इन्द्रको श्रापमोचनपछि १२ वर्षे मकर मेला

इन्द्रको श्रापमोचनपछि १२ वर्षे मकर मेला

श्रापपछि इन्द्रको शरीरभर स्त्रीअंगको विकास भएको थियो रे। त्यही श्रापमोचनका लागि इन्द्र यही स्थानमा आएर तपस्या गरेका थिए भनिन्छ। लामो समय कठिन तपस्या गरेपछि उनको श्रापमोचन भयो भन्ने किंवदन्ती छ।


‘कृपया मास्क लगाएर मात्रै मन्दिर क्षेत्रमा प्रवेश गर्नुहोला। अनावश्यक भीड नगर्नुहोला। सामाजिक दूरी कायम राखेर फर्कनुहोला।’ कोभिड–१९ को जोखिमबीच काभ्रेको पनौती नगरपालिकास्थित त्रिवेणीघाटमा लागेको १२ वर्षे मकर मेलामा आयोजक र प्रहरीले माइकमा भनिरहने वाक्य हुन् यी। १२ वर्षमा एकपटक लाग्ने मेला भएकाले स्वास्थ्य मापदण्ड कायम गर्दै मेला सञ्चालन भइरहेको छ। आयोजक र सुरक्षा निकायको एउटै ध्यान छ, मेलाबाट संक्रमण नफैलियोस्। मेलास्थलमा मास्क नलगाएकालाई मास्क वितरण गर्न र सामाजिक दूरी कायम राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन्। प्रवेशस्थलदेखि मन्दिरसम्म माइकबाट सचेत गराइन्छ।

१२ वर्षमा एकपटक मात्रै मेला लाग्ने भएकाले मेलाको महत्व छुट्टै छ। यसलाई कायमै राख्न र इतिहास जोगाउन पनि सुरक्षाका मापदण्ड कायम गरेर मेला सञ्चालन गरिएको आयोजकको भनाइ छ। परम्परागत रूपमा चलेको विश्वास र धार्मिक मान्यतालाई यथावत् राख्न मेला आयोजना गरिएको हो। आयोजकका अनुसार यो वर्ष ५० लाखभन्दा बढीले मेला अवलोकन गर्ने अनुमान छ। मकर मेला सुरुको दिन करिब ४० हजार भक्तजनले पूजाआजा गरेको उनीहरूको दाबी छ। कोरोनाको समयमा केही समय खाली रहेको मकर मेला माघको १५ गतेदेखि उल्लेख्य मात्रामा भक्तजन पुगेका छन्।

मकर मेला मूल व्यवस्थापन समिति सचिवालय संयोजक इन्द्र अधिकारीका अनुसार पनौतीको त्रिवेणी घाटमा स्नान गरेपछि मोक्ष प्राप्त हुन्छ। जीवनभर गरेका पाप मोचन हुन्छ भन्ने विश्वास छ। स्वर्गका राजा इन्द्रले आफूलाई परेको श्राप मोचनका लागि यही त्रिवेणी घाटमा १२ हजार वर्ष तपस्या गरी स्नान गरेर श्रापबाट मुक्ति पाएको किंवदन्ती छ। सोही मान्यताअनुसार हरेक १२ वर्षमा पनौतीको त्रिवेणीघाटमा मेला लाग्छ। यो स्थानलाई सती तीर्थ पनि भनिन्छ। स्वर्गका राजा इन्द्रको धर्मपत्नी सतीले स्नान गरेको क्षेत्र भनेर प्रसिद्ध छ। यो क्षेत्रमा पापमोचन भइसकेपछि इन्द्रेश्वेर महादेवको स्थापना भएको इतिहास छ। 

प्रत्येक १२ वर्षमा पवित्र तीर्थस्थल पनौतीघाटमा मकर मेला लाग्ने गरेको छ। मेला अवधिभर त्रिवेणीघाटमा स्नान गर्दा पुण्य मिल्छ भन्ने विश्वास छ। यहाँ अवस्थित, बद्रीनाथ, केदारनाथ, कृष्ण मन्दिर, भद्रकाली ब्रह्मायणी क्षेत्रमा पूजाआजा गरेर इन्द्रेश्वर महादेवमा दर्शन गर्ने गरिन्छ। त्रिवेणीघाटको जल लिएर कुञ्जगरी पर्वतमा रहेको गोरखनाथ बाबाको मन्दिरमा गएर जल अर्पण गर्ने गरिन्छ। जीवनकालमा कहीँ कतै पाप गरेको भए मुक्ति प्राप्त हुन्छ भन्ने जनविश्वास छ। 

१२ वर्षे मेला सञ्चालनका लागि पनौती नगरपालिकाले व्यवस्थित रूपमा काम गरेको देखिन्छ। पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको अध्यक्षतामा मकर मेला व्यवस्थापन समिति गठन गरेर मेला सञ्चालन गरिएको छ। मेला व्यवस्थापन, पूर्वाधार निर्माण, सामाजिक सुरक्षा र सरसफाइ, घाट क्षेत्र व्यवस्थापन, मन्दिरको रंगरोगन, पार्कको व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालन, सुरक्षा व्यवस्थापन, स्नान कुण्ड व्यवस्थापन र थप धारा निर्माणलगायतका लागि करिब ८ करोड ३५ लाख रुपैयाँको लागतमा मेला आयोजना गरिएको हो। मेला परिसरमा ६ ठाउँमा हेल्थ क्याम्प सञ्चालनमा छन्।

तीन नदीको संगमस्थलको रूपमा चित्रण गरिने पनौतीमा पुण्यमाता र रोशीखोला बगिरहेको देखिन्छ। लुप्त रूपमा पद्मावती नदी पनि बगिरहेकी छन् भन्ने जनविश्वास छ। यी तीन नदीको संगमस्थल पनौतीमा स्नान गर्नाले पाप पखालिन्छ, रोग नाश हुन्छ भन्ने मान्यता छ।

संयोजक अधिकारीका अनुसार अघिल्ला मेलाहरूमा महिनाभर एक करोडभन्दा बढी भक्तालुले मेला भर्ने गरेका थिए। यो पटक कोभिड संक्रमणको डरले केही मात्रामा सहभागिता घट्यो। सुरुका केही दिन शून्य प्रायः बन्यो। १५ गतेपछि मन्दिर पुग्ने दर्शनार्थीको संख्या उच्च छ। करिब ५० लाख भक्तजनले यो पटकको मेला भर्ने अनुमान रहेको उनी बताउँछन्। मकर मेला दर्शनका लागि साधुसन्त र भक्तालुहरू छिमेकी देशबाट समेत आउने गरेका छन्। तीन नदीको संगमस्थलको रूपमा चित्रण गरिने पनौतीमा पुण्यमाता र रोशीखोला बगिरहेको देखिन्छ। लुप्त रूपमा पद्मावती नदी पनि बगिरहेकी छन् भन्ने जनविश्वास छ। यी तीन नदीको संगमस्थल पनौतीमा स्नान गर्नाले पाप पखालिन्छ, रोग नाश हुन्छ भन्ने मान्यता छ।

करिब ६० वर्षदेखि पशुपति मन्दिरलाई आश्रयस्थल बनाएका वीरगन्ज रानीघाटका ८० वर्षीय शंकर दास बाबाजी पनि पनौतीमा रहेको महादेव मन्दिर परिसरमा भेटिए। महादेवप्रतिको श्रद्धा र आस्थाले घर गृहस्थी त्यागेको दास विभिन्न मन्दिरमा आश्रय लिएर जीवन कटाउँदै छन्। वृद्धावस्थामा पुगेका उनी भगवान्कै शरणमा लीन हुन चाहन्छन्। भन्छन्, जीवनभर भिक्षा मागेर बाँचियो। अब पनि यसरी नै बाँकी उमेर कटाउने मन छ। काठमाडौं बसुन्धराबाट मेला भर्न पुगेकी सीता केसी त्रिवेणीघाटको जल शिरमा चढाउँदै थिइन्। दिदीबहिनी र भाइबुहारीसँगै मकर मेला पुगेकी उनी सोचेको पुग्छ भन्नेमा दृढ देखिइन्। काभ्रे ढुङ्खर्ककी उनी सानैदेखि मकर स्नान गर्न जानकारी दिँदै भन्छिन्, ‘भगवान्को शक्तिले मकर मेलामा स्नान गर्दा चिताएको कुरा पुग्छ। पुण्य हुन्छ, रोग लाग्दैन। यहाँ टेके मात्र पनि राम्रो हुन्छ भन्छन्।’

भनिन्छ, मन्दिर रहेको पनौती बजार एउटै ढुंगामा अडिएको छ। केसी भगवान्को ठूलो शक्तिकै कारण भूकम्पले पनि पनौती बजारलाई क्षति गर्दैन भन्ने जनविश्वास रहेको बताउँछिन्। उनका अनुसार पनौती बजारमा ढिकी जाँतो राख्दैनन्। स्नान कुण्डमा नुहाउँदै गरेकी भेटिइन्, हरिमाया तिमल्सेना। धुलिखेलबाट मकर स्नान गर्न पनौती पुगेकी उनी हरेक वर्षको माघ महिनामा मकर स्नान गर्न कहीँ न कहीँ पुगेकै हुन्छिन्। भन्छिन्, भगवान्को पावन भूमिमा आउँदा मात्रै पनि आनन्द हुने गर्छ। सारा दुःख पिर बिर्सिएर भगवान्को ध्यानमा लिन हुँदा मानसिक थेरापीसमेत महसुस हुने गर्छ।

मन्दिर परिसरमा भक्तजनहरू नाच्दै रमाउँदै कीर्तन गाउँदै गरेका भेटिन्थे। तर पनि सबैसँग मास्क थियो। मादल र हार्मोनियम बजाउँदै श्रद्धालुहरू भजनमा मग्न देखिन्थे। युवकयुवती समूह मिलाएर नाचिरहेका थिए। मन्दिरको माथिल्लो सत्तलमा कीर्तन मण्डली भजन गाउनमा मग्न देखिन्थे। यही टोलीमा देखिए मच्छेनारायण तुलाधार। भजन मण्डलीका सदस्य उनी मन्दिरमा हरेक बिहान नित्य भजन चल्ने, बेलामौका आउने जात्रा पर्व र चाडपर्व पनि मनाउने गरेको बताउँछन्। पनौतीका रैथाने तुलाधरका अनुसार मकर मेला भगवान् इन्द्रको १२ हजार वर्षे कठिन तपस्यामा आधारित छ।

तुलाधर भन्छन्, इन्द्र महाराजले तपस्या गरेको ठाउँ हो यो त्रिवेणी घाट। ऋषि पत्नीसँग अनैतिक सम्बन्ध राखेका इन्द्र भगवान्लाई ऋषिको श्राप लागेको कहानी छ। श्रापपछि इन्द्रको शरीरभर स्त्रीअंगको विकास भएको थियो रे। त्यही श्रापमोचनका लागि इन्द्र यही स्थानमा आएर तपस्या गरेका थिए भनिन्छ। लामो समय कठिन तपस्या गरेपछि उनको श्रापमोचन भयो भन्ने किंवदन्ती छ। यही मान्यता र परम्परालाई अपनाउँदै यस पवित्र स्थानमा १२ वर्षे मकर मेला आयोजना हुने गरेको छ। 

उनका अनुसार नेपालको विभिन्न ठाउँ तथा विदेशबाट समेत आएका साधुसन्त मन्दिरको यही सत्तलमा बस्ने व्यवस्था छ। उनीहरू भिक्षा मागेर मन्दिर परिसरमा पकाएर खाने गर्छन्। माघेसंक्रान्तिदेखि सुरु भएको मकर मेला माघको अन्तिम दिन सकिन्छ। सुरु गर्ने र समापन गर्ने विशेष खास विधि छैन। परम्परा जोगाउँदै स्वास्थ्य मापदण्ड अपनाउँदै माघ महिनाभर हजारौं भक्तजनले दर्शन गरेर मेला चलिरहन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.