भ्रष्टाचार आरोपमा वडाअध्यक्ष माथि कार्यकक्षमै कालोमोसो
महेन्द्रनगर : कञ्चनपुरको बेलडाँडी गाँउपालिका–२ का वडाध्यक्ष प्रेम खातीमाथि कार्यकक्षमै कालोमोसो दलिएको छ। बिहीबार दिउँसो विप्लवका कार्यकर्ताले वडाध्यक्ष खातीमाथि कार्यकक्षमै गएर मोसो दलेका हुन्। वडाध्यक्षले भ्रष्टाचार गरेको भन्दै मोसो दलेको विप्लव निकट युवा संगठन नेपाल कञ्चनपुरले जनाएको छ।
युवा संगठन कञ्चनपुरका अध्यक्ष विकल्पले विज्ञप्ती जारी गर्दै वडाअध्यक्ष खातीले वडा भवनको भाडा, कर्मचारी मनोमानी राखेको, कालिकिच तालमा उपभोक्ता समितिको कार्यालयदेखि क्याम्पसम्म सडक निर्माणमा आर्थिक अनियमितता गरेको, वडा कार्यालयमा अनुपस्थित भएको, बसपार्कका लागि भनि ल्याएको गिट्टी बालुवा २७ टिप्पर बेचेको, एकल महिलाका लागि २८ लाखमा बनाएको ४ कोठे भवनमा अनियमितता गरेको, उपभोक्ता समितिमा पनि मनोमानी तरिकाले आफ्नो अनुकुल काम गरेको, साझौता र साना किसान लघुवित्तिलाई जमिनसहित १५ लाख दिने निर्णय गरी अनियमिता गरेको आरोपमा जनकार्वाही गरेको आरोप लगाईएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वडाध्यक्षमाथि कालोमोसो दल्ने समूहको खोजि भईरहेको जनाएको छ।