प्रदेशसभाको वार्षिकोत्सव स्थगित
जनकपुरधाम: मधेस प्रदेशको प्रदेशसभामा आयोजित वार्षिकोत्सव स्थगित गरिएको छ। प्रदेशसभा सचिवालय शुक्रवार चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरेको कार्यक्रम स्थगित गरेको हो। प्रतिकूल मौसमका कारण कार्यक्रम स्थगित भएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए।
उनका अनुसार सचिवालयभित्र कार्यक्रमका लागि बनाइएको मञ्चहरु पनि हावाले भत्काएको छ। हावाहुरीका कारण सांसदको पनि सहभागिता कम हुने भएकाले तय गरिएको कार्यक्रम स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिए।
सांसदहरुलाई मोवाइलमा एसएमएस पठाएर वार्षिकोत्सव समारोह स्थगितबारे सचिवालयले जानकारी गराएका छन्। यद्यपि अबको अर्को कार्यक्रम कहिले हुने टुंगो लागेको छैन। कार्यक्रम मिति तय भएपछि पुनः सूचना प्रकाशन गरिने र सांसदहरुलाई जानकारी गराइने बताइएको छ।