एकै व्यक्तिको दुई नागरिकता : मोरङबाट जन्मसिद्ध, सुनसरीबाट वंशज
विराटनगर : जन्मको आधारमा नागरिकता लिएको एक व्यक्तिले केही वर्षको अन्तरालमा वंशज नागरिकता लिएको पाइएको छ। विराटनगर-१ पोखरीया अस्थायी बसोवास गर्दै गरेका बेचन यादवले मोरङबाट जन्मको आधारमा नागरिकता लिएको १० वर्षपछि फेरि सुनसरीको देवानगंज गाउँपालिका-७ बाट वंशज नागरिकता लिएको पाइएको हो।
दुवै नागरिकतामा उनको बुवाको नाम खुशीलाल यादव नै उल्लेख रहेको छ। बेचनले २०६३ माघ ७ गते विराटनगर १ बाट ०३५०६६/ज ४१ नम्बरको नागरिकता लिएका थिए। तर सुनसरीको देवानगंज गाउँपालिका-७ को ठेगाना उल्लेख गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०७४ साउन ३ गतेको मितिमा ०६–०६–७४–००६४६ नम्बरको वंशज नागरिकता लिएका हुन्।
बेचन यादवले बंशज नागरिकता लिई सकेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा भारतमा नै स्थाई बसोवास भएको र व्यवसाय भएका कारण भारतमा नै बस्नुपर्ने भन्दै निवेदन दिएर २०७५ भदौ ५ गते मोरङबाट लिएको जन्मसिद्ध नागरिकता परित्याग गरेका थिए। जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०७४ साउन ३ गतेको मितिमा ०६–०६–७४–००६४६ नम्बरको वंशज नागरिकता लिएको १ वर्ष एक महिना १५ दिनपछि मोरङबाट जन्मको आधारामा लिएको जन्मसिद्ध नागरिकता परित्याग गरेको देखिन्छ।
उनले जन्मको अधारमा लिएको नागरिकताको आधारमा विराटनगर-१ स्थित ४ धुर जग्गा समेत किनेर घर बनाएर बसोवास गर्दे आएका छन्। यादवले मोरङ र सुनसरी जिल्लाबाट दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा २०७५ साल असोज १९ गते उजुरीसमेत परेको थियो। सुनसरी प्रहरी यादवलाई फरकफरक मितिमा लिएको जन्मसिद्ध र वंशज नागरिकतासहित पक्राउ गरेर छोडेका छन्।
२०७६ साल जेठ ६ गते सुनसरी प्रहरीले नियन्त्रणमा राखेर अर्को दिन छोडेको बताइएको छ। त्यसैगरी बेचनले जन्मसिद्ध नागरिकता बनाएपछि विराटनगर महानगरपालिका-१ पोखरीयास्थित वडा कार्यालयबाट २०५६ माघ १३ गतेको मितिमा बुवा खुशीलाल यादवको मृत्यु दर्तासमेत बनाएका छन्।