अमेरिकामा हरिणमा पनि ओमिक्रोन संक्रमण, भारतका विद्यालयमा हिजाब प्रतिबन्ध

अमेरिकामा हरिणमा पनि ओमिक्रोन संक्रमण, भारतका विद्यालयमा हिजाब प्रतिबन्ध

न्युयोर्क : अमेरिकामा जंगली जनावर हरिणमा पनि कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । अमेरिकाका विभिन्न १५ वटा राज्यमा सेतो पुच्छर भएको हरिणमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । 

जंगली जनावरमा पहिलोपटक ओमिक्रोन भेरियन्ट पुष्टि भएको मंगलबार प्रकाशित न्युयोर्क टाइम्समा खबर छ । कोभिडको उत्परिवर्तित भेरियन्ट जंगली जनावरमा फेला परेको अमेरिकी कृषि विभागको अनुसन्धानले पुष्टि गरेको हो । मानवबाट हरिणहरुमा ओमिक्रोन संक्रमण भएको समेत सो अध्ययनले जनाएको छ । 

सो भेरियन्ट अर्कान्सस, इलिनोइस, कन्सास, मेइन, म्यासाच्युत्स, न्यु जर्सी, न्युयोर्क, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी र भर्जिनिया लगायत १५ वटा अमेरिकी राज्यमा सेतो पुच्छर भएका हरिणमा फेला परेको बताइएको छ । 

यसअघि अनुसन्धानकर्ताहरुले सन् २०२१ को सुरुवातमा अमेरिकाको ओहायोको लोवा क्षेत्रमा एउटा हरिणमा कोरोना संक्रमण फेला परेको पत्ता लगाएका थिए । तर पछिल्लो समय डिसेम्बर देखि जनवरीमा मात्र १५ प्रतिशत हरिणमा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । १३१ वटा हरिणबाट लिइएको नमुना परिक्षणमध्ये १५ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको बताइएको छ । 

अमेरिकाले ताइवानलाई १० करोड डलरको सैन्य उपकरण बिक्री गर्दै

ताइपेई : ताइवानलाई करिब १० करोड (१ सय मिलियन) डलर बराबरको सैन्य उपकरण बिक्रि गर्ने सम्झौता अमेरिकाले स्वीकार गरेको छ । अमेरिकाले ताइवानलाई सो रकम बराबरको सैन्य उपकरण विक्रि गर्ने सम्बन्धमा सोमबार सो सम्झौता स्वीकार गरेको हो । 

अमेरिकी रक्षा विभागका अनुसार अमेरिकाले सो रकम बराबरको सैन्य उपकरण ताइवानको रक्षाका लागि उपलब्ध गराउन लागेको हो । ताइवानको सैन्य उपकरणअन्र्तगत इन्जिनियरिङ सेवा, रक्षा क्षेप्यास्त्र र प्रतिरक्षा हातहतियारहरु रहेका छन् । 

अमेरिकाले ताइवानलाई बिक्री गरेका सो सैन्य उपकरणहरुले ताइवानको सुरक्षा सुधार गर्ने अमेरिकी रक्षा विभागले जनाएको छ । अमेरिकाले उत्पादन गरेका प्रतिरक्षा क्षेप्यास्त्र र अन्य हतियारहरु बिक्रि सम्बन्धमा अमेरिकाले दिएको स्वीकृतीबारे आफुहरुलाई आधिकारीक सुचना प्राप्त भइसकेको मंगलबार ताइवानको विदेश मन्त्रालयले जनाएको छ ।  

अष्ट्रेलियाको तापक्रम एकैपटक दशकयताकै तातो र चिसो   

सिड्नी : अष्ट्रेलियाको तापक्रम एक वर्षमा एकैपटक दशकयताकै तातो र चिसो भएको छ । सन् २०२१ मा अष्ट्रेलियाको तापक्रम दशकयताकै चिसो र तातो मापन भएको हो । मंगलबार मौसमसम्बन्धी वार्षिक विवरण सार्वजनिक गर्दै अष्ट्रेलियाको मौसम विज्ञान ब्युरोले सो जानकारी दिएको हो । हावापानी र मौसम अवस्थाको लागि सन् २०२१ सबैभन्दा विपरित वर्ष भएको सो ब्युरोले जनाएको छ । 

सन् २०२१ मा अष्ट्रेलियाको हावापानी र मौसममा निकै उतारचढाव देखा परेको मौसम ब्युरोद्वारा जारी रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार अष्ट्रेलियामा गएको वर्ष ०.५६ डिग्री सेल्सियसले तापक्रम वृद्धि भएको थियो भने गएकै वर्ष सन् २०१२ यताकै चिसो वर्षको रुपमा पनि मापन भएको छ । 

भारतका विद्यालयमा हिजाब प्रतिबन्ध 

भोपाल : भारतको मध्य प्रदेशका शिक्षा मन्त्रीले विद्यालयमा हिजाब प्रतिबन्ध गराउनुपर्ने बताएका छन् । हिजाव विद्यार्थीको पोसाकअन्र्तगत नपर्ने भन्दै शिक्षा मन्त्री इनदर सिंह पार्मरले मंगलबार हिजाबमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । 

मध्य प्रदेश सरकारले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा हिजाब प्रतिबन्ध लगाउने घोषणा समेत शिक्षामन्त्री सिंहले गरेको बताइएको छ । कर्नाटकमा मुस्लिम समुदायले लगाउन हिजाब सम्बन्धमा विवाद उत्पन्न भएको सन्दर्भमा बोल्दै उनले सो बताएको हिन्दुस्तान टाइम्समा खबर छ । 

कर्नाटकस्थित युडुपी जिल्लास्थित सरकारी विद्यालयले हिजाव लगाएका मुस्लिम छात्राहरुलाई कक्षाकोठाबाट निस्कासन गरिएको थियो । त्यसको विरोधमा कर्नाटनक मुस्लिम छात्राहरुले प्रदर्शन गरिरहेका छन् । 

जापानमा कोभिड १९ का विरामीलाई चार दिनमै अस्पताल छोड्न अनुमति

टोक्यो : अस्पताल भर्ना भएका कोभिड १९ का बिरामीलाई जापानले चार दिनमै अस्पताल छोड्न अनुमति दिने भएको छ । कोभिड १९ का कारण अस्पताल भर्ना भएका विरामीलाई जापानले सो अनुमति दिन लागेको हो ।

अक्सिजन दिनु नपर्ने तथा जटिल अवस्था नभएका कोभिड १९ का विरामीलाई चार दिनमा अस्पताल छोड्न अनुमति दिन जापानको स्वास्थ्य मन्त्रालयले अस्पताललाई निर्देशन दिएको जापान टाइम्समा खबर छ । 

अस्पताल भर्ना भएको चार दिनपछि कोभिड १९ का विरामीले अस्पतालमा बस्नु नपर्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसो गरेमा अस्पतालमा विरामी चाप कम हुनेसमेत बताइएको छ । 

एक वर्षे युद्धका कारण १ लाख यमनी नागरिक विस्थापित

कायरो : यमनी सहर मारिबमा एक वर्ष लामो युद्धका कारण करिब १ लाख यमनी नागरिक विस्थापित बनेका छन् । युद्धले तितरवितर बनेको मारिब सहरबाट सो संख्यामा मानिसहरु विस्थापित बनेका हुन् । 

मंगलबार अन्तर्राष्ट्रिय परोपकारी समूह अक्सफामले एक रिपोर्ट जारी गर्दै सो जानकारी दिएको हो । मारिबमा मानवीय अवस्था जटिल भएका कारण सो संख्यामा मानिसहरु विस्थापित बनेको अक्सफामले जनाएको छ ।
 
यमनको विद्रोही समूह हुथीले गएको वर्ष ऐतिहासिक सहर मारिबमा आक्रमण गरेको थियो भने आक्रमणपछि सो सहर आफ्नो कब्जामा लिएको थियो । सो क्षेत्रमा हुथी विद्रोही र सरकार पक्षविच लामो समयदेखि युद्ध जारी छ । 

युक्रेनको तनावका बीच म्याक्रोन र पुटिनबीच भेटवार्ता 

पेरिस : युक्रेनमा जारी तनावका बीच फ्रान्सेली राष्ट्रपति इमयानुअल म्याक्रोन र रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनबीच भेटवार्ता भएको छ । युक्रेनमा जारी तनाव अन्त्य गर्न दुई देशका राष्ट्रपतिबीच सोमबार भेटवार्ता भएको हो । 

दुवै राष्ट्रपतिले सोमबार रुसको राजधानी मस्कोमा भेटवार्ता गरेका हुन् । उनीहरुले युरोपेली सुरक्षाको लागि भेटवार्ता गरेको अन्र्तराष्ट्रिय मिडियामा खबर छ ।  फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनसँगको भेटमा समग्र युरोपको सुरक्षा एवम् स्थायित्व तय गर्न पहल जरुरी रहेको बताएका छन् ।  

सो भेटमा युक्रेनमा युद्धको त्रास अन्त्य गर्न र आपसी सम्बन्धलाई बलियो बनाउन म्याक्रोनले रुसी राष्ट्रपति पुटिनसँग आग्रह गरेका छन् । यता पुटिनले भने युक्रेनलाई कुनैपनि हालतमा नाटोमा सामेल गराउने रुसको आशंका हटाएपछि मात्र सो त्रास अन्त्य गर्ने बताएका छन् ।

पुटिनसँगको भेटवार्तापछि म्याक्रोन यतिबेला युक्रेनको राजधानी किभ पुगेका छन् । युक्रेनको विषयलाई लिएर पछिल्लो समय पश्चिमा मुलुकमा तनाव बढिरहेको छ । 

भारतको आतंकवाद विरोधी कानुनअन्‍तर्गत कास्मिरी पत्रकार पक्राउ 

श्रीनगर : भारत नियन्त्रित कास्मिरस्थित एक स्वतन्त्र समाचार वेबसाइटका सम्पादक पक्राउ परेका छन् । भारतको आतंकवाद विरोधी कानुनअन्र्तगत दी कास्मिर वाल्लाका संस्थापक सम्पादक फहाद शाह पक्राउ परेका हुन् । 

प्रहरीले उनलाई कास्मिरको पुल्वामा शहरबाट पक्राउ गरेको हो । सम्पादक शाहमाथि भारतको राज्यद्रोह गरेको र उनले भारतको आतंकवाद विरोधी कानुनको उल्लंघन गरेको आरोप लागेको छ । सो सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको सीएनएन न्युजमा खबर छ । 

दी कास्मिर वाल्लाद्धारा जारी विज्ञप्तीअनुसार सम्पादक शाहले सन् २०२० मा प्रहरीले मारेको छापासम्बन्धी श्रृंखलाबद्ध रुपमा समाचार प्रकाशित गरेका थिए । सो समाचार भारतको आतंकवाद विरोधी कानुनअन्र्तगत भएको र भारतको राज्यद्रोहसम्बन्धी भएको आरोप लागेको छ । शाहमाथि हालसम्म कुनैपनि किसिमको कारबाहि प्रक्रिया अघि नबढाइएपनि सो सम्बन्धमा अनुसन्धान अघि बढेको बताइएको छ । 

कोभिडका कारण १२ सय वर्षभन्दा बढी पुरानो पब बन्द 

लण्डन : सबैभन्दा पुरानो पब दाबी गरिएको बेलायतको एक पब बन्द भएको छ । झन्डै १२२९ वर्ष पुरानो बेलायतको पब कोभिड १९ महामारीका कारण बन्द भएको हो । 
बेलायतकै पुरानो दाबी गरिएको ‘ये ओल्डी फाइटिङ कक्स’ नामक पब कोभिड १९ का कारण आर्थिक समस्या आउँदा बन्द हुन लागेको अन्र्तराष्ट्रिय मिडियामा खबर छ । बेलायतको राजधानी लण्डनस्थित सेन्ट अल्बान्समा रहेको सो पब एडि ७९३ देखि सञ्चालनमा आएको पबको वेबसाइटमा उल्लेख छ । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सो पब सञ्चालक क्रिस्टो टोफाल्लीले सो जानकारी दिएका हुन् । ‘कोभिड महामारीले निम्त्याएको अत्यन्तै चुनौतीपुर्ण व्यापारिक अवस्थापछि यस पबले आफ्नो ढोका बन्द गरेको छ,' पबको आधिकारीक फेसबुकमार्फत सञ्चालक क्रिस्टोले भनेका छन्, 'यो पब मेरो लागि विजनेस मात्र नभई विजनेसभन्दा माथि थियो ।’ बेलायतको राष्ट्रिय तथ्यांक विभागका अनुसार बेलायतमा सन् २००८ देखि २०१८ सम्ममा ११ हजारभन्दा पबहरु बन्द भएका छन् । 

संयोजन : अस्मिता खड्का 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.