नेदरल्याण्ड्समा एचआइभीको खतरनाक भाइरस फेला,  खडेरीका कारण तान्जानियामा तीन लाख बढी जनावरको मृत्यु

नेदरल्याण्ड्समा एचआइभीको खतरनाक भाइरस फेला,  खडेरीका कारण तान्जानियामा तीन लाख बढी जनावरको मृत्यु

वेलिङ्टनः अन्वेषकहरुले नेदरल्याण्ड्समा एचआइभीको अत्यधिक संक्रामक नयाँ भाइरस फेला परेका छन्। अक्सफोर्डका अन्वेषकहरुले हालै नेदरल्याण्ड्समा एचआइभीको अत्यधिक संक्रामक नयाँ भाइरस फेला पारेका हुन्।

सो नयाँ एचआइभी भाइरस दशकौंयताकै अत्यधिक संक्रामक भएको अन्वेषकहरुको खोजले पुष्टि गरेको छ। तर आधुनिक उपचारको प्रभावकारिताको कारण सो नयाँ भाइरस खासै खतरनाक भने नभएको सो खोजले जनाएको छ।

एचआइभी भाइरससम्बन्धी नयाँ खोज बिहीबार प्रकाशित साइन्स नामक जर्नलमा प्रकाशित भएको थियो। अन्वेषकहरुले सो भाइरसको नाम ‘भिवि भेरियन्ट’ राखेका छन्। भिवि भेरियन्ट नामक नयाँ भाइरस एचआइभीजन्य अन्य संक्रामक रोग भएका मानिसमा ३ देखि ५ गुणा बढी तीव्ररुपमा सर्ने बताइएको छ।

हाल नेदरल्याण्ड्समा १०९ मानिसमा नयाँ एचआइभी भेरियन्ट संक्रमण पुष्टि भएको समेत अक्सफोर्डका अन्वेषकहरुले बताएका छन्।  

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

नयाँ दिल्लीः भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। शुक्रबारसम्म भारतभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको हो।

भारतको सरकारी तथ्यांकले सो तथ्य देखाएको हो। योसँगै भारत कोरोना मृत्युदर भएको चौथो ठूलो मुलुकको रुपमा चिनिएको छ। यसअघि गत वर्षको जुलाई महिनासम्म भारतमा कोभिड-१९ संक्रमणबाट ४ लाख मानिसले ज्यान गुमाएका थिए। भारतमा सबैभन्दा बढी डेल्टा भेरियन्टबाट मानिसको मृत्यु भएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन्।

यद्यपि कतिपय विज्ञहरुले भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरेका छन्। भारतमा पछिल्लो समय कोरोना संक्रमणदर र मृत्युदर उच्च भएको बताइएको छ। कोरोनाबाट पछिल्लो २४ घण्टामा भारतभर १ हजार ७२ ले ज्यान गुमाएका छन्।

शीतकालन बेइजिङ ओलम्पिक सुरु

बेइजिङः शीतकालीन बेइजिङ ओलम्पिक खेलकुद २०२२ शुक्रबारदेखि आधिकारिकरुपमा सुरु भएको छ। कडा कोभिड-१९ प्रतिबन्ध र त्रासकाबीच चिनियाँ राष्ट्रपति सी जिङपिङले सो खेलकुदको सुभारम्भको घोषणा गरेसँगै सुरु भएको हो।

राष्ट्रपतिले बिहीबार भिडियोमार्फत् सो खेलकुदबारे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसमक्ष सम्बोधन गरेका थिए। यस वर्षको उद्घाटन समारोह सन् २००८ मा जस्तो भव्य नभएको बताइएको छ। यद्यपि यस वर्षको शीतकालीन ओलम्पिक्समा विभिन्न मुलुकका खेलाडीहरु र उच्च अधिकारीहरु मात्र सहभागी हुन पाइने बताइएको छ। कोभिड-१९ को त्रासका कारण यसपालीको शीतकालीन ओलम्पिक्समा कम भीडभाड हुने चिनियाँ मिडियाले जनाएका छन्।

सन् २००८ को करिब ४ घण्टा लामो उद्घाटन समारोहमा १५ हजार कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए। विभिन्न आलोचना खेपिरहेको यसवर्षको शीतकालीन ओलम्पिक अझै विवादास्पद बन्ने विश्लेषकहरुले बताउँदै आएका छन्।

कोभिड महामारीपछि ननिस्केका चिनियाँ राष्ट्रपतिले भेटे पुटिन

मस्कोः संसारमा कोभिड-१९ महामारीपछि देश बाहिरको भ्रमणमा ननिस्केका चिनियाँ राष्ट्रपति सी जिङपिङले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनसँग भेट गरेका छन्। जिङपिङले कोभिड महामारीपछि पहिलो पटक पुटिनसँग प्रत्यक्ष भेटवार्ता गरेका हुन्।

उनले झन्डै दुई वर्ष अर्थात् ४ सय दिनपछि पहिलो पटक आफ्ना सहकक्षीसँग प्रत्यक्ष भेटवार्ता गरेका हुन्। शीतकालीन बेइजिङ ओलम्पिक्सको अवसरमा दुवै शीर्ष नेताले भेटवार्ता गरेको बताइएको छ। यद्यपि, रुसको कारण युक्रेन र पश्चिमा मुलुकमा तनाव बढिरहँदा सी र पुटिनबीच प्रत्यक्ष भेटवार्ता हुनुलाई विश्लेषकहरुले चासोका रुपमा हेरेका छन्।

चिनियाँ राष्ट्रपति सीले सन् २०२० जनवरीपछि चीनबाहिरको भ्रमण गरेका छैनन्। यसअघि उनले कुनै पनि विदेशी अधिकारीहरुसँग प्रत्यक्ष भेट गरेका थिएनन्। 

शीतकालन ओलम्पिक चीनको लागि ठूलो : किम

प्योङयाङः उत्तर कोरियाली नेता किम जोङ उनले शीतकालीन ओलम्पिक्स चीनको लागि महान जीत हुने बताएका छन्। शीतकालीन बेइजिङ ओलम्पिक खेलकुदको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङलाई बधाइ तथा शुभकानमा सन्देश दिँदै किमले सो बताएका हुन्।

सो अवसरमा उत्तर कोरियाली नेता किमले आफूले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न चाहेको समेत बताएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ।

‘विश्व महामारीले नित्म्याएको स्वास्थ्य संकट र अन्य गम्भीर परिस्थितिका बावजुद पनि समाजवादी चीनले ओलपिम्क्सको सफल उद्घाटन गरेको छ। यो नै चीनको महान जीत हो,’ शुभकामना सन्देश पत्रमार्फत् किमले शुक्रबार भनेका छन्, ‘योसँगै म दुई देशका सत्तारुढ पार्टी र दुई देशबीचको सम्बन्ध सुधार्न चाहन्छु।’

गलवान झडपमा कम्तीमा ३८ चिनियाँ सैनिक मारिएको पुष्टि

नयाँ दिल्लीः चीन र भारतबीच गलवानमा भएको झडपमा सबैभन्दा बढी चिनियाँ पक्षको नोक्सान भएको पुष्टि भएको छ। सन् २०२० जुनमा गलवानमा भएको झडपमा कम्तीमा ३८ चिनियाँ सैनिक मारिएसँगै सबैभन्दा बढी चिनियाँ पक्षको नोक्सान भएको पुष्टि भएको हो।

अष्ट्रेलियन वेवसाइटद्वारा जारी रिपोर्टले सो पुष्टि गरेको हो। सो नोक्सानलाई चीनले हालसम्मकै ठूलो नोक्सान भएको बताउँदै आएको छ। सो झडपमा भारतीय पक्षको भने तुलनात्मकरुपमा कम नोक्सान भएको सो रिपोर्टले जनाएको छ। गलवान झडपमा २० भारतीय जवानको मारिएका थिए। सीमा सम्बन्धको विवाद चर्किएपछि सन् २०२० जुन १५ देखि १६ सम्म झडप भएको थियो।

अमेरिकी सेनाले मारेको छापामा आइएसआइएस प्रमुखको निधन

वासिङ्टनः अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तरपश्चिम सिरियामा आफ्ना सेनाले गरेको आक्रमणमा परी आतंकवादी समूह आइएसआइएसको निकाय आइएसआइएल प्रमुखको निधन भएको बताएका छन्। विशेष अमेरिकी सेनाको फौजले सिरियामा मारेको छापामा परी आइएसआइएल प्रमुखको निधन भएको बाइडेनले बताएका हुन्।

बिहीबार राति सिरियामा सेनाले मारेको छापामा परी आइएसआइएल प्रमुख अबु इब्राहिम अल हशिमी अल कुरायसीलाई आफ्नो निर्देशनमा मारिएको पुष्टि बाइडेनले बिहीबार साँझ गरेका हुन्।

सिरियाको विपक्षी नियन्त्रित सहर अतामेहमा भएको आक्रमणमा परी बिहीबार ६ बालबालिकासहित १३ मृत्यु भएको थियो।

तान्जानियामा तीन लाखभन्दा बढी जनावरको मृत्यु

दारएससलाम: पाँच महिना लामो खडेरीका कारण तान्जानियामा घर पालुवा गाई, बाख्रा, भेडा गधासहित तीन लाख छ हजार ३५८ जनावरको मृत्यु भएको पशुपालन तथा मत्स्य पालन मन्त्रालयले शुक्रबार जनाएको छ। पशुपालन तथा मत्स्य पालन मन्त्री माशिम्बा एनडिकीले जनवरीमा मन्त्रालयका विशेषज्ञहरूले गरेको आँकलनअनुसार लामो सुक्खाको कारण पानी र चरनको अभावले गर्दा सेप्टेम्बर २०२१ देखि जनवरी २०२२ अन्त्यसम्ममा ती जनावरहरूको मृत्यु भएको हो।

अरुशा, किलिमन्जारो, मरोरा, मोरोगोरो, टांगा र कोस्टमा यी जनावरहरू मरेका हुन्। यो छ वटा क्षेत्रमा मौसमी वर्षापछि लामो सुक्खाका कारण चौपाया लगायतका जङ्गली जनावरहरू प्रभावित भएका एनडीकीले सिन्हुआलाई बताए।

टेलिफोनमार्फत् गरिएको सोधपुछमा उनले भने, 'यी छ वटा क्षेत्रमा जनवरीको अन्त्यतिर पानी पर्न थालेको छ। यसका लागि हामी भगवानप्रति आभारी छौं।' सरकारले पशुहरूलाई थप मृत्युबाट बचाउने उद्देश्यले विभिन्न उपायहरू अपनाएको छ, जसमा गाईलाई किर्नाबाट जोगाउन गाईवस्तु डुबाउने पोखरीहरूको निर्माण गरिएको छ। पशुपन्छीलाई पानी उपलब्ध गराउन पशुपंक्षी तथा मत्स्य मन्त्रालयको सहयोगमा छनोट गरिएका क्षेत्रमा बोरीङहोल खन्दै आएको मन्त्रालयले बताएको छ।

श्रीलङ्काका राष्ट्रपतिद्वारा १९७ कैदीलाई माफी

कोलम्बो: श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापक्षले १९७ कैदीलाई आम माफी दिएका छन्। देशको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उनले उनीहरूलाई आम माफीको घोषणा गरेका हुन्।

कारागारभित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुँदै गएकाहरूलाई बाँकी सजाय छुट गरिएको सरकारले जनाएको छ। व्यवहारमा सुधार भएकामध्ये पनि ६५ वर्ष उमेर पूरा गरेका, तोकिएको कूल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनौट गरिएको हो।

तर हत्या, लागु औषध कारोवार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको आरोप पुष्टि भएकाहरूलाई भने आम माफी नदिइने व्यवस्था छ। श्रीलङ्का सन् १९४८ को फेबु्रअरी ४ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो। त्यतिबेलादेखि श्रीलङ्कामा हरेक वर्षको फेब्रुअरी ४ का दिन राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.