भ्रातृसंस्थाको टुंगो लगाउन कांग्रेस बैठक आज
काठमाडौं : नेपाली कांग्रेस कार्यसम्पादन समितिको पहिलो बैठक बिहीबार गते बस्ने भएको छ। बैठकमा मुख्य एजेण्डा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्थाबारे छलफल हुने बताइएको छ।
उक्त बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन गराउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल गर्नेछ। दुई महिनाअघि पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेको कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनबारे छलफल गर्न भर्खर सुरु गरेको छ। आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरू र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाका सम्बन्धमा छलफल गर्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको अधिवेशन नहुँदा पार्टीमा युवा नेतृत्वमा नै निराशा देखिएको छ। तरुणदलका महामन्त्री तथा युवा नेता भुपेन्द्रजंग शाहीले नेतृत्व परिवर्तन नहुँदा भ्रातृ एवं शुभेच्छुक संस्थाको काम कारबाहीसमेत प्रभावकारी हुन सकेको छैन। शाहीले भने, ‘धेरै सम्भावना भएका युवा नेताहरू भूमिकाविहीन र निराश भएर बस्नु परेको छ । युवाको आर्कषण पनि घटेको छ। रचनात्मक काम गरेर पार्टीमा आउन सकेनन्। सिंगो पार्टीलाई असर गरेको छ।’ ३ वर्षमा हुनुपर्ने अधिवेशन ५ वर्ष भइसक्यो। धेरै युवाहरू नेतृत्वमा आउने अवसरबाट बञ्चित भएका छन्। शाहीले भने। कांग्रेस नेता शरिता प्रसाई भन्छिन्, ‘भातृ संस्थालाई मजाक बनाइयो। कांग्रेसमा राजनीति गर्न आउने युवाले कहिले मौका पाउने ?’ कांग्रेसकै अर्का एक नेताले भने सरकारले स्थानीय तहको चुनावको मिति तोकिसकेकाले अब यो बिचमा पार्टीका शिर्ष नेतृत्व भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन तत्काल गराउने पक्षमा नदेखिएको समेत बताए।
कांग्रेस विधानको धारा ४२ मा पार्टीको आदर्श, उद्देश्य र सिद्धान्तलाई मान्ने संस्थालाई केन्द्रीय कार्यसमितिले निर्णय गरी भ्रातृ संघको मान्यता दिन सक्ने उल्लेख गरिएको छ। त्यही प्रक्रिया अनुसार कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज गरी १३ संस्थालाई भ्रातृ संघको मान्यता दिएको छ। नेपाल भूतपूर्व सैनिक संघ र नेपाल राष्ट्रिय मगर संघबाहेक अन्य भ्रातृ संघको कार्यअवधि समाप्त भइसकेको छ। नेपाल किसान संघको एक दशकदेखि अधिवेशन हुनै सकेको छैन।
आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था र जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाका सम्बन्धमा छलफल हुने
पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित र मनोनीत भएपछि विधानको धारा ४२ बमोजिम प्रमुख ५ भ्रातृ संघ स्वतः नेतृत्वविहीन भएका छन्। नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ र नेपाल मुस्लिम संघका अध्यक्ष केन्द्रीय सदस्य भएपछि उनीहरूको पद रिक्त छ। पार्टीको १४ महाधिवेशनबाट नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना र नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार केन्द्रीय सदस्यमा निर्वाचित भए। नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी र नेपाल दलित संघका महाधिवेशन आयोजक समिति संयोजक मीन विश्वकर्मा सदस्यमा मनोनित भएका छन्।
२०७६ भदौमा केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा भ्रातृ संस्थाहरूको विधान संशोधन गर्न ७ सदस्यीय मस्यौदा समिति समेत गठन गरेको थियो। समितिले कार्तिकमा ११ भ्रातृ संस्थाको विधानको मस्यौदा पार्टीलाई बुझाएको छ । १८ वटा शुभेच्छुक संस्थामध्ये चारवटाको मात्रै अवधि बाँकी छ। कुनैको दुई दशक देखि अधिवेशन हुनै सकेको छैन।