प्रदेश प्रहरी ऐन कार्यान्वयनका लागि संकल्प प्रस्ताव पेश
जनकपुरधाम : प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न संघीय सरकारलाई दवाव दिन मधेश प्रदेशको प्रदेशसभामा संकल्प प्रस्ताव पेश भएको छ। मधेश प्रदेश सरकारलाई प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा संघीय सरकारले अवरोध गरेको भन्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले बुधवार प्रदेशसभामा संकल्प प्रस्ताव पेस गरेका हुन्। मन्त्री साहले माघ २३ गते प्रदेशसभामा उक्त प्रस्ताव दर्ता गराएका थिए।
मन्त्री साहले प्रस्ताव पेश गर्दै आफूहरुले संविधान पाएपनि मधेशको दृष्टिकोणले पूर्ण संविधान नपाएको भन्दै उनले भने, ‘धेरै दुःखका साथ भनिरहनु परेको छ, संविधानले अधिकारको अनुसूचीमा पहिलो नम्बरमा सुुरक्षाको अधिकार, जिम्मा प्रदेश सरकारलाई दिएको छ। तर यसलाई पनि केन्द्र सरकारले दिन आनाकानी गरिरहेको छ।’
मन्त्री साहले धेरै समय अघि प्रदेश सरकारले प्रहरी सम्बन्धी ऐन बनाइसकेपछि केन्द्रले खाइ आएको सेवा सुविधाको कारण आनाकानी गरिरहेको भन्दै दबाब दिनका लागि प्रदेशसभामा पुनः संकल्प प्रस्ताव दर्ता गराउनु परेको बताए। उनले यसलाई पनि प्रदेशसभाबाट सर्वसम्मतले पास गर्ने बताए।