मधेश प्रदेश : जहाँ सजिलै पाइन्छ लाइसेन्स !
महोत्तरी (बर्दिबास) : राजमार्गमा रफतारमा गाडी हुँकिदै छ । नजिकै गाडीहरु भीड छ । त्यहाँ छ यातायात कार्यालय । भित्र थोरै कर्मचारी देखिन्छन् । सेवाग्राहीको लाइन छ। सेवा लिएर कोही फर्किदैछन् त कोही आउँदै । बर्दिबास–१४ का सुदीप दाहाल त्यहीँ भीडबाट लाइसेन्स बोकेर बाहिर निस्किए । उनले चार दिनमा लाइसेन्स पाएका थिए । छोटो समयमै मोटरसाइकलको चालक अनुमतिपत्र लिएर दंग थिए । ‘सुन्थें दलाललाई पैसा नखुवाई लाइसेन्स बन्दैन । तर, मैले कसैलाई एक पैसा दिनु परेन । सजिलै काम बन्यो,’ उनी भन्छन्, ‘यहाँ कसैलाई काखापाखा गरिने नरहेछ । ट्रायल पास गरेर तत्कालै लाइसेन्स पाइयो ।'
पछिल्लो समय प्रक्रियागत झन्झटले एक साताभित्रै लाइसेन्स पाउने कुरा सहज छैन । तर, मधेश प्रदेशस्थित महोत्तरीको बर्दिबासबाट यातायात व्यवस्था सेवा कार्यालय पुग्दा साँच्चै सेवाग्राही दंग पर्छन् । यहाँ दैनिक पाँच सय सेवाग्राही आउँछन् । कोही सवारी नामसारी गराउन, कोही लाइसेन्स लिन त कोही ब्लूबुक नवीकरण गराउन आउँछन् । यस्तै काम लिएर आउने सेवाग्राहीको भीड हुन्छ । उनीहरुको काम १३ जना कर्मचारीले सहजै गरेर पठाउँछन् । बिहानै ६ बजेदेखि साँझसम्म उनीहरु खट्छन् ।
बर्दिबासका सुदीप मात्रै होइन् काठमाडौंकी निशा श्रेष्ठले बिना झण्झट कार चलाउने लाइसेन्स पाइन् । सुदीप र निशाले मात्रै होइन चालु आर्थिक वर्षको ७ महिनामा ९ हजार ४० जनालाई साना/ठूला सवारीको सवारी चालक अनुमतिपत्र वितरण गरिएको लाइसेन्स फाँट प्रमुख शशी यादव बताउँछन् । दुई हजार १ सय ८१ जनाको लाइसेन्स नवीकरण गरिएको तथ्यांक छ ।
यहाँबाट २०७५ सालदेखि सवारी चालक अनुमतिपत्र वितरण गर्न थालिएको हो । २०७७/०७८ मा २ हजार २ सय ९ जनालाई नयाँ लाइसेन्स वितरण गरिएको थियो भने २ हजार ९ सय २० जनाको सवारी चालक अनुमति पत्र नवीकरण गरिएको थियो । त्यसैगरी २०७६/०७७ मा ३ हजार ५० जनालाई नयाँ लाइसेन्स वितरण गरियो । २०७९ सालबाट यातायात व्यवस्था विभागले नेपालबाट कागजको लाइसेन्स विस्थापित गर्दैछ ।
लाइसेन्स लिन निकै झण्झट छ । सेवाग्राहीलाई बिचौलिया लगाएर सेवा लिनुपर्ने बाध्यता छ । देशभर प्राय: अवस्था झन्झटिलो छ । तर, यातायात कार्यालय बर्दिबास पुग्दा सरकारी कार्यालय फेरिएको अनुभूति गराएको सिन्धुलीका राम कुमार श्रेष्ठ बताउँछन् ।
'हामी लाइसेन्स दिन कुराउँदैनौं । आज बायोमेट्री लिएर भोलिपल्टै लिखित परीक्षा लिन्छौं । सम्भव भएसम्म त्यही दिन ट्रायल लिएर अर्को दिन अस्थायी लाइसेन्स दिइसक्छौं,’ लाइसेन्स फाँट प्रमुख यादव भन्छन्, ‘तीनदेखि सात दिनभित्रै ट्रायल पास गर्ने सेवाग्राहीको हातमा लाइसेन्स दिइसक्छौं ।’ यातायात विभागको सर्भर डाउन हुँदा सेवा दिन कहिलेकाही भने समस्या हुने गरेको उनको भनाइ छ ।
पहिला ट्रायल पास गरेको रसिद देखाए सवारी गुडाइन्थ्यो । दुई वर्षपछि बल्ल लाइसेन्स पाइनथ्यो । अब त्यो अन्त्य भएको छ । ट्रायल पास गर्नासाथ एक वर्षका लागि क्यूआर कोर्डसहितको पीभीसी कार्ड (अस्थायी लाइसेन्स) उपलब्ध गराइन्छ ।
अस्थायी लाइसेन्स पाएर आम सेवाग्राही खुसी छन् । ‘कानुनबमोजिम अस्थायी लाइसेन्स दिन्छौं । पाँच पटक गल्ती गरे लाइसेन्स रद्ध हुन्छ । ट्राफिक प्रहरीको सिफारिसमा ६ महिना निलम्ब गरेर नयाँ प्रक्रियाबाट लाइसेन्स दिनुपर्छ । तर, लाइसेन्स खारिज गर्नुपर्ने अवस्था आएको छैन,’ कार्यालय प्रमुख पोषण थापा भन्छन्, ‘एक वर्षको परीक्षणकालपछि स्थायी लाइसेन्स दिन्छौं ।’
यो कार्यालय १७ मंसिर २०७१ सालमा बर्दिबासमा स्थाना भएको थियो । त्यतिखेर अस्थायी बाटो इजाजत पत्र (पटके) दिन्थ्यो । ७ वर्ष नबित्दै यहाँ यातायातका सबै सेवा पाइन्छ । यो मधेश प्रदेशकै सबैभन्दा कान्छो तर प्रशंसा बटुलेको कार्यालयको सूचीमा पर्छ।
सवारी दर्ता फाँटका प्रमुख संजित चौलागाईका अनुसार सेवालाई डिजिटल बनाइदिँदै लगिएको छ । ढड्डाको विवरणलाई सर्भरमा इन्ट्री गरिएको छ । साउनदेखि सवारी दर्तालाई अनलाइन प्रणालीमा लगिएको छ । यो प्रणालीमा काम गर्ने देशभरका यातायात कार्यालयमध्ये दोस्रोमा पर्छ ।
चालु आर्थिक वर्षमा ३ हजार ५ सय ३५ सवारी दर्ता गरेर २३ लाख ९२ हजार ८ सय कर संकलन गरिएको उनले बताए । 'प्रत्येक वर्ष नयाँ सेवा र सिस्टम लिएर आएका छौं । अगामी वर्ष अनलाइनबाटै कर तिर्ने सिस्टम लागु गर्ने योजनामा छौं । यसका लागि सर्भर अपडेट गरिसकेका छौं,’ उनी भन्छन्, ‘सवारी दर्ता सम्बन्धी नयाँ कोर्ड जारी भएको छ । मधेश प्रदेश ०४ हाम्रो कार्यालयको सवारी कोड नम्बर छ ।'
गुणस्तरीय सेवा र छिटोछरितो सेवाले बाहिरी जिल्लाबाट सेवा लिनेहरुको संख्या बढेको कर्मचारी बताउँछन् । लाखबाट कर संकलन थालेको यो कार्यालयले करोडौंसम्म पुर्याएको छ । कार्यालयका लेखापाल मेघलाल योञ्जनकाअनुसार चालु आर्थिक बर्षमा १२ करोड ८७ लाख राजस्व संकलन गरेको छ भने २५ करोड संकलन गर्ने लक्ष्य लिएको छ । स्थापनाको वर्ष ७ लाख ५९ हजार ४ सय मात्रै संकलन गरेको थियो ।
कार्यालयका सूचना अधिकारी दिलीप थापाका अनुसार कार्यसम्पादन प्रभावकारी बनाउन प्रत्येक वर्ष उत्कृष्ट कर्मचारी घोषण गरिन्छ। उनको फोटो कार्यालय गेटमा झुण्डियाइन्छ। प्रत्येक दिन बिहान र साँझ कामको समीक्षा गरिन्छ र त्रुटिलाई सच्चाइन्छ।
निकट वर्षमै व्यवस्था सेवा कार्यालयबाट मूल कार्यालयको रुपमा स्तरोन्नति हुन लागेको छ । कार्यालयले आफ्नै भवन बनाउने तयारी गरेको छ । बर्दिबास नगरपालिकाले रातु खोलानजिकै भवन बनाउन २ बिघा जग्गा उपलब्ध गराएको छ । जहाँ सुविधासम्पन्न संरचना बनाउन मधेश प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।
काम गर्ने इच्छा शक्ति भयो भने सरकारी सेवालाई गुणस्तरीय र विश्वासनीय बनाउन सकिने कार्यालय प्रमुख थापा बताउँछन् । ‘हामी स्थापना कालदेखि नै जुझारु रुपले काम गर्दै आएका छौं । सीमित जनशक्तिले असीमित सेवा प्रवाह गछौं,’ उनी भन्छन्, ‘सेवाग्राहीको गुनासोलाई सहज रुपमा सुन्छौं । उहाँको राम्रो सल्लाहलाई नोट गरेर तत्कालै सुधार गर्नेतिर लाग्छौं । दिन सक्ने सेवालाई सम्बोधन गर्छौं ।’
प्रवाह भएको सेवाबाट आफूहरुलाई पनि घर फर्किने बेला सन्तुष्टि प्राप्त हुनेको गरेको उनी सुनाउँछन् । ‘चुनौती स्वीकार गर्नु पर्छ । नयाँ कामका लागि सबै मिलेर प्रयास गर्नु पर्छ । केही न केही सफलता पक्कै पाइन्छ,’ उनी भन्छन् ।