लुक्ला विमानस्थलको हेलिप्याड सञ्चालन अन्तिम तयारीमा
सोलुखुम्बु : विश्वकै जोखिमपूर्ण विमानस्थलको सूचीमा पर्ने सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाको नयाँ हेलिप्याड एक महिना भित्रमा सञ्चालन आउने भएको छ। विमानस्थलको धावनमार्ग नजिकै निर्माण सम्पन्न हेलिप्याड आगामी मार्च अर्थात फागुन दोश्रो सातबाट सञ्चालन गरिने नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ।
कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार २०७६ जेठ १ गतेबाट निर्माण सुरु भएको हेलिप्याडको भौतिक संरचना निर्माण कार्य गत मंसिरमा सकिएको थियो। तर गत पुसमा प्राधिकरणको केन्द्रीय कार्यालयबाट आएका इन्जिनियर बाबुराम पौडेल नेतृत्वको ५ सदस्यीय वरिष्ठ सुरक्षा मुल्यांकन टोलीले केही प्राविधिक कुराहरु अपुग भएको औंल्याएको बताइएको छ।
टोलीले औंल्याएका कमजोरी बारे केन्द्रीय कार्यालयले लुक्ला विमानस्थललाई पत्रचार गरेपश्चात समस्याको समाधान गरी आगामी सिजन(मार्च)बाट हेलिप्याड सञ्चालनमा आउने विमानस्थल प्रमुख अछामीले बताए। कान्छाराम कन्ट्रक्सन प्रालिले प्राधिकरणको ३२ करोड रुपैयाँको लागतमा निर्माण गरेको उक्त हेलिप्याड झन्डै १२ रोपनी क्षेत्रफलमा फैलिएको छ।
एकैपटक ८ वटासम्म हेलिकोप्टर पार्किङ गर्न मिल्ने उक्त हेलिप्याड सञ्चालनपछि विमानस्थलमा ट्राफिक जाम हुने समस्या हट्ने नागरिक उड्यायन प्राधिकरण लुक्लाले जनाएको छ। नेपालकै व्यस्त विमानस्थल मध्येका लुक्ला विमानस्थलमा सिजनको समयमा दैनिक १०० पटक भन्दा बढी हवाई उडान तथा अवतरण हुने गरेको छ।
२०७६ बैशाख १ गते लुक्ला विमानस्थलबाट रामेछाप विमानस्थल उडेको समिट एयरको जहाज धावनमार्गबाट चिप्लिएर दाहिनेतर्फ मोडिँदा धावनमार्ग नजिकै पार्किङ गरिएको हेलिकोप्टरमा ठोक्किएको थियो। उक्त दुर्घटनामा परि तीन जनाको ज्यान गएको थियो। त्यस लगत्तै प्राधिकरणले गठन गरेको छानविन समितिले विमानस्थलको धावनमार्ग नजिकै हेलिकोप्टर रोक्न नहुने निष्कर्ष निकालेको थियो। सोहीअनुसार धावनमार्गको दाहिनेतर्फ केही टाढा रहेको जमिनमा हेलिप्याड बनाउने निष्कर्षमा प्राधिकरण पुगेको बताइएको छ।