक कम्मर दुख्यो । दुखाइ यति पीडादायी हुँदै गयो, सहनै नसक्ने भयो । सेक्दै, तेल लगाउँदै बसिन् उनी ।
केही महिनापछि छातीमा सानो फोका देखा पर्यो । त्यसलाई पनि सेक्न थालिन् । त्यो झन् ठूलो भएर आयो । एक सातामै निक्कै ठूलो भयो । उक्त फोकाको पहिचानका क्रममा उनी झन्डै आठ महिना भौंतारिरहिन् । उनी निदानका लागि काठमाडौंका विभिन्न अस्पताल चहारिन् । विज्ञलाई भेट गरिन् । तर, रोग हतपति पत्ता लागेन । जब पत्ता लाग्यो, क्यान्सर चौथो चरणको बनिसकेको रहेछ । आफन्तलाई चिकित्सकले तत्काल नयाँ दिल्ली लैजान सुझाए छन् । जुन उनलाई खबर गरिएन । दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा पुग्नासाथ उनले आफ्नो रोग चिनिन् ।
सन् २०१४ डिसेम्बर ५ । ‘जब क्यान्सर शब्द मेरो कानमा पर्यो, होस हवास उडेझैं भयो । तैपनि हिम्मत हारिनन् । अस्पतालले इमर्जेन्सीमा तीव्र उपचार र परीक्षण सुरु गर्यो । ६ दिनमै किमो चलाउन थाल्यो ।
‘किमो दिने तयारी भइरहेको थियो । मेरो श्रीमान् आउनुभयो । मेरो हात च्याप्प समाउनुभयो । मलाई अँगालोमा बेर्नुभयो । र, रुँदै भन्नुभयो, ‘तिमीलाई केही नहोस् । म भगवान्सँग प्रार्थना गर्नेछु ।’
त्यो प्रेमपूर्ण ढाडस उनका लागि ठूलो आत्मबल थियो । बाँच्नुको तात्पर्य पनि त्यही थियो । उनले ढुक्क हुँदै श्रीमान्लाई जवाफ फर्काइन्, ‘बाबा ! मलाई तिमीले माया मात्र गर है । म बाँच्छु । तिमीलाई छोडेर म कहाँ जान्छु र ? दुई छोरालाई टुहुरा कसरी बनाउन सक्छु र ?’
एक महिना उपचार गरेर उनी घर फर्किइन् । कपाल पूरै झरेको थियो । हापझाप गर्दै दुवै छोरालाई काखमा राखिन् । अँगालोमा बेरिन् । खुसीका आँसु झारिन् धेरै बेर ।
तैपनि त्यो त उपचारको प्रारम्भ मात्र थियो । धेरैले सुन्ने गरी भन्थे, ‘चौथो चरणको क्यान्सरमा बाँच्नु त मिराकल हो ।’ त्यसले उनलाई चस्स गथ्र्यो । तर, श्रीमान् र छोराहरूका मायालु अनुहारले उनलाई बाँच्न सधैं हौसलाई मिलरहन्थ्यो ।
एक महिनापछि फलोअप र अर्को किमो लिन उनी एक्लै दिल्ली जाने निधो गरिन् । निस्किने बेला ठूलो छोरा रोहनलाई काखमा राखिन् । उनले त्यो मर्मस्पर्शी क्षणमा आफूूले भनेको सुनाइन्, ‘छोरा ! म बाँचे भने फर्केर आउँछु । बाँचिन भने बाबालाई कहिल्यै नरुवाउनूू । भाइलाई कहिल्यै नछोड्नु है ।’ छोराले आँसु पुछ्दै हौसला दिए, ‘हवस्, मम्मी हजुर ढुक्क भएर जानुहोस् ।’
दिल्लीका लागि निस्किएका उनका पाइला एकोहोरो अघि बढे । अनुहार घरतिर फर्काउने हिम्मत गरिनन् । घरबाट निस्कँदा गह भरियो । उनले फर्केर हेर्नसमेत सकिनन् ।
उनलाई उपचारका क्रममा खर्च बढ्दै गयो । घरमा ससुराबुवा र अमेरिकामा रहेका भदाले आर्थिक सहयोग गरे । ‘क्यान्सर हुँदा नैतिक बल निकै चाहिने रहेछ । त्यो महसुस भयो ।’ आफूलाई आर्थिक एवं नैतिक सहयोग गर्नेप्रति उनले कृतज्ञता व्यक्त गरिन् । नतमस्तक देखिइन् । ‘अमेरिकाबाट भदाले एक घण्टासम्म फोन गर्दै सम्झाउँथ्यो, तिमी नडराउन । कति खर्च लाग्छ, म व्यहोर्छु ।’ उनले स्मरण गरिन्, ‘भदाले पैसा पठाइहाल्छ । म खान्छु । त्यसपछि त बाँचिहाल्छु नि भन्ने ऊर्जा आउँथ्यो । यदि कसैसँग उपचार खर्च जुटाउने पैसा छैन र मोरल सपोर्ट पनि छैन भने त बाँच्दैनन् जस्तो लाग्छ ।’ पहिलो पटक किमो दिएपछि लामो कपाल र आँखीभौंका रौं झरे । किमोथेरापी नेपालमै गर्न सकिने सुझाव डा.एसके गुप्ताले दिए । उनी स्वदेशमै उपचार गर्न पाउँदा खुसी भइन् ।
दुई वर्षसम्म उनी उपचारमै तल्लीन भइन् । यस अवधिमा उनलाई पाँचौं किमो दिइसकेपछि उनले एक दिन फेसबुक हेर्दै थिइन् । आफूसँगै काम गरेकी एकजना सहकर्मीको क्यान्सरबाट अमेरिकामा ज्यान गएको थाहा पाइन् । आत्मबल कमजोर भयो । उनलाई आफू पनि मर्छु की जस्तो लाग्यो । भर्याङ चढ्न पनि सकस भयो । किमोको अन्तिम साइकल दिनुअघि मरिहाल्छ की एकदिन आँसु अलि बढी बग्यो । उनको अवस्थाले गर्दा कान्छो छोराको ब्रतबन्ध गरियो । उनी अन्तिम पटक किमोका लागि पुनः भारत गइन् । दुई वर्षको अवधिमा किमो ६ साइकल चलाइयो । १८ पटक रेडिएसन दिइयो ।
क्यान्सरसँग जुध्ने क्रममा उनले बालगुरु आदित्यबारे थाहा पाइन् । आत्मबल झन् बलियो हुँदै गयो । ‘उहाँ जन्मजात अपांगता भएर पनि यति दुरद्रष्टा, विलक्षण क्षमताको हुनुहुँदो रहेछ’, उनले भनिन्, ‘ममा के कमजोरी छ र, चिन्ता लिनु ?’ त्यो संयोग उनलाई मन दह्रो बनाउन सहायक भयो । उनले खानपिनमा जोड दिइन् । विस्तारै तङ्ग्रिँदै गइन् । ‘आइएम लक्की पर्सन’ उनी पुनः मुस्कुराइन् । ६ जनाको परिवारमा सबैभन्दा कान्छी छोरीका रूपमा जन्मेकी उनलाई घर र माइतीमात्र होइन साथीभाइ, सहकर्मीले दुःखको घाउमा मल्हम लगाए । अहिले उनको दैनिकी एकै खालको छ । बिहान अक्सिजन थेरापी लिन्छिन् । छोराहरू र आफ्ना लागि खाना÷खाजा बनाउँछिन् । ‘छोराहरूलाई संस्कार दिन चाहन्छु । चुनौती स्वीकार गरे अघि बढ्न सक्ने संस्कार दिन चाहन्छु । संस्कार मैले दिन सकेँ भने अरू कुरा त संसारले सिकाउँछ’, उनले भनिन् । ठूलो छोरो कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्दैछन् । सानो छोरा ८ कक्षामा पढ्दै छन् ।
उनलाई क्यान्सर रोग आफैंले निम्त्याएको झैं लाग्छ । ‘आसा अपेक्षा (एक्सपेक्टेसन) र वास्तविकता (रियालिटी) फरक छ ।’ उनले थपिन्, ‘आशा अपेक्षा (एक्सपेक्ट) गर्नु हुँदो रहेनछ । जे छ त्यसलाई एसेप्ट (स्वीकार) गर्नु पर्ने रहेछ । यो वास्तविकता त्यतिबेला बुझिनँ । तनाव लिएँ । त्यो तनाव नै क्यान्सर निम्त्याउने कारक हो जस्तो लाग्छ ।’
उनी जागिरकै लागि घरछोडेर विभिन्न मुलुक पुगिन् । घर फर्केपछि क्यान्सरसँग जुधिन् । जब जितिन्, अरूलाई प्रेरणा बाँड्न थालिन् । नेपाल क्यान्सर सर्भाइकल सोसाईटीकी उनी र उनीजस्तै केही जना मिलेर खोले । उनी त्यसको संस्थापक उपाध्यक्ष बनिन् ।
उनले लिम्फोमा क्यान्सर जितेको सात वर्ष भयो । उनी पुलकित छिन्, क्यान्सर जितेकोमा । भन्छिन्, ‘फैलिएर चौथो स्टेजमा पुगिसकेको क्यान्सरलाई जितेंँ ।’ क्यान्सर जितेको बोनस जिन्दगीप्रति उनी गर्व गर्छिन् । ‘मन पराउने /मन नपराउने सबैलाई स्वीकार (एसेप्ट) गर्छु । स्वीकार गर्ने तरिका भने फरक छ । मन पराउनेलाई मुटुमा राख्छु । मन नपाउनेलाई दिमागमा राख्छु ।’
जब डाक्टर बरर रोए
‘आर यु म्यारिड (तपाईं विवाहिता हो ?’
चिकित्सकले अल्ट्रासाउन्ड गर्दै सोधे । ती डाक्टरका आँखाबाट बरर आँसु बगिरहेको थियो ।
जवाफमा रुबीले भनिन्, ‘हजुर ।’
‘कति बालबच्चा छन् ?’
‘दुई ।’
‘दुई दिन ढिला भएको भए तपाईं बाँच्नु हुने थिएन । क्यान्सर पूरै फैलिइसकेको रहेछ’, ती चिकित्सकले भने, ‘तपाईंलाई भगवान्ले बचाए ।’
अन्ततः उनले क्यान्सर जितिन् । गर्वका साथ जो कोहीलाई भन्छिन्, ‘अहिले मेरो जस्तो स्वास्थ्य रिपोर्ट त तपाईंको पनि छैन । म तन्दुरुस्त छु ।’
श्रीमान्को त्यो मुस्कान
काठमाडौं, रिङरोड पारी अलिभित्र पसेपछि आउँछ, रुबीको घर । गेटको मुखैमै छ, गहिरो इनार । त्यो इनारभित्र गहिरो व्यथालाई सहेकी रुबीलाई श्रीमान्को मुस्कानको झझल्कोले सताउँछ । ‘म आक्रामक छु । तर, श्रीमान् छेउँमा आएर मुसुक्क हाँस्दा नतमस्त हुन्थेँ । त्यति राम्रो दाँत र मुस्कान थियो’, उनले स्मरण गरिन्, ‘हाम्रो प्रेम विवाह (लभ म्यारिज) हो । जति सँगै भइयो, प्रेमपूर्ण जीवन जिइयो ।’
उनले क्यान्सरलाई हराइन् । श्रीमान्लाई भने कोभिडले हरायो ।
कोरोना संक्रमणको दोस्रो लहरमा धेरै जना अस्पताल पुगे । हायात होटलमा कार्यरत उनका श्रीमान् वीरेन्द्रलाई २०७७ वैशाख अन्तिम साता बिसञ्चो महसुस भयो । विस्तारै श्वास फेर्न गाह्रो हुँदै गयो । जेठको पहिलो साता जाँच गराउँदा डेल्टा भाइरसको संक्रमण पुष्टि भयो । उपचारका क्रममा गंगालाल हृदयरोग केन्द्र पुगेका श्रीमान् घर फर्कन पाएनन् । असार ११ गते धर्ती छोडे ।
त्यसयता उनी बिहान चार बजे उठ्छिन् । उठ्नासाथ थप जीवन दिएकामा सम्मानपूर्वक पृथ्वीलाई ढोग्छिन् । घरको फोहोरमैला बाहिर फ्याँकेपछि ‘सकारात्मक ऊर्जा’ आउने विश्वास छ उनमा । दैलोकुचो गर्छिन् । घर पुछपाछ गरेपछि स्नान गर्छिन् । फ्रेममा राखिएको श्रीमान् वीरेन्द्रको तस्बिर छेउ दियो र जल लिएर पुग्छिन् । ‘दियो बाल्छु । जल चढाउँछु । नमस्कार गर्छु’, उनी भक्कानिइन् ‘तिमी मेरो जीवनमा आयौ । तिम्रै कारण मैले जिन्दगीमा दुई उपहार (छोरा) पाएँ ।’
श्रीमान् बितेपछि दिन रात छटपटिमै बिते । उनी धेरै रात सुत्न सकिनन् । अन्ततः समाधान खोज्नै थियो । सुन्दर जीवन जिउनै थियो । उनले स्वयंलाई केही प्रश्न गरिन्–
‘तिमी कुन धरातलमा छौ ?’
‘तिमी को हौ ?’
‘तिमी कहाँबाट आयौ ?’
‘अब तिमी के गर्छौ ?’
‘अब तिमी कसलाई माया गर्छौ ?’
उत्तर आफैं पत्ता लगाइन् । ‘जीवनमा कति धेरै चट्टानसँग जुध्नु पर्यो । चट्टानसँग जुध्दा–जुध्दा म त प्युरिफाइड भएछु । माथिबाट झरेको पानी जस्तो जिन्दगी भयो । जिन्दगीसँग जिन्दगीलाई जितेँ मैले । उनले सूत्र खोजिन्, ‘जीवन बगिरहने नदी रहेछ ।’ मुटुको टुक्रा नहुँदा पनि अघि बढ्ने हिम्मत जुटाइन् ।