अस्पताल धाउँदा धाउँदै क्यान्सरै क्यान्सर
काठमाडौं : दिल्ली मेदान्त अस्पतालका डाक्टरले भने, ‘सरी, आपका पेसेन्टको क्यान्सर फोर्थ स्टेजमे है। हम कुछ नही कर सकते। अमेरिका ले जाएगे तो भी ठीक नही होगा।’
विगत सम्झिँदै लक्ष्मीले भनिन्, ‘चार वर्षअघि एउटा कार्यक्रममा सहभागी हुन पोखरास्थित सांग्रिला होटल जाँदै थिएँ। बाटोमा हिँड्दाहिँड्दै असहज महसुस भयो, सबै कुरा दुईवटा देख्न थालें। कार्यक्रममा बस्न नसकेपछि हिमालयन आँखा अस्पताल पुगें। आँखामा कसिंंगर परेको रहेछ भन्दै निकालेपछि फर्किएँ। तर, झन्झन् गाह्रो भयो।’ दिनप्रतिदिन अस्वस्थ हुँदै गएपछि उपचारका लागि पोखरास्थित पद्मा नर्सिङ होममा पुगिन्। त्यहाँ डाक्टरको व्यवहार राम्रो लागेन। ‘धेरै ठाउँमा आँखा देखाएँ। तीन महिनापछि आँखाको नानी नै चल्न छाड्यो। त्यसपछि देख्न छोडें। एउटा आँखा छोपेर मात्र अर्को देख्न थालें’, उनले सुनाइन्।
‘स्तनमा गिर्खा देखिएपछि ग्रान्डी अस्पताल पुगें। डाक्टरले सामान्य हो, केही छैन भनेपछि फर्किएँ। दिनप्रतिदिन रोगले च्याप्दै जान थाल्यो’, उनले भनिन्, ‘त्यसपछि उपचारका लागि विभिन्न अस्पताल धाएँ। आशा लिएर पुग्थें, निराशा लिएर फर्कन्थें।’
उपचारकै लागि काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा पुगिन्। महँगो अस्पतालमा १० महिना उपचार गर्दा पनि उनलाई निको भएन। ‘धेरै उपचार गरें, औषधि लिएँ। स्वास्थ्यमा कुनै सुधार आएन’, भनिन्। डाक्टरलाई अन्तै रिफर गरिदिन आग्रह गरिन्। ठीक हुन्छ भन्दै रिफर गरिदिएनन्। उनको शरीर दिनप्रतिदिन एकदमै कमजोर हुँदै गइरहेको थियो।
‘स्तन, आँखा, लिभर, मेरुदण्ड हुँदै ब्रेनसम्मै क्यान्सर फैलिसकेछ। त्यतिबेलासम्म क्यान्सर भएको भन्ने नै भएन। न त उपचारमा संलग्न डाक्टरलाई नै क्यान्सर भएको थाहा थियो’, उनले भनिन्। ग्रान्डी अस्पतालका डा. राजु पौडेलले पाँच दिनको औषधि दिएर पोखरा पठाए। औषधि खाँदा पनि सञ्चो भएन। शरीरको देब्रे भाग पूरै नीलो भयो। ‘डाक्टरलाई फोन गरें। उनले तुरुन्त फेरि काठमाडौं आउनुस् भनेपछि आफन्तसहित अस्पताल पुगें’, उनले भनिन्। डा. राजुसँग यहाँ सञ्चो नहुने र अन्तै रिफर गरिदिन सुझाएपछि उनले भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा नसाको डाक्टरलाई रिफर गरे।
दिल्लीमा आठौं डाक्टरले मात्र रोग पत्ता लगाए
‘त्यसपछि दिल्ली गएँ। नसाको डाक्टरलाई देखाएँ, केही पत्तो लागेन। पछि त्यहाँ पालैपालो ८ जना डाक्टरसँग चेकजाँच गरेकी थिएँ’, उनले भनिन्। उपचारको आशा मारिसकेकी लक्ष्मीलाई आठौं डाक्टरसँग चेक गर्ने क्रममा ती डाक्टरले मेमोग्राफी बायोप्सी गर्न सुझाए, लक्ष्मीले त्यसै गरिन्। मेमोग्राफी बायोप्सी गरेपछि उनलाई पाँच ठाउँमा क्यान्सर भएको पत्ता लाग्यो। डाक्टरले लक्ष्मीलाई बाहिर पठाएर उनका आफन्तलाई भनेछन्, ‘सरी, आपका पेसेन्टको क्यान्सर फोर्थ स्टेजमे है। हम कुछ नही कर सकते। आप प्यासेन्टको अमेरिका ले जाएगे तो भी ठीक नही होगा।’ (तपाईंको बिरामीको क्यान्सर चौथो चरणमा पुगिसकेको छ। त्यसैले हामी केही गर्न सक्दैनौं। अमेरिका उपचार गर्न लग्नुभयो भने पनि ठीक हुन सक्दैन।)
डाक्टरसँग सबै बुझेर भाउजू बाहिर निस्केपछि लक्ष्मीले सोधिन्, ‘डाक्टरले के भने ?’ भाउजूले भनिन्, ‘नआत्तिनु निको हुन्छ भन्नुभयो।’ भाउजूले ढाँट्नु भए पनि आफूले डाक्टरले भाउजूसँग गरेका कुरा बाहिरबाटै सबै सुनिसकेको उनले बताइन्। ‘डाक्टरले भनेअनुसार मैले आफूलाई क्यान्सर भएको पक्का गरिसकेकी थिएँ। त्यो पनि चौथौं चरणको क्यान्सर भइसकेको रहेछ’, उनले भनिन्।
दिल्लीका डाक्टरले दुई महिनाको समय दिए
दिल्लीमा डाक्टरले क्यान्सर निको नहुने र दुई महिनाको समय मात्र दिएपछि लक्ष्मीले छोरा सम्झिइन्। होस उड्यो, छाँगाबाट खसेजस्तै भएँ। अस्पतालको १० तलामाथि थियौं, त्यहींबाट खसौंला जस्तो भयो। हातखुट्टा लुला भए तर हिम्मत हारिनँ। आफूलाई सम्हालें। अस्पतालबाट निस्केपछि एउटा मन्दिर देखें। मन्दिरमा धाँगो बाँधें। भगवान् पुकारे, मेरो छोरालाई मसँग नछुटाऊ। निकैबेर रोएँ’, लक्ष्मीले विगत सुनाइन्।
अर्कोदिन डाक्टरसँग केही विकल्प छ कि भनेर फेरि भेट गर्न गयौं। डाक्टरले ६५ लाख भारतीय रुपैयाँमा ‘रिस्क लिने भए’ अप्रेसन गर्न सकिने बताए। मैले भने, ‘फिक्स छ भने गर्छु, रिस्कमा त गर्दिनँ भनें।’ ६५ लाख जोगिए बरु छोरालाई काम लाग्ला भनेर नेपाल फर्किएँ। काठमाडौ आएपछि अन्तिम भेट भन्दै सबै आफन्तहरू भेट्न आउँथे, रुन्थें। मनलाई दह्रो बनाउँदै आफन्तलाई भन्थें, ‘म ठीक छु। केही हुँदैन।’ ग्रान्डी अस्पतालकै लापरवाहीका कारण क्यान्सरको अन्तिम अवस्थामा पुगेकी लक्ष्मी पुनः अस्पताल पुगेर डाक्टरलाई भेटेर भनिन्, ‘मेरो उपचारमा जस्तो लापरबाही अरूलाई नगर्नु होला। डाक्टरहरूले पनि गल्ती महसुस गरेका थिए।’ उनको दिनचर्या आफन्तसँगको भेटघाटमै चलिरहेको थियो। आफन्तले उनी बाँच्ने आशा मारिसकेका थिए। तर, लक्ष्मीले त्यो हिम्मत हारेकी थिइनन्। बाँच्ने रहरसँगै झिनो आशा बोकेकी उनी उपचारको खोजीमै थिइन्।
जब डा. अधिकारी देउता बने
दिल्लीबाट फर्केपछि उपचारमा भौतारिरहेकी लक्ष्मीको भेट भक्तपुर क्यान्सर अस्पतालका डाक्टर आविश अधिकारीसँग भयो। डा. अधिकारी नै लक्ष्मीको जीवनमा भगवान् बनेर आए। लक्ष्मीले भनिन्, ‘म उहाँसँग रोएँ। मलाई दिल्लीबाट फर्कायो, मेरो १५ वर्षको छोरा छ। श्रीमान् विदेशमा दोस्रो बिहे गरेर बसेका छन्। छोरा टुहुरो हुन्छ, जसरी पनि उपचार गरिदिनुस् प्लिज भनेर धेरै रोएँ।’ अधिकारीले भने, ‘तपाईंलाई दिल्लीबाट फर्काइदियो, यहाँ म कसरी उपचार गर्न सक्छु ?’ कहाँबाट सुरु गरौं, कसरी गरौं ?’
अधिकारीलाई लक्ष्मीले नै उपचार गर्न कर गरिन्। आफ्नो उपचार गर्न डाक्टरलाई आत्मबल दिइन्। ‘त्यसपछि उहाँले मेरो उपचार गर्न तयार हुनुभयो’, लक्ष्मीले भनिन्, ‘मेरो ट्युमर पनि भएकाले डाक्टर अन्योलमा पर्नुभयो। रेडिएसनबाट सुरु गर्नुभयो। रेडिएसन मेसिनमा पस्दा हे भगवान् छोरासँग अलग नगराऊ भन्दै प्रार्थना गर्थें।’
लक्ष्मीको उपचार सम्भव हुनेमा डाक्टर नै विश्वस्त थिएनन्। ‘डाक्टरहरूलाई त उपचार होला भन्ने आसै थिएन’, लक्ष्मीले भनिन्, ‘उनीहरूले त मेरो दबाबमा मात्र उपचार गरेका थिए।’ रेडिएसन गरेपछि लक्ष्मीको शरीरको नीलो भएर चल्न छाडेको भाग चल्दै गयो। डाक्टर छक्क पर्न थाले। ‘त्यसपछि बाँच्छु जस्तो लाग्यो’, लक्ष्मीले भनिन्, ‘आत्मबल बढ्दै गयो।’
त्यसपछि लक्ष्मीको तीलगंगामा आँखाको अप्रेसन गर्ने सल्लाह भयो। पाँच ठाउँमा क्यान्सर भएको छ। एउटा आँखामा मात्र के अप्रेसन गर्ने ? भनेर त्यसै फर्काइदिए। ‘आँखा छोपेर हिँड्दा कम्ती गाह्रो भएन’, उनले भनिन्, ‘आँखाको अप्रेसन गरेको थियो भने म बाँच्ने थिइनँ। योगा गरेर आँखा ठीक गराएँ। कुनातिर गएको नानी पनि मेरो दृढ विश्वासका कारण फर्काएँ। अहिले जस्ताको त्यस्तै छ।’ त्यसपछि एफएम रेडियोमा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्रचार सुनेपछि लक्ष्मी थप उपचारका लागि लक्ष्मी त्यहाँ पुगिन्।
‘त्यहाँ धेरै राम्रो उपचार भयो। सम्बन्धित डाक्टरलाई देखाएँ। १० पटक रेडिएसन भयो’, लक्ष्मीले भनिन्, ‘धेरै पटक किमो चढाइयो।’ झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले पनि लक्ष्मीको उपचारमा सहयोग गर्यो। उपचारका केही छुट पनि पाइन्। ‘चारवटा ठाउँको क्यान्सर जितेकी छु’, लक्ष्मीले भनिन्, ‘मेरुदण्डमा क्यान्सरका १० वटा ससाना दाग छन्।’
लक्ष्मीले अहिलेसम्म लगभग ६० पटक किमो चढाइसकेकी छन्। पहिला पहिला किमो लिएपछि उनलाई ७ दिन हिँडडुल गर्न कठिन हुन्थ्यो। उनी भन्छिन्, ‘पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. वीरेन्द्र कुमारले दिमागको क्यान्सर जित्नु भनेको निकै ठूलो जित भएको भन्दै बधाई दिएका थिए।’
उपचार साह्रै महँगो
लक्ष्मीलाई महिनामा दुईवटा किमो दिनुपर्छ। दुईवटा किमोको ६० हजार रुपैयाँ पर्छ। एउटा किमोको ‘इन्जेक्सन’लाई थप १५ हजार पर्छ। औषधिसहित महिनामा एक लाख खर्च छ उनको। उनको ढाका कपडाको व्यवसाय छ। त्यसबाट घरखर्च धानेकी छन्। छोरालाई अध्ययनका लागि जापान पठाएकी छन्। छोराले ‘ममी म छु नि’ भन्दै लक्ष्मीलाई साथ दिने गरेका छन्।
‘मैले संसारकै नमुना छोरा पाएको छु’, लक्ष्मीले भनिन्, ‘सबै कुराबाट हारे पनि सन्तानबाट जितेको छु।’ ग्रान्डीमा मात्र लाखौं रुपैयाँ सकिएको उनले बताइन्। उनी परोपकार काम पनि गर्छिन्। ‘बाँच्न पाउँदा संसारकै भाग्यमानी ठानेकी छु’, उनले भनिन्, ‘सम्पत्ति मात्रै ठूलो कुरो रहेनछ।’
‘८४ गर्ने मन छ’
लक्ष्मीलाई ८४ गर्ने मन छ। ‘संसारको कुनै शक्तिसँग डर लाग्न छोडेको छ’, उनले भनिन्, ‘डाक्टरले दुई महिना मात्रै बाँच्ने भनेका थिए। चार वर्ष भइसकेको छ, बाँचिरा’छु।’ डा. आविश अधिकारीलाई कहिल्यै नभुल्ने उनले बताइन्। ‘उहाँ मेरो भगवान् हो। आफ्नै जिन्दगी देख्दा आफैंं चकित छु’, उनी पुनः विगतमा फर्किइन्, ‘दुई महिनामा मर्दैछु भनेको सुन्दा मलाई कस्तो भयो होला ? एक्लै बर्बराउँथें। दैवले कसरी लैजान्छ ? हेरौंला भन्दै मृत्युलाई चुनौती दिएँ।’ लक्ष्मीले क्यान्सरपीडित थुप्रैलाई आत्मबल बढाएकी छन्।
डा. अधिकारी भन्छन्– खुसीको सीमा छैन
‘ह्वील चेयर’मा आएकी लक्ष्मीलाई उपचार गरेर बचाउन पाउँदा खुसी लागेको डाक्टर अधिकारी बताउँछन्। ‘स्तनबाट सुरु भएको क्यान्सर पाँच ठाउँमा फैलिएको थियो’, उनले भने, ‘जीवनको आशा मारेर दिल्लीबाट फर्किएर आएकी लक्ष्मीलाई ठूलो जोखिम मोलेर उपचार गर्यौं।’ जटिल केसहरू एकदमै कम हुने गरेको र बाँच्ने सम्भावना पनि निकै कम हुने डा. अधिकारीको भनाइ छ।