चोरी भएका २८ थान सवारीसाधन फिर्ता
काठमाडौं: उपत्यकाको विभिन्न स्थानबाट चोरी भएका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सवारी धनीले फिर्ता पाएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले २८ थान सवारी साधनहरु फेला पारी बिहीबार सम्बन्धित धनीलाई बुझाएको हो।
महाशाखामा आयोजित कार्यक्रममा महाशाखा प्रमुख एसएसपी उमेशराज जोशीले चोरीका सवारी साधन सम्वन्धीत धनीलाई हस्तान्तरण गरे। जोशीका अनुसार काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथबाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको हुलिया निवेदनपश्वात परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलास गरेको थियो।
जोशी भन्छन्, ‘मोटरासाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखि सूचना संकलन भइरहेको छ। मोटरसाइकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी कार्य जारी छ।'
सवारी साधन चोरी गर्ने गिरोह जताततै सक्रिय भएकाले स्वयं सवारीधनी नै चनाखो हुनुपर्ने उनले बताए। यसका लागि सुरक्षित स्थानमा पार्क गर्नुपर्ने र अतिरिक्त लक तथा सुरक्षाको उपाय समेत प्रयोग गर्नुपर्ने उनले बताए।
पल्सर मोटरसाइकल र स्कुटर बढी चोरी हुने गरेको जानकारी दिँदै बिलबुकसहित हराउने सवारी साधनको सक्कली सवारी धनी पत्ता लगाउन कठिन हुने बताए। चोरीका मोटरसाइकल चलाउँदा नम्बर प्लेटसमेत परिवर्तन गर्ने गरिएको उनले बताए।
महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासका अनुसार आर्थिक वर्ष २०७८-७९ मा ८३१ वटा मोटरसाइकल हराएको भनी निवेदन परेको थियो। जसमध्ये ३०९ वटा मोटरसाइकल फेला पारेको हो। २४४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई यसअघि नै जिम्मा लगाइसकेको उनले बताए। विभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाइकलसहित ३८ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिएको छ।
यसमध्ये उपत्यकामा हराएका १३ वटा मोटरसाइकल अन्य जिल्लामा समेत बरामद गरिएको छ। महाशाखाले मोटरसाइकल चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्नेका लागि सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेको छ।
सवारी साधन हराउना साथ ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गरेर जानकारी गराउन सकिन्छ। 'लस्ट भेहिकल एप्लिकेशन' लगइन गरेर पनि निवेदन दर्ता गराउन सकिने उनले बताए।