समको व्यक्तित्व र कृतित्वको चर्चा
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा बालकृष्ण समको १२०औं जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बालकृष्ण समले कविता, नाटक, कथालगायतका विधामा उत्कृष्ट कृति रचना गरेर नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान पु¥याएको बताए। ‘नेपाली वाङ्मयका प्रायः सबै विधामा समको उत्तिकै विशिष्ट योगदान रहेको छ। विशेषगरी नाटकका क्षेत्रमा समको योगदान अतुलनीय छ’, उप्रेतीले भने।
प्रतिष्ठानका सदस्यसचिव एवं दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगतप्रसाद उपाध्यायले सम पारिवारिक परिवेशकै कारण वाङ्मय क्षेत्रप्रति आकर्षित भएको बताए। ‘बालकृष्ण सम राणा वंशमा जन्मिए पनि प्रजातन्त्र, न्याय र समानताका साथै देश र जनताप्रति सधैं चिन्तित रहनुहुन्थ्यो’, उनले भने, ‘सम नाटक, कवितालगायतका विधाका विशिष्ट साधक हुनुका साथै चित्रकारिता र अभिनयका क्षेत्रमा पनि उत्तिकै विशिष्ट योगदान छ।’
कार्यक्रममा साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल, साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपाल, प्राज्ञ सभा सदस्य रमा शर्मालगायतले बालकृष्ण समको योगदान नेपाल र नेपाली कहिल्यै भुल्न नसकिने बताए।