डाक्टर चित्रको अमर पत्र
‘निको भए दुर्गम जान्छु। निको नभए देवघाट जान्छु। फर मि, लाइफ इज बिग इल्युजन, डेथ इज रियालिटी। आई एम जस्ट होपिङ फर पेनलेस डेथ।’
बीसौं शताब्दीका अमेरिकी लेखक एवं विश्व शान्ति पैरवीकर्ता नोर्मन कजिनले भनेका थिए, ‘मृत्यु जीवनमा भयानक क्षति होइन। भयानक क्षति त त्यो हो, जसको जीवन बाँच्दा बाँच्दै मृत्यु तुल्य हुन्छ।’
पूजा पराजुली वाग्ले पछिल्ला ८ वर्ष यस्तै अनुभूति गरिरहेकी छन्। मृत्युले खोसेर लगेका पति डा. चित्रप्रसाद वाग्लेको अभावमा आफैंलाई हराएको ठान्छिन् बेला–बेला। अनि, सम्हाल्छिन् आफूले आफैंलाई, ‘जीवन हिँड्ने बाटो कहाँ सोझो मात्र हुँदो रहेछ र ! यो त बक्ररेखामा चल्दो रहेछ।’
दुर्गममा अनुकरणीय सेवा गरेकामा सरकारले ‘सर्वोत्कृष्ट डाक्टर’ उपमा दिएका चित्रप्रसादको असल कर्म भने राज्यले लामो समय ग्रहण गर्न पाएन। गाउँ–गाउँमा हजारौंलाई रोगबाट छुटकारा दिलाएका थिए उनले। उनी स्वयं बिरामी हुँदा भने उपचार गर्न गच्छेले भ्याएन। आन्द्राको छेउमा रहेको एपेन्डिक्सको क्यान्सरबाट मुक्तिको आसमा उनले भारतको नयाँ दिल्लीमा १३ महिना उपचार गरे। ७१ लाख रुपैयाँभन्दा बढी सके।
पार लागेन।
‘त्यहाँका डाक्टरले अमेरिका वा क्यानडा लगेको खण्डमा निको हुनसक्छ भनेका थिए’, २०७० को त्यो क्षण सम्झन्छिन् पूजा, ‘हामी त लैजान तयार थियौं। भएको सम्पत्तिमा मात्र सकिन्छ भनेर उहाँ मान्नुभएन।’
त्यही छेका नायिका मनीषा कोइराला अमेरिका पुगिन्। उपचार गराएर फर्किएको समाचार छ्यापछ्याप्ति थियो। कोइरालाले उपचार गराएको अस्पतालबारे डा. वाग्लेले पनि खोजबिन गरे। इमेल पठाएर शुल्कको विषयमा बुझे। सुरुको परीक्षणमै डेढ लाख डलर (डेढ करोड रुपैयाँ) तिर्नुपर्ने प्रत्युत्तर आयो। उनी झन् निराश भए।
डा. वाग्लेका शुभचिन्तक भने धेरै थिए। उनको अवस्था सञ्चारमाध्यममा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत सहयोग संकलन गरियो। तर, अमेरिका लगेर उपचार गर्न पुग्ने जुटेन। भारतबाट नेपालै फर्किएर २२ औं केमोथेरापी लिएपछि फेसबुकमा उनले एउटा स्टाटस लेखे, ‘निको भए दुर्गम जान्छु। निको नभए देवघाट जान्छु। फर मि, लाइफ इज बिग इल्युजन, डेथ इज रियालिटी। आई एम जस्ट होपिङ फर
पेनलेस डेथ।’
आफ्नो कसरी ज्यान जाँदैछ, उनले पलपल भोगे। सहपाठी डा. मुक्तिराम श्रेष्ठसँग भेटघाट हुँदा उनले मृत्यु निश्चित भएको बताउने गर्थे। ‘छोराछोरी साना छन्। मृत्युलाई केही समय पर सार्न पाए सबै सेटल मिलाउन हुन्थ्यो’, डा. वाग्लेको भनाइ उद्धृत गर्दै डा. श्रेष्ठले सुनाए।
क्यान्सरको दुखाइ खप्नै गाह्रो। उनी सहन भरमग्दुर प्रयास गर्थे। तैपनि व्यथा लुकाउँथे। जीवनको अन्तिम क्षणतिर खल्तीमा कडा ‘पेनकिलर’ राख्थे। ‘परिवारलाई पीडा नदेखाउने। औषधि डबल डोज पनि खान्थे’, डा. श्रेष्ठ सम्झन्छन्। उनका अनुसार पीडा खप्न नसकेर कहिलेकाहीँ डा. वाग्ले निद्रामै बर्बराउँथे, ‘वार कि पार गर्दिनुस्, भगवान्।’ मृत्युसँगको युद्धमा उनी वार भएनन्। पार भए।
ooo
विदेशको अवसर छाडेर देशकै कुनाकन्दरा रोजेका थिए उनले। दैनिक १८ घण्टा सेवामा खटिन्थे। उनको ९० प्रतिशतभन्दा बढी समय दूरदराजका बिरामीको घाउमा मल्हम लगाउन बित्यो। तर, सरकारले समयमै ध्यान नदिँदा जीवनको उत्तराद्र्धमा शरीरभरि क्यान्सर फैलियो। ४७ वर्षमै अस्ताए। बाँचिन्छ कि भन्ने आसैआसमा आफूसँग भएको भिडियो एक्सरे, अल्ट्रासाउन्डसमेत बेचेँ। अनि, सरकारलाई चिठी नै लेखे, ‘कि मलाई औषधि उपचार गर्न सहयोग गर। कि गोली ठोकेर मारिदेऊ।’
ooo
चित्रसँग विवाह हुँदा पूजा जम्म २१ वर्षकी थिइन्। चित्र भने ३५। त्रेतायुगकी सीताझैं डा. वाग्ले जहाँ पुग्छन, पछि–पछि लागिन्। वाग्लेको निधनपछि छोराछोरी हुर्काउने अभिभारा अब उनकै काँधमा छ। डा. वाग्लेको देहावशानपछि पूजा केही समय तनावमा डुबिन्। त्यसरी डा. वाग्लेको सपना पूरा नहुने महसुस गरिन्। जिम्मेवारी बहन गर्दै हिम्मत बटुलिन्। पारिवारिक विरासत पूरा गर्न कम्मर कसिन्। छोरीहरूलाई बाबाको अभाव महसुस हुन नदिन प्रयत्नशील छिन् उनी अहिले।
२००१ साल अप्रिल १। पहिलो सन्तानका रूपमा अंकित जन्मिए। घरपरिवारमा खुसी छायो। तर, जन्मने बित्तिकै रोएनन्। पछि थाहा भयो, उनी अपांगता भएका रहेछन्। अक्सिजन लगाएर बचाइयो। एक दुई वर्षमा निको भए। डा. वाग्लेले उपचारका लागि विभिन्न देश पुर्याए।दुई छोरी १२ र ८ कक्षामा पढ्छन्।
ooo
दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारका क्रममा पूजाले डा. वाग्लेको डायरी सुटुक्क पल्टाइन्। त्यहाँ उनले आफूलाई सम्बोधन गरी लेखेको पत्र देखिन्। तर, उनी श्रीमान् डाक्टर भएकाले सञ्चो भइहाल्छ भन्नेमा विश्वस्त थिइन्। ‘फ्याट्ट जानु होला भन्ने कहिल्यै सोच आएन। सञ्चो हुन्छ भन्ने नै थियो’, उनले भनिन्।
काठमाडौं, टोखा धापासीमा बसाई छ। दुई तला भाडामा दिएका छन्। त्यसबाट उठेको भाडाले दैनिक खर्च चल्छ। बीबीएस पढ्दा–पढ्दै विवाहमा बाँधिएकी उनले अहिले छोरीहरूको इच्छा पूरा गर्ने अर्जुनदृष्टि दिएकी छन्। ‘पहिला–पहिला त अलिअलि फाट्टफुट्ट लेख्थें। अहिले धेरै भयो लेखेकी छैन। के विषयमा लेखुँ भन्ने पनि हुँदो रहेछ’, उनले भनिन्।
लेख्दालेख्दै सुन्निए आँखा नजिकै माइती छ। बुवा–आमाको आडभरोसा छ। आफू बिरामी भए पछि डा. वाग्लेले डायरी लेख्न सुरु गरे। पारशप्रकाश नेपालले सम्पादन गरेको ‘डाक्टर चित्र’ कृतिको आधा भागमा त्यही डायरीका पानाबाट उतारिएका छन्। ‘रोगले च्याप्दै गएपछि लेख्न सक्नुभएन। बाँकी भाग मैले लेखेर पुस्तक तयार पारेँ’, उनले स्मरण गरिन्, ‘रुँदै लेख्दै गरेँ। सबै घटना सम्झँदा निकै गाह्रो भयो। अन्तिम भाग लेख्दा त आँखा सुन्निएको थियो।’
ooo
पूजाको घरमा बोलाउने नाम यशोदा हो। डा. वाग्ले स्नेहपूर्वक यशु भन्थे। अहिले पनि उनको कानमा गुञ्जिरहन्छ, ‘तिमी स्ट्रङ हुनुपर्छ, यशु।’ पूजालाई लाग्छ, ‘सहनुको हद भोग्नेलाई थाहा हुँदो रहेछ। सम्हालिन स्ट्रङ हुनै पर्ने रहेछ।’
ooo
९ वर्षअघि थाइल्यान्डमा पढ्न जाँदा क्यान्सर रोग पहिचान भएपछि डायरीमा श्रीमतीलाई सम्बोधन गरी डा. चित्रले लेखेको मार्मिक पत्र
ooo
प्रिय पूजा,
धेरै धेरै प्यार।
चिठी लेख्ने चलन गइसकेको बेला, दुःखसुख आदानप्रदान गर्ने माध्यम फोन, नेट, मोबाइल हुँदाहुँदै पनि यो चिठी पाउँदा अचम्म लाग्ला। यो कुरा म डाइरेक्ट व्यक्त गर्न सक्दिनँ। मलाई त्यति लामो कुरा फोनमा बोल्ने हिम्मत नभएको हो। ‘कति नामर्द रैछ मेरो बूढो’ भनेर नसोच्नू है !
थाइल्यान्ड आउनुभन्दा अगाडिदेखि दुखिरहेको दाहिने कुम यहाँ पनि दुखिरह्यो। विभिन्न ठाउँमा देखाएँ, जँचाएँ। सबैले हड्डीको रोग नै भने। डेढ महिनासम्म दुखाइ सञ्चो नभएपछि आफैंले नै राम्रो क्यान्सर अस्पतालमा टेस्ट गराएँ। सीटी एब्डोमेन, युएसजी, सीईए इन्डिकेटर्स आदि जाँच गराएँ। रिपोर्ट डेढ घण्टाभित्रै आयो। सबै टेस्टमा ‘पोजिटिभ फाइन्डिङ फर क्यान्सर एपेन्डिक्स’ देखियो। एपेन्डिक्सको क्यान्सर फोर्थ स्टेजमा पुगिसकेको डायग्नोसिस भयो। खिन्न भएँ; रुन मन लाग्यो। तर, कन्ट्रोल गरे“। अरूलाई दुःख देखाउन मन लागेन। यो स्टेज सञ्चो हुने खालको स्टेज होइन। सर्भाइभल बढाउन प्रयास गर्ने मात्र हो। हेर, हाम्रो परिवार धेरै सम्पन्न होइन। थाइल्यान्डमा उपचार सम्भव छैन। त्यसैले यसको औषधि–उपचारको लागि नेपाल नै आउँछु। अनि सल्लाह गरौंला।
तिम्रा र मेरा खुसीका दिन अब सकिए, पूजा ! अब प्रत्येक पाइलामा कठिनाइ रहनेछ। मभन्दा तिमी बलियो हुनु आवश्यक छ। किनकि, तिमीले मेरो जीवनमा र मैले तिम्रो जीवनमा बनाएका योजना सबै चकनाचुर भए। मान्छे जन्मेपछि मर्नु अवश्य पर्छ; यो ध्रुवसत्य कुरा हो। त्यसैले सम्पूर्ण केटाकेटी र घरको अभिभारा तिमीलाई छाडी जाँदै छु। लाइफ एक्सटेन्ड गर्न कोसिस गरौंला। तर, धेरै लम्ब्याउन सक्दैनौं।
यो समाजमा संघर्ष गर्न अवश्य पर्नेछ, जसबाट तिमी पछाडि हट्ने छैनौ। केटाकेटीको अभिभावकत्व मेरो सट्टा तिमीले नै गर्नु छ। केटाकेटीलाई राम्रो मान्छे बन्न सिकाउनू। राम्रो मान्छे सधैं सफल हुन्छ। दीनदुःखीको सेवामा रमाउन सिकाउनू। सोसल वर्क नै ठूलो काम हो। त्यसप्रति आकर्षित गराउन प्रयास गर्नू। म भएको भए कति राम्रो हुन्थ्यो ! तर, म अभागी रहेछु। जुन समयमा तिमीलाई मेरोसाथ चाहिने हो, त्यो बेला तिमीले एक्लै काम गर्नुपर्नेछ।
तिमीलाई थाहा छ, कुनै पनि श्रीमान् र श्रीमतीको सँगै डेथ भएको छैन। त्यसैले एक न एकले जिम्मेवारी लिनु नै पर्छ। तिमी अगाडि पर्यौ।
जीवनलाई सहजतापूर्वक लिई अगाडि बढ्नेछौ।
अरू के लेखूँ ! केटाकेटीहरूमा प्यार।
उही तिम्रो श्रीमान्,
चित्र
रङनाम अपार्टमेन्ट,
बैंकक
ooo
हालै श्रीमती पूजाले लेखेको त्यसको प्रत्युत्तर (तल)
ooo
डियर मुटु,
‘डाक्टर चित्र’ पुस्तकको पाना पल्टाउँदै जाँदा आज अनायसै हजुरले अन्तिम बेलामा मलाई सम्बोधन गरेर लेखेको प्रेमपत्रमा आँखा गयो ! हुन त त्यो पत्र मैले हजुरको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारको क्रममा छँदा सुटुक्क डायरी पल्टाएर हेरेको थिएँ र त्यसपछि फेरि दोहोर्याएर हेर्ने हिम्मत जुटाउन सकेको थिएन ! फेरि त्यो बेलामा मलाई पूर्ण विश्वास थियो कि हजुरलाई निको हुन्छ भनेर अनि यस्तो नचाहिने कुराहरू नलेखे नि हुने जस्तो लागेको पनि थियो ! तर खै कहाँ के पुगेन।
एकाएक भगवानले हजुरलाई हामीबाट जबर्जस्ती छुटाएर लैजानुभो। कास भगवानले हजुरलाई निको हुने मेरो त्यो विश्वासलाई त्यसरी धुजा धुजा नगराइदिएको भए आज मेरो आँसुका ढिक्काहरू यो पत्रमा पोखिन पाउँदैनथ्यो होला। कास हजुरको छत्रछायाँ हाम्रो सानो परिवारमा रहिरहन्थ्यो !
प्रिय,
जब ग्रान्डी अस्पतालको आईसीयूमा हजुर अन्तिम अवस्थामा छट्पटाइरहेको मैले बाहिर सिसाबाटै हेरें। हजुरको आँखाले मलाई खोजिरहेको थियो। मेरो हिम्मत नै भएन नजिक जाउ अनि हजुरको हात थामेर म आफ्नो जिम्मेबारी राम्रोसँग निभाउनेछु। छोरीहरूलाई असल बाटोमा हिँड्न सिकाउनेछु भनेर हजुरलाई सम्झाउन अनि विश्वास दिलाउने त्यो आँट नै आएन सरी !
हजुर आफैं भन्नुस् न आफ्नो प्रियलाई हेर्दा हेर्दै आफ्नो आँखाको सामुन्यबाट सधैंको लागि छोडेर कसरी जाउ भनेर बिदाइ गर्न सक्थें र म ? आठ वर्ष बितिसकेछ ! थाहा छैन हजुरबिनाको यो आठ वर्ष कसरी बित्यो। जम्मा ३५ वर्षकी रहेछु हजुरलाई बिदाइ गरेर पठाउँदा ! सेतो वस्त्रमा हजुरको क्रिया बस्दा भेट्न आउने धेरैजसोले भन्नुहुन्थ्यो ‘छोराछोरीको मुख हेरेर बस्नु है’ खै के लागेछ कुन्नी उहाँहरूको मनमा ! यदि मेरो ठाउँमा कुनै पुरुष हुन्थ्यो भने उसलाई अर्को बिहे गर्न मिल्दैन भनेर घाटसम्म पनि जान दिँदैनथ्यो यो समाजले ! अनि पीर नगर्नु हामी अझ राम्रो केटी खोजौला भनेर सान्त्वना दिनेहरूको भीड उत्तिकै हुने थियो !
हाम्रो समाजमा किन यस्तो भेदभाव ? एकल महिला अनि एकल पुरुषलाई हेर्ने दृष्टिकोणमा किन फरक ? समाज बदल्न ठूलाठूला भाषण छाँटेर मात्र कहाँ हुन्छ र ! सबैभन्दा पहिला त हाम्रो विचार अनि एकल महिलालाई हेर्ने दृष्टिकोण बदल्न जरुरी छ। खै कहिले आउला र त्यो परिवर्तन ? खैर मेरो मनमा भने यिनी हाम्रो सानासाना बच्चाहरूलाई लिएर देखेका सपनाहरू मात्र दौडिरहेका हुन्थे। त्यो बाहेक जिन्दगीका अरू हाम्रा सँगै हात समातेर आँखा चिम्ली देखेका सपना बाँकी नै रहेन ! शायद हजुरको चितासँगै सल्किसकेछ क्यार !
फेरि किताबको पाना पल्टाउँदै जाँदा छोरीहरूलाई सम्बोधन गरेर लेख्नु भएको चिठीमा आँखा एकछिन टक्क अडियो ! कति छिटो आँखा भरिएर मुटुमा गाँठो परेछ ! बितेको आठ वर्ष हजुरको छोरीहरूलाई लिएर देखेका सपनाहरूमै आफूलाई सीमित राखेछु ! बच्चाहरूलाई समय दिन पाइँदैन कि भनेर कतै जागिरतिर लाग्ने सोचसम्म गराइन। थाहा छैन म कति सफल रहे अनि रहनेछु भविष्यमा पनि ! तर मैले आफूले लागेपुगेसम्म आमाबाबा दुवैको कर्तव्य पालना गर्दैछु र जिन्दगीको कुनै पनि मोडमा बाबाको कमी महसुस नहोस् भनी आफूले सकेको हरसम्भव प्रयास गरी नै रहनेछु !
थाहा छ ठूली छोरी अहिले १२ क्लासमा पढ्दैछिन् त्यो पनि हजुरको सपनाको कलेज ‘सेन्ट जेभियर्स माइतीघर’ हजुरको छोरीहरूलाई लिएर देखेका थुप्रै सपनाहरूमध्ये एउटा त्यो सपना पूरा भएको छ ! अरू बाँकी सपनाहरू पनि समयसँगै विस्तारै पूर हुँदै जानेछन् ! आशिका ज्ञानी छिन् !
हजुरको पत्र बेला बेलामा हेरिरहेकी हुन्छिन ! अब १२ सकेपछि आशिकाले हजुरको सपनालाई आत्मशिरोपर गर्दै अघि बढ्नेछिन् ! मेरो इच्छा त नानी डाक्टर नै बनेर समाजमा असल नागरिकको परिचय बनाउँदै दीनदुःखीको सेवामा लागिदिए हुन्थ्यो, अनि बाबाको अधुरो सपना पूरा गरे हुन्थ्यो भन्ने हो ! अब हेरांै १२ सकेपछि नानीको इच्छा के हुन्छ ! हामीले बाटो देखाउने मात्र हो ! दबाब दिन पनि हुँदैन ! नानी आफैं समझदार छिन् ! आफैं राम्रोसँग सोचेर अगाडि बढ्नेछिन् ! भोलिको दिनमा आफूलाई एउटा सफल व्यक्तिको रूपमा स्थापित गरेर देश र समाजको सेवामा पक्कै आफूलाई समर्पित गर्नेछिन् !
सानी आरुषी अझै अलि सानै छिन् ! अहिले त्रियोग स्कुलमा ८ कक्षामा पढ्दैछिन् ! उनीलाई आईटीतिर रुचि छ सोही अनुरूप अगाडि बढाउने विचार गरेकी छु ! पढाइ पनि राम्रो छ। छोरीहरूको चिन्ता नलिनु ! म छु नि ! अलिकति चिन्ता भनेको बाबुको हो ! बाबुलाई पनि होस्टलमा राखेको छु ! त्यहाँ सर मेडम असाध्यै असल हुनुहुन्छ,माया गर्नुहुन्छ ! बेलाबेलामा छुट्टी हुँदा घरमा ल्याउने गरेको छु ! खै किन हो बाबुको कुरा जब आउँछ आँखा भरिएर आउँछ ! उसको लागि मैले खासै केही गर्न सकिनँ ! खै थाहा छैन भगवान् पनि छन् कि छैनन् जस्तो लाग्छ।
कि जीवन दिँदै नदिनु दिएपछि त पूरै दिनु नि ! बिचरा त्यो अबोध बालकले कसको के बिगारेको थियो होला र पूर्वजन्ममा पनि ! कसैकसैले पूर्वजन्मको फल हो भन्ने गर्छन् र यहाँ पूर्वजन्मको प्रसंग निकालेको !
के गर्नु आफूले सोचेजस्तो केही नहुने। परिस्थितिसँग सम्झौता गर्नुको अरू के विकल्प रह्यो र जिन्दगीमा ! तर पनि बाबु आफैं ट्वाइलेट जाने र भोक लाग्यो भने इशाराले नै सही आफैं मागेर खान सक्नेसम्म भइदिए छोरो डाक्टर बराबर हुने थियो !
अन्तिम समयमा पनि हजुरलाई चिन्ता बाबुको नै थियो बढी त्यसैले त होला आफूलाई निको नहुने अब भन्दै बारम्बार छोरालाई लिएर त्रिशूलीमा हाम फाल्छु भन्नुहुन्थ्यो। कति हतोत्साही हुनुभएको थियो ! अहिले बसेर सोच्छु कहिलेकाहीँ म त भविष्यलाई लिएर कति अनविज्ञ रहेछु त्यो बेलामा ! अहिले पो सबै जिम्मेवारी आफ्नो काँधमा आउँदा अनि आमा बाबा दुवैको जिम्मेदारी निभाउँदा पो बल्ल त्यो बेलाको हजुरको प्रत्येक बोली अनि बोलीसँगसँगै निस्किएका हरेक थोपा आँसुको मूल्य बुझ्दैछु अनि प्रेम शब्दको वास्तविक अर्थ बुझ्दैछु !
त्यो बेलामा राज्यले गरेको बेवास्ताले हजुरको आत्मबल दिनप्रतिदिन कसरी गिर्दै गइरहेको थियो म नजिक बसेर टुलुटुलु हेर्न बाध्य थिए ! अनि त्यो बेलामा आम नेपालीको माया एकदम विशेष थियो ! देश विदेशमा रहनुहुने सबैजसोले अमेरिकासम्म उपचारको लागि सक्दो कोसिस गर्नुभएको थियो त्यो गुन म जिन्दगीभर बिर्सने छैन। तर के गर्नु सबैभन्दा ठूलो दुश्मन त रोग र त्यसमाथि राज्यको बेवास्ताले गर्दा गिरेको आत्मबल नै रह्यो। हाम्रो लाखौं कोसिस सबै बेकार भयो ! नियतिको अगाडि सबै झुक्न बाध्य भयौं ! राज्यले त डाक्टर चित्रजस्तो राष्ट्रसेवक कर्मचारी अरू पनि पाउला तर मैले डाक्टर चित्रजस्तो श्रीमान् अनि मेरो नानीहरूले हजुर जस्तो बाबा यो जन्ममा त अब कहाँ पाउँनु र ! हाम्रो त सर्वस्व गुमिसकेको छ ! हाम्रा बच्चाहरूले त बाबाको माया कस्तो हुन्छ भन्ने महसुस गर्नै पाएनन ! कस्तो भाग्य ! छोडौं अब दुःखको कुरा मात्र कति गर्नु !
हजुरलाई थाहा छ ? अहिले पनि डाक्टर चित्र नाम हरेक नेपालीको मन मुटुमा बसेको छ नि ! अरे कमाइ भनेको यही त रहेछ ! छोटो उमेरमा समाजसेवी डाक्टरको रूपमा आफूलाई स्थापित गराउनुभयो ! अमर हुनुको वास्तबिक छाप छोडेर जानुभयो ! सबैभन्दा ठुलो गर्ब यसैमा रह्यो ! थाहा छ अहिले पनि उस्तै छ सरकारी कर्मचारीको हालत ! केही फरक छैन !
गम्भीर रोग लाग्यो भने जम्मा पाँच लाख त्यो पनि पहिला जस्तै बल्लतल्ल क्याबिनेटबाट पास गराएर ! त्यो जाबो पाँच लाखले कस्तो उपचार सम्भव होला र क्यान्सरजस्तो भयानक रोगले समात्यो भने ?
राज्यको सुविधा लिन त पहुँचवाला नै हुनुपर्छ ! राष्ट्रसेवक कर्मचारीको त उही भगवान् भरोसे हो ! हेर्नुस् न अझै पनि बहिरजस्तो राम्रो इन्सुरेन्स व्यवस्था गर्न सकेको छैन सरकारले ! राज्यले कमसेकम स्वास्थ्य र शिक्षालाई आम जनताको पहुँचमा पुर्याउन सके यसरी लाखौं युवाहरू विदेश पुगेर उतै भासिने त थिएनन् होला शायद !
प्रिय !
अरू त के लेखौ र खै ! लामो समय बितेछ हजुरसँग छुट्टिएर यसरी जिन्दगीलाई एक्लै धकेल्दै अगाडि बढाउन थालेको पनि ! यसरी पत्र कोर्दा पनि सँगै बसेर मेरो कुरा सुनिदिएको महसुस हुँदैछ ! कास मेरो मनको बह सँगै बसेर पोख्न पाउथे ! हरेक दिन हरेक पल हजुरलाई सम्झिरहेकी हुन्छु ! कास स्वर्गमा पनि अनलाइन सुविधा हुन्थ्यो अनि मेरो यो प्रेमपत्र हजुरसम्म पुग्थ्यो ! मेरो यो पत्र पढेर मेरो र बच्चाहरूको यादमा हजुरको पनि मुटुमा गाँठो परेर आउथ्यो ! कास हजुरको आँखाबाट पनि मेरोजस्तै अविरल आँसु बगिरहेको हुन्थ्यो !
उही हजुरकी माया
पूजा
२०७८ माघ २७, काठमाडौं
९ वर्षअघि थाइल्यान्डमा पढ्न जाँदा क्यान्सर रोग पहिचान भएपछि डायरीमा श्रीमतीलाई सम्बोधन गरी डा. चित्रले लेखेको मार्मिक पत्र (माथि) र हालै श्रीमती पूजाले लेखेको त्यसको प्रत्युत्तर (दायाँ) ।