क्षतिपूर्तिको माग गर्दै इँटा व्यवसायीले बुझायो प्रजिअलाई ज्ञापनपत्र
मलंगवा : बेमौसी झरीका कारण काँचो इँटा गलेको भन्दै क्षतिपूर्तिको माग गर्दै सर्लाही इँटा उद्योग व्यवसायी संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाही पुगेर इँटा व्यवसायीहरु प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाएका छन् । गत शुक्रबार र शनिबार गरी दुई दिन परेको बेमौसी झरीका कारण सर्लाहीमा करिब ११ करोड काँचो इँटा गलेर नष्ट भएको थियो ।
मलंगवामा बसेको व्यवसायीहरुको बैठकले ५ सुत्रीय माग राख्दै प्रजिअलाई ज्ञापनपत्र बुझाएका छन् । संघका सचिव भगवान मैनालीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बेमौसमी वर्षाको कारण इँटा उद्योगमा भएको क्षतिको यकिन गरी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, गैर कानुनीरुपले संचालनमा रहेको चेदरा भटाहरु यथासिघ्र बन्द गरियोस् वा कानुनी दायरामा ल्याउनुपर्ने, कच्चा इँटाको बिमा गर्न बिमा गर्न बिमा कम्पनी तथा उद्योगीहरुको बीचमा सहजीकरण गरियोस्, कर मिन्हा गर्न सिफारिस गरियोस् र सहुलीयत ब्याज दरमा बैंक ऋणको व्यवस्था गरियोस् आदि विषय उल्लेख गरिएको छ ।
बेमौसिम झरीका कारण जिल्लामा रहेको ९३ वटा उद्योगमा करिब ११ करोड काँचो इँटा गलेर नष्ट भएको संघका अध्यक्ष मेथुर चौधरीले बताएका छन् । एउटा काँचो इँटा तयार गर्न ३ रुपैया खर्च हुन्छ । यसरी हिसाब गर्दा जिल्लामा करिब इँटा व्यवसायीहरुको ३३ करोड रुपैयाको नोक्सान भएको अध्यक्ष चौधरीले बताएका छन् ।
अहिले इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । सानो पूँजी भएको उद्योगीको उठिबास हुने अवस्था छ । घर जग्गा बेच्नु पर्ने अवस्थामा उद्योगीहरु पुगेको अध्यक्ष चौधरीले बताए । जिल्लामा रहेको इँटा उद्योग बन्द भयो भने करिब २७ हजार ९ सय जना बेरोजगार हुने संघका सचिव भगवान मैनालीले बताए । एउटा उद्योगमा सरदर ३ सयका दरले मानिसहरुले रोजगारी पाएका छन् । झरीले गर्दा उद्योगी र रोजगारी पाएको सबैको अवस्था दयनीय हुने मैनालीले बताए ।
बेमौसिम झरीले गर्दा इँटा व्यवसायी धरापमा परेको इँटा व्यवसायी लाल बिहारी यादवले बताए । सुरुमा वा अन्त्यमा पानी परेको भए यति धेरै क्षति हुदैन्थ्यो । बीचमा पानी पर्दा बढी क्षति भएको यादवले बताए ।
पन्ध्र दिनको फरकमा दुई चोटी पानी परेको छ । जसले गर्दा जिल्लामा निकै क्षति भएको यादवले बताए । अधिकांश उद्योगी बैंक वा साहु महाजनसंग ऋण लिएर व्यवसाय गरेका छन् । हरेक उद्योगमा ४०/५० लाखको क्षति भएको छ ।
अब कसरी ऋण तिर्ने र उद्योग संचालन गर्ने भन्ने चिन्ताले सताउन थालेको यादवले बताए । बेमौसमी झरीले उद्योगीलाई उठिबास बनाएको छ । राज्यले क्षतिपूर्तिको व्यवस्था गर्यो भने केही राहत हुने यादवले बताए ।