मूल सडकमै प्रधानमन्त्रीको पुतला दहन
नुवाकोट : युवा तथा विद्यार्थीहरुले नुवाकोटमा एमसीसी र मुल्यवृद्धिको विरोधमा सरकार तथा सत्तारुढ दल विरुद्ध नाराजुलुश र विरोधका कार्यक्रम गरेका छन्। सरकारले उपभोक्तालाई मारमा पार्ने गरी पटकपटक पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि तथा एमसिसिको विरोध गर्दै नुवाकोटको विदुर तथा वट्टारमा युवा विद्यार्थीहरुले बुधबार नाराजुलुशसहित प्रधानमन्त्रीको पुतलासमेत दहन गरेका छन्।
विप्लव समर्थित युवाहरुले सदरमुकाम विदुरको मूल सडकमै प्रधानमन्त्रीको पुतला दहन गरेका हुन्। नाराजुलुससहित पुतला दहन गरेको आधा घण्टापछि मात्र प्रहरी सो स्थानमा पुगेको थियो।
वट्टारस्थित नुवाकोट आदर्श वहुमुखि क्याम्पस अगाडि पासाङल्हामु मार्गको मूल सडकमा सत्तारुढ दलमै आवद्ध युवा तथा विद्यार्थीहरुले स्वतन्त्र नागरिकको नाममा बुधबार बेलुकी पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि तथा एमसिसिको विरोध गर्दै मुल्यवृद्धि तथा एमसीसी फिर्ताको माग गरेका हुन्। नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी तथा अन्य दलमा आवद्ध युवा तथा विद्यार्थीहरुले मुल्यवृिद्ध तत्काल फिर्ता गरिनुपर्ने, नेपालको हितमा एमसीसी नरहेको दावी गर्दै त्यसलाई पारित गरिन नहुनेलगायतका प्लेकार्ड वोकेर विरोध प्रर्दन गरेका हुन्।
उनीहरुले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि तथा एमसिसि नेपालवाट फिर्ता हुनुपर्ने माग गर्दै सरकारको विरोध गरेका हुन्। माग पूरा नभए कडा आन्दोलनका कार्यक्रम गरिने युवा तथा विद्यार्थीहरुले जनाएका छन्।