नयाँ धान उन्मोचनको तयारी
जनकपुरधाम : थोरै मल हाल्दा पनि राम्रो उत्पादन हुने प्रजातिको धान उन्मोचनको तयारी भएको छ। पीआर १२६ नयाँ जातको धान उन्मोचन गर्ने अन्तिम तयारी भएको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका सूचना अधिकारी चेतन ज्ञवालीले बताए।
ज्ञवालीका अनुसार चीनबाट उत्पत्ति भएको पीआर १२६ धानमा कम नाइट्रोजनयुक्त मलको आवश्यकता पर्छ। ‘१ सय २५ दिनमा पाक्ने धानको बोट अन्तिम अवस्थासम्म हरियो नै हुन्छ, धानको अनुसन्धान केन्द्रमा अनुसन्धानपश्चात् नामकरणको तयारी गरिरहेका छौं। आर्थिक वर्षको सुरुआतसँगै राजपत्रमा प्रकाशित गरेर धानको नामकरण सार्वजनिक गर्छौं।’
‘अरूलाई सय केजी मलखाद्य चाहिन्छ तर पीआर १२६ लाई ८० केजी खाद्यमा पनि सय केजी मलबराबरकै मल हालेको जस्तो उत्पादन हुन्छ।’ उनले भने, ‘नाइट्रोजन कम चाहिने धानको जात पीआर १२६ लाई नेपालको विभिन्न क्षेत्रमा परीक्षण गरिसकिएको र छिट्टै उन्मोचन गर्ने प्रक्रियामा छौं।’ ८७ प्रकारको धान जातिको विकास अनुसन्धान र उन्मोचन गरिसकिएको ज्ञवालीले बताए।
उनका अनुसार धानको परीक्षण धानको पकेट क्षेत्र सुनसरी, बारा, वीरगन्ज, धनुषा, नेपालगन्ज, भैरहवा र चितवनमा तीन वर्षसम्म परीक्षण गरिएको छ। पीआर १२६ को लामो दाना, बोट हरियो र उब्जनी बढी हुने विशेषता रहेको ज्ञवालीले बताए।
६५ बिघा क्षेत्रफलमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमको करिब ३५ हेक्टर जग्गामा बिउ उत्पादन र अनुसन्धानका लागि प्रयोग गर्ने गरिएको छ। जसमध्ये २० हेक्टरमा बिउ उत्पादनका लागि र विभिन्न जातको धानको परीक्षणका लागि १५ हेक्टर प्रयोग गरिएको छ। बनिनियाँ कार्यालयमा ५० जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले ३५ जना कार्यरत छन्। त्यसमध्ये ६ जना अनुसन्धानकर्ता हुन्। पाँचजना वैज्ञानिक हुन्। प्रशासनलगायतका क्षेत्रमा कार्यरत छन्।