नेपाल आइडल सिजन–४ बाट को बाहिरिए ?
काठमाडौं :
कहाँ खोजुँ, कहाँ भेटुँ कसको परेलीमा
नेपाल आइडल सिजन–४ को बिहीबारको कार्यक्रम विशेष रह्यो। कार्यक्रमको दैलो यही सामूहिक गीतले उघारेको थियो। यो सुमधुर गीत बज्दाबज्दै कार्यक्रममा अतिथिका रुपमा अग्रज कलाकार सरोज खनाल देखा परेका थिए।
उनले गीतसँगै भैरहवाको सुटिङ दृश्य सम्झिए। ‘यो गीत मैले अभिनय गरेका सिनेमाको गीतमध्ये उत्कृष्ट लाग्ने गीत हो। गीतको सुटिङ भैरहवामा भएको थियो। जेठको महिना नाच्दानाच्दै पसिनाले कपडा भिज्थ्यो। सेतो सुट र रातो सट लगाएर नाचिरहेको थिएँ। सर्टको रंग गएर सेतो सुट नै रातै भएको थियो।’
हरेक हप्ता कम भोट ल्याउने एक जना प्रतियोगी बाहिरिने दिन हो, बिहीबार। गत हप्ताको प्रस्तुतिका आधारमा कम भोट ल्याउने राजकुमार परियार कार्यक्रमबाट बाहिरिए। उनी बाहिरिँदै गर्दा जज शम्भुजित बाँस्कोटा भन्दै थिए, ‘राजकुमार यति छिटो जान पर्ने प्रतिस्पर्धी होइन।’ अर्का जज सुगम पोखरेलले भने, ‘राजकुमार भाइ तपाईका लागि ठूलो स्टेज पर्खिरहेको छ है।’
राजकुमार बाहिरिँदै गर्दा कार्यक्रमस्थलमा केहीबेर सन्नाटा छायो। केहीबेरमा मञ्चमा उपस्थित भए, विश्वास उप्रेती। उनी आँखाभरीका सपनाको कुरा गर्दै थिए। उनको स्वर र प्रस्तुतिमा सबैजना रमाएका थिए।
यसपछि सुरेश लामाले मायालुलाई सम्झिएर प्रेमिल गीत गाए। ‘सक्दिन म बाँच्न तिमीबिना भन्दै मञ्चमा देखापरिन्, बेनिसा पौडेल। जजहरूको प्रशंसा बटुल्न सफल भए, अर्का प्रतिस्पर्धी रञ्जित नेपाली। उनले जिन्दगीको भर नभएको कुरा सुनाए। कार्यक्रममा आदेश पौडेलले जीवनका घटना पहिले नै अनुमान गर्न नसकिने सत्यलाई गीतबाटै सुनाए, ‘को कस्को हो ? कसले चिन्न सक्छ र ?, सिन्दुर हो या धुलो हो यो जीवन कस्ले भन्न सक्छ र ?’
कार्यक्रमको अन्तिममा बिहीबार बाहिरिएका राजकुमार परियारले पनि प्रस्तुति दिएका थिए। उनले साँचो माया लगाएको कसम खाए। उत्कृष्ट १० मध्ये पाँच जनाले बिहीबार प्रस्तुति दिए। हरेकले आफूलाई अब्बल सावित गर्न अनेक कोसिस गरेका थिए। प्रतियोगीहरू गीतको भावसँगै डुबिरहेका थिए।