मुख्यमन्त्री कार्यालयअघि कालो बेलुन उडाउने तीनजना पक्राउ
पोखरा : एमालेको भातृ संगठन युवा संघले आइतबार मध्यान्न गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय अघि कालो बेलुन उडाएको छ । त्यसक्रममा ३ जना पक्राउ परेका छन् । फोटो पत्रकार सञ्जय शाक्य, हरि अधिकारी र छिरिङ फोन्चुक ठकुरी पक्राउ परेका हुन् ।
संघको केन्द्रीय सर्कुलरअनुसार कालो बेलुन उडाइएको संघका केन्द्रीय सचिवसमेत रहेको गण्डकी अध्यक्ष महेन्द्र गुरुङले जानकारी दिए । युवा संघ गण्डकी, कास्की र केन्द्रका प्रतिनिधिहरुले कालो बेलुन उडाएका थिए । कालो बेलुन उडाएर उनीहरु प्रहरीबाट उम्कन सफल भएपनि फोटो पत्रकार शाक्यसहित ३ जना भने पक्राउ परेका हुन् ।
कालो बेलुन उडाउँदै युवाहरुले मूल्यवृद्धि फिर्ता गरलगायत नारा लगाएका थिए । ३ दिनअघि मात्रै युवा संघले पोखरामा मूल्यवृद्धिकै विरुद्ध गाडि डोरीले तान्ने र मोटरसाइकल घचेट्ने गर्दै विरोध प्रदर्शन गरेका थियो ।