सैन्य परेडको तयारी गर्दै उत्तर कोरिया
सिओल : उत्तर कोरियाले सैन्य परेडको तयारी गरिरहेको एक रिपोर्टले देखाएको छ । अमेरिकी थिंक ट्यांकको रिपोर्टले उत्तर कोरियाले सम्भावित सैन्य परेडको तयारी गरिरहेको देखाएको हो । बाणिज्य स्टाटेलाइट तस्विरको आधारमा अमेरिकी थिंक ट्यांकले बिहीबार दिएको जानकारी अनुसार उत्तर कोरियाले नयाँ सैन्य परेडको तयारी गरिरहेको छ ।
अत्याधुनिक सैन्य उपकरण सार्बजनिक गर्न या अझै ठुलो मिसाइल प्रहारको लागि उत्तर कोरियाले सैन्य परेडको तयारी थालेको हुन सक्ने अनुमान सो रिपोर्टको छ । उत्तर कोरियाको राजधानी प्योङयाङस्थित मिरिम परेड ट्रेनिङ ग्राउन्डमा सयौ सैनिक देखा परेका छन् । सो क्षेत्र नजिकै २ सय ४० बसहरु पार्कमा राखिएको रिपोर्टले जनाएको छ ।
‘त्यसको मतलब उत्तर कोरियाले कुनै अत्याधुनिक सैन्य उपकरण तथा क्षेप्यास्त्र प्रहारको लागि ठुलो सैन्य परेडको तयारी गरेको हुन सक्छ’ रिपोर्टले भनेको छ । यद्यपि, उत्तर कोरियाले आगामी फेब्रुअरी १६ मा उत्तर कोरियाली शासक किम जोङ उनका पिता किम जोङ इलको ८० औं जन्मोत्सव मनाउने तयारी गरिरहेको समेत बताइएको छ ।