समृद्धिको यात्रा, बैंकको बाटो
बैंकिङ अरू व्यवसायहरू जस्तो नाफा मात्रै आर्जन गर्ने व्यवसाय होइन्। यसमा विश्वभर नयाँनयाँ अवधारणा लागू भएका छन्। यसले नाफा मात्रै नभएर सामाजिक उत्तरदायित्व, उद्यमशीलता, वित्तीय साक्षरता र आर्थिक वृद्धि गर्छ। आर्थिक सन्तुलन र पर्यावरण संरक्षणसम्मलाई पनि ध्यान दिनुपर्छ भन्न थालिएको छ। त्यही खालको अभ्यास लागू भइरहेका छन्।
त्यसले गर्दा अन्यन्त्र बैंकिङलाई उच्च सम्मानपूर्वक हेरिन थालिएको छ। खासगरी युरोप, अमेरिका, चाइनासम्म पनि बैंकहरूको ब्याजदर अत्यन्त न्यून हुने गरेका छन्। तर, नेपालमा दोहोरो अंकको ब्याजदरको मारबाट उद्योगी–व्यवसायीले कहिल्यै उन्मुक्ति पाएका छैनन्। त्यसैले पनि बैंकहरूलाई आधुनिक सुदखोर भनिने गरिएको छ। जति सफाचट र सिस्टममा चलेको भए पनि समाजमा बैंकहरूको धेरै नै आलोचना हुने गरेको छ।
जे जस्ता महामारी आए पनि बैंकहरूको नाफा वृद्धि भएकै छ। तर, उद्योगी व्यवसायीहरू भने मारमा परिरहेका छन्। हरेश खाइरहेका छन्। पलायन भइरहेका छन्। उद्यमशीलता व्यक्ति भित्रै मरिरहेको छ। सत्य कुरा लेख्दा आलोचना वा खिस्सीटिउरी व्यहोर्नु परिरहेको छ।
चालू आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरूले ३४ अर्ब २० करोडभन्दा बढी नाफा गरेका छन्। ग्लोबल आईएमई, एनआईसी र नबिल बैंकको नाफा त ६ महिनामै क्रमशः २ अर्ब ६६ करोड, २ अर्ब ४० करोड र २ अर्ब १८ करोड रहेको छ। एक वर्षमा त यी बैंकले नाफा ठ्याक्कै दोब्बर बनाएका हुन्छन्। अरू बैंकहरूको पनि नाफा उत्तिकै छन्।
एकातिर उद्यमी व्यवसायीहरू महामारीका कारण रक्षात्मक अवस्थामा छन्। अर्कोतिर बैंक तथा वित्तीय संस्थाहरूको बर्सेनि अचाक्ली नाफा बढिरहेको छ। के यसले व्यावसायिक वातावरणमा सन्तुलन पैदा गर्ला ? यसको सामाजिक प्रभाव कस्तो रहँला ? हिजो आज मानिसहरू कुन व्यवसाय गर्ने, के गर्ने सोच्लान् तर बैंकबाट ऋण लिँदा १० चोटी सोच्न थालेका छन्। वास्तवमा यसले दीर्घकालीन रूपमा बैंकहरूलाई बेफाइदा गर्ने हो। तर त्यो उनीहरूले कहाँ सोच्छन् ?
बैंकहरूले व्यवसायको दायरा पो बढाउनुपर्ने हो। तर बढी नाफा आर्जन गर्ने मात्रैको सोच स्थापित हुँदैछ। वास्तवमा अल्पकालीन रूपमा नाफा अधिकतम दृष्टिकोण नै गलत हो। तर उनीहरूले त्यसलाई सफलता वा सक्षमताको रूपमा लिएका छन्।
उद्यमशीलता
निजी क्षेत्रका कलेज तथा बैंक–वित्तीय संस्थाले उद्यमशीलता अभिवृद्धि गर्न सशक्त भूमिका खेल्न सक्छन्। तर त्यसको प्रभावकारी पहल उनीहरूले गरेका देखिँदैनन्। राज्यलाई त टाउको दुखाइको विषय भएन् उनीहरूलाई दुखोस् कसरी ? फलस्वरूप २२ लाखभन्दा बढी नेपाली युवायुवतीहरू विदेशमा सस्तोमा श्रम बेच्न बाध्य छन्।
राज्यले उमशीलतालाई प्रोत्साहन गरेको छैन। राजनीतिक दलहरू उद्यमी व्यवसायीहरूलाई पार्टी चलाउनका लागि चन्दा उठाउने स्रोतसाधन मात्रै ठानेका हुन्छन्। समाजमा उद्यमशीलता बढाउने, आर्थिक विकास गर्ने सोच उनीहरूमा कहीँ कतै देखिँदैन।
हालैको एउटा प्रसंग यहाँ अर्थपूर्ण हुन्छ। केही समय अद्धि एक व्यवसायीक समूहलाई राजनीतिक दलका कार्यकर्ताले र सुझबुझविहीन अनगिन्ती मान्छेहरूले अनाहकमा खुबै लखेटे। भलै अरूहरूले आरोप लगाएका वा कतिपय तथ्य प्रमाणले देखाएझै उक्त समूह राजनीतिक दलका नेताहरूको आडमा उचित, अनुचित सबै लाभ लिएर उद्यम चलाउने पात्र होलान्। तै पनि उनलाई त्यति विधि खेद्नु उचित थिएन। व्यवसायीको धर्म संस्कृतिको टेकोमा विस्तार भएको व्यापारमा राज्य र कर्मचारी संयन्त्रको झन् बढी दोष देखिन्छ। उनलाई किन र कसरी ठेक्कापट्टा दिने गरियो भन्नेतिर पनि खोजबिन गर्नु मिडियाको, सम्बद्ध सबै पक्षको दायित्व हो। तर, एकजना राम्रो नराम्रो जे भए पनि उद्यमीलाई त्यसरी लखेट्दा भोलि कसरी नयाँ उद्यमीहरू जन्मेलान्। त्यसको सामाजिक मनोवैज्ञानिक प्रभाव कति नराम्रो पर्ला ? मिडियाले र आम जगत्ले त्यसको हेक्का राख्न जरुरी छ। त्यसको मतलव गल्ती गर्ने उद्यमी नै किन नहोस् उसलाई कार्बाही गरिनु हुँदैन भनेको होइन। तर समग्र व्यावसायिक वातावरण खल्बलाउने हिसाबको दुष्प्रचार हुनु भने हुँदैन नै।
उद्यमी भनेको धेरै जनामा एकजना सफल भएको हुन्छ। त्यो पनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर। उद्यमीमा पैसा कमाउने र बढाउने इच्छा हँुदैनथ्यो भने उसले कसरी व्यवसाय विस्तार गर्ला ? पैसा कमाउने उद्यमीको प्रकृति वा जात नै हो। उद्यमीले पैसा कमाएकोमा समाजले डाहा गर्नु कचाचित हुँदैन। एउटा उद्यमीले पैसा मात्रै कमाइरहेको हँुदैन। उसले धेरैलाई रोजगारी दिएको हुन्छ। बैंकहरूसँग ऋण लिएर उनीहरूको आम्दानी वृद्धिमा सघाएको हुन्छ, आयात तथा निर्यात व्यापारमा सघाएर राज्यको राजस्व रकम बढाएको हुन्छ, राज्यलाई आयकर तिरेर सरकारलाई आम्दानीको स्रोत जुटाएको हुन्छ। नयाँ–नयाँ उद्योग,
कारखाना खोलेर मुलुकलाई आत्मनिर्भर, सम्बृद्ध र विकसित बनाउन उद्यमीले सघाएको हुन्छ। अनि हामी तिनै उद्यमीहरू जो मौरीजस्तो खटिरहेका हुन्छन् दिमाग खियाइरहेका हुन्छन् तिनैलाई लखेट्छौ भने देश कसरी उभो लाग्छ ? त्यसकारण उद्यमी व्यवसायी भनेका राज्यका गहना सरह हुन्। उनीहरूलाई सम्मान गर्नुपर्छ, उनीहरूलाई सहयोग गर्नुपर्छ।
उद्यमशीलता वृद्धिमा बैंकको भूमिका
जस्तो कि अहिले नेपालमा धेरै बैंक तथा वित्तीय संस्थाहरू छन्। उनीहरूले पुँजीको बागडोर सम्हालेर बसिरहेका छन्। उद्यमी व्यवसायी र उनीहरूको सम्बन्ध असाध्यै नरम र सहयोगी हुन जरुरी छ। बैंकहरूको अहिलेको बिजनेसको आकार बढाउन पनि उद्यमी व्यवसायी चाहिन्छ र उद्यमशीलता अभिवृद्धि भएर अघि बढ्न पनि बैंकहरू नै चाहिन्छन्। त्यसकारण मूलत बैंकहरूले अब आफ्नै व्यवसाय बढाउने दीर्घकालीन सोच राखेरे पनि उद्यमीहरू कसरी बढाउने भन्नेबारे कार्यक्रमहरू अघि ल्याउन सक्नुपर्छ।
केही हदसम्म राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनएमबी बैंकहरूले उद्यमशीलता अभिवृद्धिको लागि पहल सुरु गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय युवा परिषद्जस्ता संस्थाहरूसँगको सहकार्यमा नयाँ उद्यमी जन्माउने कुरामा लगानी गरिरहेको छ। एनएमबी बैंकले कृषिजस्तो देशलाई आत्मनिर्भर बनाउने, उद्यमी तथा रोजगारी बढाउने क्षेत्रमा प्राथमिकताका साथ लगानीको अगुवाइ गरिरहेको छ। नबिल बैंकले त दिगो बैंकिङको नारा नै अघि सारेको छ। उसले त्यसै नाराअन्तर्गत नयाँ उद्यमी सिर्जना गर्न र तिनैलाई लगानी गर्न वार्षिक ४० जना लाभान्वित हुनेगरी उद्यमशीलता तालिममा आधारित ‘फेलोसिप’ कार्यक्रम नै अघि सारेको छ।
भलै नबिलको कार्यक्रमको आकार सानै लाग्ला तर त्यो नवीनतम सुरुवात हो। सबै बंैकहरूले त्यस्तै सुरुवात प्रतिस्पर्धात्मक रूपमा गर्न जरुरी देखिन्छ। खाली व्यावसायिक युनिटहरूको विस्तार गर्ने, भाँडो थाप्नेमात्रै होइन। भाँडो भरिदिने विइङसको सिर्जना गर्दै लैजानुपर्छ। बंैक वित्तीय संस्थाहरूको त्यो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो।