रुस र बेलारुसबीच १० दिने सैन्य अभ्यास सुरु
मिन्स्कः रुसले बेलारुससँग संयुक्त सैन्य अभ्यास सुरु गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गर्ने त्रास बढिरहेका बेला दुई देशले १० दिन लामो सैन्य अभ्यास सुरु गरेका हुन् ।
दुवै मुलुकले बिहीबारदेखि अभ्यास सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । करिब तीन लाख रुसी सैनिकले बेलारुससँगको सैन्य अभ्यासमा भाग लिने अनुमान गरिएको छ ।
बेलारुस रुसको नजिकको सहयोगी मुलुक हो । साथै बेलारुस दक्षिणमा युक्रेनसँग सबैभन्दा लामो सीमा फैलिएको छिमेकी मुलुक पनि हो ।
अमेरिकाले सैन्य अभ्यासलाई शीत युद्धपछिको रुसको सबैभन्दा खतरनाक चाल भनेको छ । रुसले युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आए पनि अमेरिकालगायत अन्य पश्चिमा मुलुकले भने रुसले युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको चेतावनी दिँदै आएका छन् ।
सोही कारण पछिल्लो समय युक्रेनमा युद्धको त्रास बढिरहेको छ । रुसले युक्रेनमाथि जुनसुकै समयमा आक्रमण गर्न सक्ने भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार युक्रेनमा रहेका आफ्ना बाँकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेका छन् ।