रुसले जुनसुकै बेला आक्रमण गर्न सक्ने अमेरिकाको आरोप : आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छाड्न अनुरोध
वासिङटन डिसी : रुसको सेनाले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले फेरि चेतावनी दिएको छ । अमेरिकाले आफ्ना नागरिकहरूलाई आगामी ४८ घण्टाभित्र युक्रेन छोड्न अनुरोध गरेको छ।
ह्वाइट हाउसले शुक्रबार आक्रमण हवाई बमबारीबाट हुन सक्ने भन्दै, त्यसपछि त्यहाँबाट बाहिर निस्कन गाह्रो हुने र नागरिक जीवन खतरामा हुने बतायो।
अन्य धेरै देशहरूले पनि आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन्। जसमा बेलायत, क्यानडा, नेदरल्याण्ड, लाटभिया, जापान र दक्षिण कोरिया पर्छन्।
युक्रेनी सीमा नजिक एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको मस्को भने कुनै पनि आक्रमणको सम्भावना नभएको बताउँछ। यसैबीच रुसको विदेश मन्त्रालयले पश्चिमा देशहरूले गलत सूचना फैलाएको आरोप लगाएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसी सेना कुनै पनि ठूलो सैन्य कारबाही गर्न सक्ने स्थितिमा पुगेको बताए ।
'हामी भविष्य बताउन सक्दैनौं। के हुने हो हामीलाई ठ्याक्कै थाहा छैन तर जोखिम अहिले उच्च तहमा छ र यतिबेला रुस छोड्ने सही निर्णय हो,' उनले भने। बीबीसी