शंकास्पद हत्यामा ‘फितलो अनुसन्धान’

शंकास्पद हत्यामा ‘फितलो अनुसन्धान’

जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पती हत्याकाण्डमा प्रहरीको फितलो अनुसन्धानका कारण हत्यामा संलग्न नरहेका व्यक्ति दोषी बनी सजाय पाइरहेको आरोप लगाइएको छ। 

गत वर्ष फागुन ११ गते पिपरा—५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झा घरबाटै बेपत्ता भएका थिए। उनीहरूको शव चैत १२ गते पिपरा—२ अतरातमा पुरिएको अवस्थामा फेला परेको थियो। वृद्ध दम्पतीको शव भेटिएपछि प्रहरीले सात जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो। हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको भनेर जिल्ला अदालतको निर्णयलाई सदर गर्दै उच्च अदालतले पिपरा—५ का कैलाश झा, सोही ठाउँका ५२ वर्षीय रामबाबु यादव र भारत बिहारको मधुवनी घर भएका ५० वर्षीय हरेन्द्र ठाकुरलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको थियो। तर, हत्याकाण्डमा आरोपित भनिएकाहरूमध्ये बिहारको मधुवनी घर भएका ५० वर्षीय हरेन्द्र ठाकुरको परिवारले घटनामा जबरजस्ती प्रहरीले ठाकुरलाई फसाउन खोजेको आरोप लगाएको छ। 

ठाकुर जग्गा व्यापारी हुन्। उनले महोत्तरीको बिन्हीमा करिब १५ बिघा जग्गा प्लटिङ गरी राजर्षी नगर नै बनाएका छन्। जग्गाकै विषयलाई लिएर विवाद हुँदा उनले मुसाफिर दम्पतीको हत्या गराएको प्रहरीको अनुसन्धानमा भनिएको छ। ठाकुरकी पत्नी रेणु ठाकुर र छोरा केशवकुमार ठाकुरले सोमबार हत्याको मुख्य कारण भनिएका मृतक मुसाफिर झाको विवादित जग्गा भएकै ठाउँमा पत्रकार सम्मेलनको आयोजना गरेर हरेन्द्र निर्दोश रहेको दाबी गरे। ‘जुन जग्गा खरिद गर्न मुसाफिर झालाई मेरो बुवाले दबाब दिएका थिए भनी प्रचार–प्रसार गरिएको छ त्यो जग्गा किन्नु बुवाका लागि आवश्यक नै थिएन,’ आरोपित हरेन्द्र ठाकुरका छोरा केशवले भने, ‘घडेरीको जग्गासम्म पुग्न झाको ४ कठ्ठा १३ धुर १२ कन्मा जग्गा बाटोमा पर्छ। त्यही बेच्न नमानेपछि मेरा बुवाले उनको हत्या गराएको भ्रामक प्रचार भएको छ। यो घडेरी नै होइन पोखरी हो। यहाँ पुग्न झाको मात्रै नभई अन्य ५ जनाको खेत किन्दा मात्रै बाटो निस्कन्छ। त्यसैले प्रहरीले बिना अनुसन्धान उनलाई फसाएको प्रष्ट हुन्छ।’

मृतक दम्पतीकै नातामा भतिजो पर्ने सोही ठाउँका कैलाश झाले मुसाफिर र गिताको हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। झाको घरमा हत्या गरी शव एक महिनासम्म लुकाइएको थियो र पछि हत्यामा संलग्नता खुल्ने डरले शव अन्यत्र सारेपछि उनी पक्राउ परेका थिए। 

कैलाश झाको घरबाट प्रहरीले शव लुकाएर राखेको जस्तापाताको ट्रंक र अन्य प्रमाणहरू बरामद गरेको थियो। कैलाशले प्रहरीलाई दिएको बयानमा आफूलाई जग्गा व्यापारी हरेन्द्रले मुसाफिरको जग्गा बेच्न लगायो भने २ करोड रुपैयाँ दिने प्रलोभन दिएको उल्लेख छ। ठाकुरकै प्रलोभनमा आएर आफूले मुसाफिर झाको हत्या गर्ने निधो गरेको र त्यसका लागि उनको जेठी बुहारी अंशु झालाई नशा लाग्ने औषधि किनेर एक दिन अगाडि नै दिएको कैलाशले प्रहरीलाई बताएका छन्। अंशुले सो औषधि खानामा मिलाएर परिवारका सबैलाई खुवाएकी थिइन्। पछि मुसाफिर र गीता बेहोस भएपछि कैलाशले आफ्नो घरमा लगेर हत्या गरेको बयानमा भनिएको छ। 

कैलाशको बयानबाट हत्याको साझेदार मृतकको बुहारी अंशु झा देखिए पनि जिल्ला अदालत महोत्तरीले उनलाई ५० हजार धरौटीमा छाडिसकेको छ। त्यसैगरी शवसँगै एक महिना एउटै घरमा बसेका आरोपित कैलाश झाकी आमा तारादेवीलाई पनि दुई लाख धरौटीमा छाडिएको छ। अन्य आरोपीहरू सुरेन्द्र यादव र राजेन्द्र यादवलाई जनही पाँच लाख र बब्लु झालाई दुई लाख धरौटीमा ४ पुसमा न्यायाधीशद्वय शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले छाडेको छ। 

‘प्रहरीले घटनामा सूक्ष्म अनुसन्धान नै नगरी सबुत प्रमाणलाई नजरअन्दाज गर्दै प्रतिवादी हरेन्द्र ठाकुरलाई आरोपित बनाएको छ,’ पत्रकार सम्मेलनमा बोल्दै अधिवक्ता देवेन्द्र ठाकुर निरालाले भने, ‘हत्याका मुख्य अभियुक्तले दिएको बयानलाई नै आधार मान्ने हो भने अनुसन्धान अझ सशक्त हुनुपथ्र्यो तर, प्रहरी फाइल बन्द गर्नेतर्फ लागेको छ।’
महोत्तरी प्रहरीका एसपी दिनेश आचार्यले प्रहरी अनुसन्धान कुनैपनि हालतमा फितलो नरहेको दाबी गरे। उनले भने, ‘हामीले पूर्ण अनुसन्धान गरेका छौं। हत्या गर्ने मुख्य अभियुक्त कैलाशको बयानका आधारमा मात्र नभई साक्षी प्रमाणका आधारमा अन्य आरोपीलाई पक्राउ गरिएकाले प्रहरी अनुसन्धान फितलो हुँदै होइन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.