बंगलादेशमा बाजुरा खोज्दै...
उनीहरू ‘बाध्यताका पाना पल्टाउँदा–पल्टाउँदा रहरका पाना छुट्दै गएका’ मान्छे हुन्। ‘शासकहरूले खोला तरेपछि बिर्सेका लौरा’ हुन्। ‘जीवन भुइँमै छोडेर दुःखजिलो रूख चढेका’ साहसी मानुष (मानिस) हुन्। अनि, ‘सुखको उडान भरेका तर शासकहरूले पखेटा काटिदिएका’ बि(चरा)हरू हुन्।
‘फिल्ड साइट ट्रेनिङ’का लागि कलेजले एक साता गाउँ लिने (जानुपर्ने) भयो। गाउँमा घुम्न पाइने खुसीले बर्साद्पछि तारमा लहरै झुन्डिएका पानीका थोपाजस्ता खुसीका थोपाहरू मनमा झुन्डिरहे। हर्षका सयपत्री मधुमासझैं फुलिरहे। उमंगका चंगाहरू कल्पनाको धागो हुँदै परपर क्षितिजसम्म उडिरहे। बस दौडिरह्यो, दौडिरह्यो। जति बेगले बस अगाडि जान्थ्यो, ठीक त्यति नै बेगले सडक छेउका ससाना घरहरू, बाँसका ठूलाठूला झ्यांगहरू पछाडि छुट्दैछुट्दै जान्थे। क्यामेराको रिलजस्तै।
बाँसको झ्यांगबाट सुकेका पातहरू हावाको गतिमा गति मिलाएर उड्थे, कागजको फिरफिरे उडेको जस्तो। कुनै कुनै ठाउँमा सडकको विपरीत छेउमा ठडिएका बाँसका रूखहरू सडकको केही उचाइ माथि हात मिलाएका जस्ता देखिन्थे। धरतीमा एकै ठाउँ उभिन नसकेकाहरू आकाशमा एकै ठाउँ उभिँदा रहेछन्, ठीक मान्छे जस्तै। फरकफरक जन्मथात (जन्मस्थान) भएकाहरू आर्यघाट नाउँको अन्तिम गन्तव्यमा सँगै भेटिन्छन्। पशुपतिनाथको किनारमा उभिएको बेला सोच्थें। मृत्यु नाउँको चौतारी किन यति साह्रै सुन्दर रहेछ ? ता कि त्यहाँ पुगेपछि कुनै मान्छे फिर्ता हुँदैनन्। कोही फर्किन मान्दैनन्।
बाँसको झ्यांगमा चराहरू एउटा हाँगोबाट भुर्र उडेर अर्को हाँगोमा जान्थे। कति सजिलो चराहरूको जातलाई। मन लागेको ठाउँ जान पखेटाले पुर्याइदिने। न सवारीसाधन किन्न लाखौं लाग्ने, न तेल खर्च हुने। न त सर्भिसिङ गर्ने न पाटपुर्जा किन्ने खर्च लाग्ने। आहा! मानिस पनि यस्तै सुविधामा बाँच्न पाउने भए...! मान्छेहरूको जीवनमा चाहिँ सपनामा मात्रै यस्तो हुन्छ होला।
हामीलाई बोकेर गाउँ पुग्यो बस। नदी पानी बोकेर समुद्र पुगेजस्तो। हामी बसबाट ओर्लेर बाटोमा उभियौं। हाम्रो टाउको माथि ठ्याक्कै घाम उभियो। चिसो महिनाको तातो घाम निकै प्यारो। आमा बाको पहिलो सन्तान जस्तो। कलेजका १ सय २५ जना विद्यार्थी फरकफरक बसबाट एकै पटक ओर्लिंदा वसन्तपुरको डबलीमा छरिएका परेवाका हुलजस्ता देखिए। स्वयम्भूको डाँडाबाट देखिने काठमाडौंका घरजस्ता।
‘गंगाचरा उपजिल्ला हेल्थ कम्प्लेक्स’को आँगनमा मेरो समूहलाई पिकअप गर्न हातमा डायरी र कलम लिएर एक आइमाई मान्छे उभिएको देखें। होचो घाँटी। बुद्धका जस्ता लाम्चा कान। आँखीभौं चिटिक्क मिलेका चोक (आँखा)। बाटुलो अनुहार। पुक्क फुलेका गाला। पाकेको रोटी सुन्निए जस्तो। थेप्चो नाक। नाकमाथि अर्धचन्द्रमा आकारको निधार। कम्मरसम्मै छुने लामो कपाल। घोडाको पुच्छर जस्तो। कालो अनुहारको बीचमा सेता टल्किएका दाँत। पूर्णिमाको रात नीलो आकाशमा उदाएका तारा जस्ता। निकै सुन्दर आइमाई मान्छे।
लाग्छ, उनी सगरमाथाको बेस क्याम्प नाम्चेबजार हुन्। उनी रारा जाने बाटोमा फुलेकी लालीगुराँसजस्ती। उनी हिउँ खेलेकी डाँफे हुन्। के के हुन् के के। उनी सबै चिज हुन्। उनका आँखामा से–फोक्सुन्डोको नीलो पानी छचल्किरहेछ। उनी शुक्लाफाँटाबाट खप्तड उक्लिएकी मयूर हुन्।
उनको नाम ‘नहिडा बेगम’। गाउँकी महिला स्वास्थ्य स्वयंसेविका! नाम ‘नहिडा’ भए पनि उनले हामीलाई पूरै गाउँ हिँडाइन्। बसबाट झरेर हामी ठेलामा चढ्यौं। बाटोमा कहीँ ठेलाले हामीलाई धकेल्यो अनि कतै हामीले ठेला धकेल्यौं। ढल्दै गरेको दिनले क्षितिजमा सूर्य धकेलेजस्तो। उनले हामीलाई डोहोर्याउँदै डोहोर्याउँदै गाउँसम्म पुर्याइन्! यस्तो चित्र गाउँमा पथप्रदर्शकले पर्यटक घुमाउँदा देखिन्थ्यो।
हिँड्दाहिँड्दै हामी एउटा गाउँमा पुग्यौं। गाउँ पुगिसकेपछि ‘कर्णाली ब्लुज’ मा वर्णन गरिएको गाउँ ‘मटेरा’ र ‘कटासे बजार’ खुब सम्झें! मनै त हो। ‘घामका पाइलाहरू’की प्रमुख पात्र ‘अणु’लाई खुब सम्झें। अणुलाई सम्झिँदा आफैंलाई बिर्सिएँ। हिउँले पग्लिन बिर्सेजस्तो! वास्तवमा बिर्सिनु भनेको सम्झिनु न हो। रात पर्नु भनेको बिहान हुनु जस्तो। शुक्रराज शास्त्रीले भने जस्तो ‘मर्नु फेरि जन्मिनु हो।’
घरका कोठा साँघुरा हुनेहरूका हृदयका कोठा निकै फराकिला हुँदा रहेछन्। आवासको क्षेत्रफल सानो हुनेहरूको प्रेमको क्षेत्रफल ठूलो हुँदो रहेछ।
अनुहारमा घाम परेपछि हत्केलाले घाम छेक्दै हामी एक घरबाट अर्को घर हुँदै पूरै गाउँ घुम्न भ्यायौं। आँगनमा बसिरहेका गाउँलेका आँगनमा पुग्यौं। बार्दलीमा बसेकासँग बार्दलीमै पुग्यौं। खेतमा काम गरिरहेकासँग खेतमै पुग्यौं। बारीमा तरकारी गोडिरहेकासँग बारीमै पुग्यौं। पोखरीमा माछा छोप्दै गरेकासँग पोखरीमै पुग्यौं।
बाजुरामा गाउँका घरहरू एकले अर्कोलाई हेरेर बाँचेका हुन्थे। मान्छेहरू टाढा भए पनि घरहरू नजिक हुन्थे। एउटा घरमा के पाकेको हो अर्को घरले बास्ना सुँघेरै थाहा पाउँथे। तर बंगलादेशमा गाउँका घरहरू निकै टाढा तर एकै प्रकृतिका। अर्थात्, एकै आकार प्रकारका। यस्ता घरहरू देख्दा लाग्यो, यिनीहरू एउटै बोटको फरकफरक हाँगोमा फुलेका फूलहरू हुन्।
हामी गाउँमा किनारा पसल चलाएका एक स्थानीय ‘साजल अख्तर’को घर पुग्यौं। केहीबेर कुराकानी गर्र्यौं। साजलकी श्रीमती पोखरीबाट एक बाल्टी माछा छोपेर आइन्। उनी लजाइन्। दोपट्टाको एउटा कुनाले मुख छोपिन्। उनलाई उनका स्वामीले (श्रीमान्ले) हामीलाई लाल चा (फिक्का रातो चिया) पकाउन लगाए।
एक छिनपछि अफ्रुजा बुलबुल (साजलकी श्रीमती) चिया मात्रै हैन। चियासँगै बिस्कुट, अंगुर, केरा, सुन्तला र अम्बाको ठूलै प्लेट लिएर आइन्। हामीले आफूलाई मनपर्ने र खान मन लाग्ने परिकार लियौं। उनीहरू मुस्लिम हुन्। हामी हिन्दू। मुस्लिमको घरमा हिन्दूलाई यस्तो सत्कार! म तीनछक परें। नेपाली साथीसँग कानेखुसी गर्न थालें। यस्तो चित्र बिरलै देख्न पाइन्छ। दलितहरूलाई आँगनको डिलमा बसाल्दै सुनपानी छर्किने मेरो गाउँका लागि यो दृश्य नयाँ थियो। त्यो रोगका लागि यो औषधि सावित भो।
प्रायः घरहरू फराकिला। आँगन झन् फराकिला। घरभित्रका कोठा साँघुरा। हामीलाई गरेको आतिथ्य सत्कार देखेर भन्न मन लाग्यो, ‘घरका कोठा साँघुरा हुनेहरूका हृदयका कोठा निकै फराकिला हुँदा रहेछन्। आवासको क्षेत्रफल सानो हुनेहरूको प्रेमको क्षेत्रफल ठूलो हुँदो रहेछ।’ सबै धर्मको सार एउटै हुँदो रहेछ भन्ने महसुस मैले यहाँ पनि गरें।
आईएस्सी पढ्दाताका साथी थियो, महोत्तरीको। यतिबेला उसलाई खुब सम्झें। मेरो दसैंमा ऊ मलाई भेटेर शुभकामना दिन्थ्यो। म उसको बकर ईदमा उसलाई भेटेर शुभकामना दिन्थें। यसरी हामी फरक धर्मका मित्र भेटेर आत्मीयताको माला साटासाट गथ्र्यौं। उसले छठको ‘खजुरिया’ खुवाउँथ्यो। उसलाई तिहारको ‘फिनी रोटी’ खुवाउँथें।
यसरी बाजुराका गाउँदेखि बंगलादेशका गाउँसम्म पुग्दा एउटै कुरा थाहा पाएँ–‘गाउँमा देश कहिल्यै नपुग्दो रहेछ ! गाउँ पुग्छु भनेर हिँडेको देश बाटोमै हराई जाँदो रहेछ। शीतको थोपाजस्तै बिलाई जाँदो रहेछ !’ गाउँलेहरू देश नबाँच्दा रहेछन्। सास हुनु मात्रै बाँच्नु हैन रहेछ। उनीहरूलाई हेरेर महसुस गरें, ‘जीवन पुस्तकका सूत्रहरूमा खोजेर नभेटिँदो रहेछ। उपन्यासका अक्षरहरूमा भेटिने जीवनभन्दा ससाना प्रयासका त्यान्द्राहरू उनेर बनेको मेहनतको फूलमा भेटिने जीवन निकै सुन्दर हुँदो रहेछ।’
फूलमुनिको काँडाजस्तो हो, गाउँले बाँचेको जीवन। एक अञ्जुली जीवन बाँच्नेहरूका सपना चाहिँ ‘रुसको नक्सा’ जत्रा हुँदा रहेछन्। गाउँका मान्छेहरूको मेहनत चाहिँ ‘चीनको ग्रेटवाल’ जत्रै लामो हुन्छ।
‘फूलमुनिको काँडाजस्तो हो, गाउँले बाँचेको जीवन। एक अञ्जुली जीवन बाँच्नेहरूका सपना चाहिँ ‘रुसको नक्सा’ जत्रा हुँदा रहेछन्। गाउँका मान्छेहरूको मेहनत चाहिँ ‘चीनको ग्रेटवाल’ जत्रै लामो हुन्छ। उनीहरूले पाउने सफलता चाहिँ ‘थानकोटको उकालो’ जत्रो मात्रै।
यहाँ उभिएकाहरू कोही मेरा आमा हुन्। कोही बा हुन्। कोही काका हुन्। कोही भाउजू हुन्। उनीहरू ‘बाध्यताका पाना पल्टाउँदापल्टाउँदा रहरका पाना छुट्दै गएका’ मान्छे हुन्। उनीहरू ‘शासकहरूले खोला तरेपछि बिर्सेका लौरा’ हुन्। उनीहरू ‘जीवन भुइँमै छोडेर दुःखजिलो रूख चढेका’ साहसी मानुष (मानिस) हुन्। उनीहरू ‘सुखको उडान भरेका तर शासकहरूले पखेटा काटिदिएका’ बि(चरा)हरू हुन्।
एउटा मनले भन्छ, ‘गाउँलेहरू देशै नभएका अनागरिक हुन्। श्रमिकहरूको आँगन हेर्ने ऐना खिया लागेको हुँदो रहेछ।’ठीक त्यति नै बेला अर्को मनले भन्छ, ‘त्यस्तो होइन। देशै नभएर पनि देश बाँच्न सक्ने भनेकै गाउँलेले हो। गाउँका श्रमिकका छोराछोरी सिंहदरबार पुर्याउने गाउँले हुन्। उनीहरू गाउँबाट सिंहदरबार पुगेपछि नेता बन्छन्। यसमा न गाउँलेको दोष, न त श्रमिकको नै।’
मभित्रका दुई मन बेलाबेला एकआपसमा लडिरहन्छन्, नदीका छाल र समुद्र लडे जस्तो। एउटा बाख्रीका जुम्ल्याहा पाठी लडे जस्तो।हिँड्दाहिँड्दै अर्को घरमा पुग्यौं। हामीलाई बस्न कुर्ची फिजारिए। नजिक गएँ। पान चपाइरहेकी आइमाईसित कुरा गरें।
- सलाम वालेकुम! क्या मन आसे ? (सञ्चै\आरामै। के छ ?)
- आमी अनेक भालो। (एकदम ठीक छु।)
- आप्ना र पढाइसुनाइ कतो भावी ? (कति पढ्नु भएको छ भाउजू ?)
- ना। आमी पढी नाई। (मैले पढेको छैन।)
- आप्ना र बसाइ कतो जोन आसे ? (घरमा कति जना हुनुहुन्छ ?)
- स्वामी (श्रीमान्)। एक्टा छेले (एउटा छोरो।) चार्टा मे गुला (चार ओटी छोरी।)
बाँकी प्रश्न अरू साथीले सोधे। म चुपचाप बसें। च्यातिएका पैताला देखें। नमीठो अतीत आएर मनको ढोकामा बस्यो। ढोकामा आएर बस्नेहरू निकै अप्ठ्यारा हुन्छन्। न भित्र जानेलाई सहजै छिर्न दिन्छन्, न त बाहिर जानेलाई सहजै जान दिन्छन्। कहिलेकाहीँ जिन्दगीमा ‘अभाव’ पनि यसरी ढोकामै आएर बसिदिन्छ। ती भाउजूका फाटेका पैताला देख्दा मेरो मन पटक पटक च्यातियो। म धेरै ठाउँमा भत्किएँ। कतै भाँचिएँ। कतै पोखिएँ। कतै रित्तिएँ अनि कतै टुक्रिएँ।
टुक्रिनु भनेको खतराको संकेत हो। सिसा टुक्रेपछि बनेका प्रत्येक टुक्राहरू आफैंमा हतियार हुन्। त्यसैले ‘टुक्रिनु’सँग डर त छ तर पनि कहिलेकाहीँ त लाग्छ, आफू टुक्रिएर सिंहदरबारको गेटमा बसूँ। ता कि मेरा प्रत्येक टुक्राहरूले शासकको पैताला हैन, आँखा घोचून्।
एकछिन मन शान्त भो। मेरो खुसी टाल्दाटाल्दा फाटेका बाका पैताला सम्झें। मलाई संसार देखाउन आफ्नो आँखाको ज्योति गुमाएकी हजुरआमा सम्झिएँ। मलाई उज्यालो किनिदिने आफू अँध्यारोमा बसेकी आमा सम्झिएँ। यति मात्रै हैन, मलाई बिर्सिनेहरूलाई पनि सम्झिएँ।
भाषा फरक, देश फरक, भूगोल फरक। भएका मान्छेहरूका पीडा चाहिँ एउटै हुँदा रहेछन्। आँसु एउटै हुँदो रहेछ। घरसम्म आउने अभावको बतास एउटै हुँदो रहेछ। यी गाउँलेहरूका समस्या देख्दा बुवाको भनाइ बहुत सम्झिएँ। बा भन्नुहुन्छ, ‘समस्याको पुलमुनि समाधानको पानी बगिरहेको हुन्छ।’
आज ‘गंगाचरा’मा म बाजुरा बाँचिरहेछु। गंगाचरा मेरो ईष्र्या गरिरहेछ। बाजुराको आफ्नै गाउँको सौंराईले (सम्झनाले) चिमोटिरहन्छ। सुईं लाउँदा सुईंले घोचेजस्तो घोचिरहन्छ। सपनामा पनि झस्काइरहन्छ। अञ्जुलीभरि आत्मीयताका फूलहरू लिएर प्रेमको मीठो कोसेली बोकी बाजुरा ढोग्न कहिले पुगुँपुगुँ भइराख्छ। बाजुराको माटोको स्वाद बंगलादेशका माछाहरूले नदिँदा रहेछन्। चोतोको (गान्टे मुलाको) अचारको स्वाद गाँजरले नदिँदो रहेछ।
आफ्नो काम शेष भएपछि (सक्किएपछि) हामी जुन बाटो आयौं। उही बाटो हुँदै फर्कियौं। बाटोमा आउँदा जाँदा सडकको छेउमा सुकाउन राखिएका कहिल्यै ‘घुटे’ (काठको मसिनो सिन्को वरिपरि गोबर लगाई सुकाएको एक प्रकारको दाउरा) देखें। गुइँठा देखेको थिएँ। ‘घुटे’ यहाँ आएर देखें। म घुटेका लागि नयाँ। घुटे मेरा लागि पनि नयाँ। घुटेलाई यहाँको भाषामा ‘नड्डा’ पनि भन्दा रहेछन्।
प्रायः प्रत्येक घरको आफ्नो निजी ‘पुकुर’ (पोखरी) हुँदो रहेछ। पोखरीको हिलोमा ढकमक्क फक्रेका कमल फूलहरूले हामीलाई नमस्कार गरेको जस्तो देखिन्थ्यो। कमलका फूलहरू सम्झिँदा देशका कलिला फूलहरू सम्झें। परार साथीको घरमा मुस्कुराउन गएको ‘निर्मला पन्त’ नाउँको फूल फेरि कहिल्यै मुस्कुराउन नपाउने गरी भाँचियो। पोहोर स्कुलबाट फर्किंदै गरेकी ‘भागरथी’ नाउँको फूलको बोट नै निमोठियो।
आफ्नो घरमा सधैं सुवास दिइरहने कैयौं फूलको बोट घरमै उखेलिन्छ, मेरो देशमा। कहिलेकाहीँ त लाग्छ, राष्ट्रिय फूल लालीगुराँस सुरक्षित भएको देशमा किन छोरी नाउँका फूलहरू असुरक्षित छन् ? धोबीले लुगा चुटेजस्तो यो प्रश्नले मलाई बेस्सरी चुट्छ।
कमलको फूलबाट यो पाठ पनि सिकें। भुइँमा फुलेकाहरूलाई न झर्ने डर हुँदो रहेछ, न खस्ने चिन्ता नै। उचाइमा फुल्नुभन्दा भुइँमा फुल्नु निको रहेछ। फर्किंदा गाउँका बालबालिकाले हामीलाई परसम्म हेरिरहे। उनीहरूलाई चकलेट दिन्छौं भनेर हामीले पर्याप्त फोटो खिच्यौं। नजिकै कतै पसल नभेटिएकाले चकलेट दिन पाएनौं। पूरा गर्छु भनेका अपूरा कुराले नमीठो गरी चिमोटिरहेछन्।
बालबालिकालाई दिएको आश्वासन त्यस्तै भयो। गाउँमा गँगटो समात्दा उसले चिमोटे जस्तो। उनीहरू सोच्दा हुन्, ‘कस्ता मूर्ख रहेछन्। नेताले जनता लोभ्याएजस्तो लोभ्याएर मात्रै गए।’ उनीहरू मुस्कुराए। बच्चा मुस्कुराएको दृश्य चलचित्रमा मात्रै हैन, जीवनमा पनि निकै सुन्दर देखिँदो रहेछ। बदलामा हामी पनि मीठो हाँसो हाँसिरह्यौं। गाउँ छुट्दाको अन्तिम घरका काकाकाकीले हात हल्लाइरहे। एकोहोरो ती काकीको अनुहारमा हेरिरहेका काकाले काकीलाई यो गीत सुनाउँदा हुन्,
कालो केशमा रेलीमै बाँधेको रिबन
तिमीलाई हेर्दै रेलीमै कटाउँला जीवन...!