आइएसकेका नेताबारे सूचना दिनेलाई एक करोड डलर पुरस्कार, स्विडेनद्वारा महामारी अन्त्यको घोषणा

आइएसकेका नेताबारे सूचना दिनेलाई एक करोड डलर पुरस्कार, स्विडेनद्वारा महामारी अन्त्यको घोषणा

काबुलः आतंकवादी समूह आइएसआइएस-केका नेताबारे सूचना उपलब्ध गराउने व्यक्तिलाई अमेरिकाले १० मिलियन अर्थात् १ करोड डलर रकम बराबरको पुरस्कार दिने घोषणा गरेको छ। आइएसआइएस-केका मुख्य नेता सनाउल्लाह घफारी भएको स्थान र उनलाई पक्राउ गर्न सुचना उपलब्ध गराउने व्यक्तिलाई अमेरिकाले सो रकम बराबरको पुरस्कार दिने घोषणा गरेको हो। 

घफारी शहाब अल मुहाजिरको नामले समेत परिचित छन्। उनलाई सन् २०२० जुनमा आइएसआइएस-केको नेताको रुपमा नियुक्त गरिएको थियो। गएको अगष्ट २१ मा अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विमानस्थलमा आक्रमण भएको थियो। सो घटनाको जिम्मा आइएसआइएस-केले लिएको थियो। आइएसआइएस-केले जिम्मा लिएका  सबै आक्रमणमा उनको मुख्य भूमिका रहेको भन्दै अमेरिकाले घफारीबारे सूचना दिने व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। 

स्विडेनद्वारा महामारी अन्त्यको घोषणा 

स्टोकहोमः स्विडेन सरकारले कोभिड-१९ महामारी अन्त्यको घोषणा गरेको छ। वैज्ञानिकहरुले महामारी अन्त्य भइनसकेको चेतावनी दिइरहँदा स्विडेनले भने महामारी अन्त्यको घोषणा गरेको हो। 
स्विडेनले बुधबार महामारीको अन्त्य भएको भन्दै देशभर लगाइएको लकडाउन र कोभिडविरुद्धको सबै प्रतिबन्धसमेत हटाइसकेको छ। त्यहाँका स्वास्थ्यकर्मी र केही वैज्ञानिकहरुले कोभिड महामारी अन्त्य भइनसकेकाले केही समय धैर्य रहन आग्रह गरिरहँदा सरकारले भने सो घोषणा गरेको हो। 

‘कोभिड महामारीसँग हामी सबै जुधिरहेका छौं। तैपनि म भन्छु महामारी अन्त्य भइसक्यो। त्यसैले हामीले सबै प्रतिबन्धहरु हटाउने निर्णय गरेका हौं,’ स्विडेनकी स्वास्थ्य मन्त्री लिना हलिनग्रेनले भनेकी छन्। 
सो घोषणासँगै स्विडेनले आफ्ना नागरिकलाई महामारीअघि झैँ सामान्य अवस्थामा फर्किन आग्रह गरेको छ। स्विडेनमा कोभिडका कारण १६ हजार २ सय मानिसले ज्यान गुमाइसकेका छन्। 

चीनका विश्वविद्यालयमा विद्यार्थी भर्ना नगर्न भारतको चेतावनी
नयाँ दिल्लीः भारतले चिनियाँ विश्वविद्यालयमा विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ। भारतको शीर्ष चिकित्सा निर्देशनालय एवं आयोग (एनएमसी)ले बिहीबार आफ्ना विद्यार्थीलाई चीनका विश्वविद्यालयमा भर्ना नगर्न चेतावनी दिएको हो। 

कोभिड महामारी सुरु भएपछि हालसम्म चीनले विदेशी विद्यार्थी प्रवेशमाथि निरन्तर प्रतिबन्ध लगाएपछि भारतको चिकित्सा निर्देशनालयले सो चेतावनी दिएको हिन्दुस्तान टाइम्समा खबर छ। एनएमसीले गएको मंगलबार भारतको परराष्ट्र मन्त्रालयसमक्ष चिकित्सा शिक्षा अध्ययनका लागि चीनका विश्वविद्यालयमा भर्ना नगर्न चेतावनीसहितको पत्र पठाएको थियो। 

मन्त्रालयले बिहीबार सो पत्र स्वीकार गरेपछि चिनियाँ चिकित्साशास्त्र विश्वविद्यालयमा भर्ना हुन चाहने विद्यार्थीलाई सचेत रहन आग्रह गरिएको बताइएको छ। केभिड-१९ महामारी सुरु भएदेखि चीनले विदेशी विद्यार्थीलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। तैपनि यतिबेला विभिन्न चिनियाँ विश्वविद्यालयले आगामी वर्षको एमबीबीएस कार्यक्रमका लागि भर्ना हुन विद्यार्थीलाई आवेदन दिन आग्रह गरिरहेको बताइएको छ। 

उत्तर कोरियाली सुरक्षा खतरा सामना गर्न तीन देश सहमत
टोक्योः उत्तर कोरियाले निम्त्याउने सम्भावित सुरक्षा खतरा सामना गर्न तीन देश सहमत भएका छन्। उत्तर कोरियाले गर्ने गतिविधिका कारण विश्वमा सिर्जना हुने सम्भावित सुरक्षा खतरा सामना गर्न जापान, अमेरिका र दक्षिण कोरिया बिहीबार सहमत भएका हुन्। 

जपानको रक्षा मन्त्रालयले सो जानकारी दिएको हो। उत्तर कोरियाले गर्ने आणविक र क्षेप्यास्त्र कार्यक्रमले उत्पन्न हुने सुरक्षा खतरा र चुनौति सामना गर्न एकसाथ सहकार्य गर्नेमा तीनवटै मुलुक सहमत भएको क्योडो न्युजमा समाचार छ। 

सुरक्षा सम्बन्धमा भएको त्रिपक्षीय फोनबार्तामार्फत् सो सहमति जनाइएको बताइएको छ। जापानी रक्षा मन्त्री नोबुओ किशी, अमेरिकी र दक्षिण कोरियाली समकक्षी लियोड अस्टिन र सु वुकबीच भएको फोनवार्तामा सो सहमति भएको बताइएको छ। सन् २०१९ यता अमेरिका, जापान र दक्षिण कोरियाली कूटनीतिज्ञद्वारा सो सम्बन्धमा पहिलोपटक वार्ता भएको बताइएको छ। 

उत्तर कोरियाले पुनः क्षेप्यास्त्र प्रहार गरे संकट निम्तिने चेतावनी
सिओलः उत्तर कोरियाले पुनः लामो दूरीको क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेमा संकट निम्तिने खतरा रहेको चेतावनी दक्षिण कोरियाली राष्ट्रपति मुन जाईले दिएका छन्। मुनले बिहीबार उत्तर कोरियाले सो कार्य दोहोर्‍याएमा कोरियाली प्रायद्धिप क्षेत्रमा संकटको खतरा रहेको चेतावनी दिएका हुन्। 

सो खतरा रोक्न तत्काल वार्ता र कूटनीतिक सहमतिमा आउनसमेत राष्ट्रपति मुनले आह्वान गरेका छन्। ‘यदि उत्तर कोरियाले पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपणको काम दोहोर्‍याएमा त्यसले पाँच वर्षअघि झैँ कोरियाली प्रायद्धिप क्षेत्रमा संकट निम्तिने पक्का छ,’ मुनद्वारा बिहीबार लिखित वक्तव्य पत्रमा भनिएको छ, ‘सो संकट रोक्न र निम्तिन नदिन सम्बन्धित देशका राजनीतिक नेता र कूटनीतिज्ञबीच वार्ता जरुरी छ।’

उत्तर कोरियाले जनवरीमा चार वर्षयताकै सबैभन्दा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। उत्तर कोरियाले जनवरीमा मात्र साना-ठूला गरी करिब सातवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।  

सौर्यआँधीपछि कक्षबाट बाहिरियो मस्कको भू-उपग्रह
क्यालिफोर्नियाः एलन मस्कको कम्पनी स्पेस एक्सको भुउपग्रह सौर्य आँधीपछि कक्षबाट बाहिरिएको छ। सौर्य आँधीका कारण धक्का पुगेको स्पेस एक्सको नयाँ भुउपग्रह कक्षबाट बाहिरिएको हो। स्पेस एक्सले गत हप्ता साना ठूला गरी एकैपटक ४९ भू-उपग्रह कक्षमा पठाएको थियो। सो भू-उपग्रह सौर्य आँधीसँग ठोक्किएको बताइएको छ। जियोम्याग्नेटिक आँधीका कारण कक्षभन्दा माथि स्टारलिंक भू-उपग्रह जान नसकेको कम्पनीले जनाएको छ। 

सौर्य आँधीसँग ठोक्किएका भू-उपग्रह पृथ्वीमा खस्ने सम्भावना नरहेको समेत कम्पनीले स्पष्ट पारेको छ। कक्षमा पठाइएका ती प्रत्येक स्टारलिंक भू-उपग्रहको तौल जम्मा २६० किलोग्राम रहेको बताइएको छ। 

रुस र बेलारुसविच सैन्य अभ्यास सुरु 
मिन्स्कः रुसले बेलारुससँग संयुक्त सैन्य युद्धाभ्यास सुरु गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गर्ने त्रास बढिरहेका बेला दुई देशले १० दिन लामो सैन्य अभ्यास सुरु गरेका हुन्। दुबै मुलुकले बिहीबारदेखि सो सैन्य अभ्यास सुरु गरेका हुन्। करिब ३ लाख रुसी सैनिकहरुले बेलारुसँगको सैन्य अभ्यासमा भाग लिने अनुमान गरिएको छ। 

बेलारुस रुसको नजिकको सहयोगि मुलुक हो। साथै बेलारुस दक्षिणमा युक्रेनसँग सबैभन्दा लामो सीमा फैलिएको छिमेकी मुलुक पनि हो। सो सैन्य अभ्यासलाई अमेरिकाले शीत युद्धपछिको रुसको सबैभन्दा खतरनाक चाल पनि भनेको छ। रुसले युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आए पनि अमेरिकालगायत अन्य पश्चिमा मुलुकहरुले भने रुसले युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको चेतावनी दिँदै आएका छन्। सोही कारण पछिल्लो समय युक्रेनमा युद्धको त्रास बढिरहेको छ। 

मदागास्करमा चक्रपातबाट मर्नेको संख्या १ सय पुग्यो
अन्टानानारिभोः मदागास्करमा चक्रपातका कारण मृत्यु हुनेको संख्या १ सय पुगेको छ। केही दिनअघि आएको बत्सिराई नामक चक्रपातका कारण बिहीबारसम्म मर्नेको संख्या एक सय पुगेको हो। त्यहाँको विपद् राहत विभागले सो जानकारी दिएको हो। 

गएको शनिबार हिन्द महासागरमा आएको चक्रपातका कारण दक्षिण-पूर्वि मदागास्करको कोस्ट क्षेत्रमा क्षती पुगेको थियो। आइतबारसम्म रहेको सो चक्रपातका कारण १ सय मानिसको मृत्यु भएको छ भने अन्य ९१ हजार मानिस घरबारविहीन बनेका छन्। सो क्षेत्रको इकोङ्गो जिल्लामा सबैभन्दा बढी जनधनको क्षति भएको बताइएको छ। सो क्षेत्रसँग टेलिफोन सम्पर्क टुटेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। सो चक्रपातका कारण देशभर करिब २ लाख मानिस विस्थापित बनेको बताइएको छ। 

संयोजन : अस्मिता खड्का 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.