अर्थतन्त्रका सूचक नकारात्मक

अर्थतन्त्रका सूचक नकारात्मक

काठमाडौं : अर्थतन्त्रका सबै सूचकहरू थप नकारात्मक देखिएका छन्। विदेशी विनियम सञ्चिति घटेको छ। आयात बढेको छ। शोधान्तर घाटा चुलिएको र मूल्यवृद्धि अकासिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

विदेशी मुद्रा घट्दै गए अत्यावश्यक वस्तु आयातमा संकट ल्याउन सक्ने संकेत देखिएको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको पुससम्मको तथ्यांकअनुसार ६.६ महिनाको आयात धान्न पुग्ने मात्रै विदेशी मुद्रा सञ्चिति छ। तथ्यांकले कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ देखाएको छ। यो असारको तुलनामा १६.७ प्रतिशतले कम हो। घट्दो सञ्चिति स्थिति संकटको ‘रेड सिग्नल’ भएको राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपाल बताउँछन्। ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार हरेक देशले कम्तीमा ६ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी विनिमय सञ्चिति राख्नुपर्छ,’ नेपालले भने, ‘हाम्रोमा त्यो सीमा नाघिसकेको छ।’

विदेशी विनिमय सञ्चिति कम भएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताए। ‘स्थिति बिग्रिँदै गएको छ। यसबीच केन्द्रीय बैंकले पनि विदेशी मुद्रामा सजग भएर नियन्त्रण गर्न खोजेको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने। विदेशी सञ्चितिको आधार नै रेमिट्यान्स हो। विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु. ४ खर्ब ६८ अर्ब ४५ करोडमा सीमित छ। जबकि गत वर्ष सोही अवधिमा ११.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ। गत वर्ष ६.७ प्रतिशतले बढेको थियो। यस्तो सञ्चिति घटे अर्थतन्त्र जोखिममा पर्ने भएकाले होसियारी अपनाउनु पर्ने पूर्वगभर्नर नेपालको तर्क छ।  ‘आयात बढेको बढ्यै छ। यसले अर्थतन्त्रको जोखिम बढाउँदै गएको छ। जोखिम न्यूनीकरण गर्न विदेशी मुद्रालाई होसियार रूपमा खर्च गर्न जरुरी छ,’ डा. नेपालले भने ।

विदेशी मुद्रा खर्च हुने क्षेत्र विदेशमा घुम्न, उपचार र अध्ययनमा पनि बढिरहेको छ। ६ महिनासम्म भ्रमण खर्च ९५.८ प्रतिशतले बढेर २९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। जबकि गत वर्ष सोही अवधिमा १५ अर्ब १८ करोड थियो । समग्रमा सेवा आय ४६ अर्ब १७ करोडले घाटामा छ। मुलुकले १ खर्बको निर्यात गर्दा १० खर्ब आयात गरिरहेको स्थिति छ। पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेललगायत वस्तुको आयात बढेको छ। वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ। यसैले आयातलाई नियन्त्रण गर्नुपर्ने सरोकारवाला बताउँछन्। मुलुक भित्रिने विदेशी मुद्राभन्दा बाहिरिने अधिक हुँदा शोधनान्तर घाटा बढेको छ। 

पुससम्ममा २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा छ। जबकि गत वर्ष शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा थियो। सो अवधिमा १ अर्ब ५ करोड अमेरिकी डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २ करोडले घाटामा छ। घिउ, तेल, दाल, गेडागुडीजस्ता उपभोग्य वस्तुको मूल्य नियन्त्रण हुन सकेको छैन। घिउ तथा तेलको २१.२२,  यातायातको १४.०७,  मदिराजन्य पेय पदार्थको ११.३७, सुर्तीजन्य वस्तुको १०.४८ र दाल तथा गेडागुडीको ९.२२ प्रतिशतले मूल्य बढेको छ। पुससम्ममा मूल्यवृद्धि ५.६५ प्रतिशत छ। गत वर्ष ३.५६ प्रतिशत थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.