एमसीसी टेबल गर्न सभामुख सापकोटा तयार

एमसीसी टेबल गर्न सभामुख सापकोटा तयार

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा एमसीसी संसद्मा टेबल गर्न तयार भएका छन्। यसमा आफू निर्णायक नभएको, दलहरू नै सर्वेसर्वा भएको सभामुख सापकोटाले बताएका छन्। यसमा दलहरू नै सर्वेसर्वा भएको प्रतिक्रिया उनले दिएका छन्। उनले राष्ट्रिय सहमतिका विषयमा दलहरूलाई सदनमै चर्चा गर्न पनि आग्रह गरेका छन्।

सभामुखकै आह्वानमा सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको थियो। एमाले भने बैठकमा सहभागी भएको थिएन। ‘राष्ट्रिय महत्वका विषयमा सबै दलबीच सहमति हुनु देशकै लागि राम्रो हो’, सभामुख सापकोटाले भने, ‘उहाँहरूले एमसीसीबारे आआफ्नो धारणा राख्नुभएको छ। म खुला छु। मैले सबैका कुरा गम्भीरतापूवर्क सुनेको छु।’

सापकोटाले सदनको अवरोध खुल्नुपर्छ भन्ने मात्रै आफ्नो भनाइ रहेको बताए। आफू निष्पक्ष भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए। ‘मेरो पहिलादेखिकै जोड भनेको सदन सुचारु हुनुपर्छ भन्ने हो। सभामुखको हैसियतले मैले निष्पक्ष भूमिका निभाउनुपर्छ भन्नेमा म सचेत छु’, उनले भने, ‘सदन खुलाउनुपर्छ भन्ने विषयमा मैले केन्द्रित भए पनि निर्णायक भूमिका भने दलहरूकै हुने गर्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक सुरु भएको करिब १० मिनेटमै सोधे एमसीसी के गर्ने हो ?

संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी एमालेसँग सरकारले निरन्तर छलफल गर्दै आएको उनले उल्लेख गरे। भने, ‘आज सबै गठबन्धन दलका कुरा सुने र मैले सभामुखको भूमिकामा काम गर्ने हो। सभामुखको भूमिका अम्पायर र निर्णायकको हुन्छ।’ 

प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा एमसीसी संसद्मा लगेर टुंगो लगाउनुपर्ने बताए। ‘बैठक सुरु भएको करिब १० मिनेटमै प्रधानमन्त्रीजीले एमसीसी के गर्ने हो ? अन्तर्राष्ट्रियस्तरमा नेपालको इज्जत के हुन्छ।’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कांग्रेसका एक नेताले भने, ‘पहिला यही सहभागी भएकामध्ये तपाईंहरूकै पालामा पनि एमसीसीको विषय अगाडि बढाइएकै हो। अहिले कांग्रेसको सरकार छ। जनतामा यसरी बुझाइएको छ। एमसीसी कांग्रेसले नेतृत्व गरेको सरकारले ल्याएको हो। भन्नुस् यसलाई कसरी निकास दिने हो ? राष्ट्रघाती कहाँनेर छ सदनमै छलफल गरौं न।’ 

त्यसपश्चात् बैठकमा सहभागी अन्य दलका नेताले एमसीसीका विषयमा बोलेको ती नेताले सुनाए। ‘तर, कोही पनि विरुद्धमा हुनुहुन्न। सदनमा छलफल गर्न सबै तयार देखिनुभएको छ’, ती नेताले भने।

नेमकिपाका सांसद प्रेम सुवालले एमसीसीको विषयमै बैठक केन्द्रित भएको बताए। ‘नेमकिपा एमसीसी नेपालको हितमा छैन भन्नेमै अडिग छ’, नेता सुवालले भने, ‘मैले त्यसोभन्दा प्रधानमन्त्रीजीले ठीक छ तपार्इंको विरोध संसद्मै गर्नुहोस् भन्नुभयो।’ 

देउवाले एमसीसीका विषयमा अन्तर्राष्ट्रियस्तरमा नै विश्वसनीयताको कुरा भएकाले सांसद र दलहरूले सदनमै कुरा राख्नुपर्ने अनि टुंगो लगाउनुपर्ने बताएका थिए। संसद्ले जे निर्णय गरे पनि सबैले स्वीकार्नुपर्ने उनको भनाइ थियो। 

परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसीको सुरुवाती प्रक्रियाबारे जानकारी दिएका थिए। यो परियोजनाबारे भ्रम फैलाइएको र सबै दल कुनै न कुनै प्रक्रियामा जोडिएको मन्त्री खड्काको भनाइ थियो। ‘एमसीसी जति अल्झायो नेपाललाई उति घाटा र असर पर्ने हो’, मन्त्री खड्काको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमसीसी पास नहुँदा नेपालको अहित हुनेछ।’

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भने संशोधन गरेर मात्रै अगाडि बढाउनुपर्ने दोहोर्‍याएका थिए। ‘नेकपा हुँदा नै संशोधन गरेर पारित गर्नुपर्छ भनेको हो। माधवजी हामी सबै त्यहाँ थियौं। अहिले पनि मेरो कुरा त्यही छ’, दाहालले भनेका थिए, ‘यथास्थितिमा पारित गरिनु हुन्न भन्ने हो। अब राष्ट्रिय सहमति आउँदा माओवादीले पनि आफ्ने पार्टीमा केही निर्णय गर्न सक्छ। १–२ दिनमा पार्टीको बैठक पनि बस्दै छ त्यहाँ पनि कुरा राख्छौं।’

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले भने ठीक छ सदनमा लैजाऔं भनेका थिए। ‘आज पार्टीको बैठक छ। त्यहाँ एमसीसी विषयबारे पनि साथीहरूलाई कुरा राखेर मात्र ठोस निर्णमा पुग्न सकिन्छ’, अध्यक्ष नेपालले भनेका थिए, ‘सबै विषयमा सहमति गरेर अगाडि बढ्न समाजवादी तयार छ। एमसीसी बिना संशोधन अगाडि बढ्ने सम्भावना गठबन्धनमै देखिन्न हेरौं आजको बैठकमा साथीहरूको के प्रतिक्रिया आउँछ।’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसीका विषयमा चर्चा बढी भएको बताए। ‘सभामुखजीले राष्ट्रिय सहमति जुटाउन सक्दा एमसीसीमा छलफल हुन सक्छ। अर्कोतिर प्रधानमन्त्रीजीले बैठकमा सहभागी दलहरूलाई सदनमा छलफल हुन दिन आग्रह गर्दै निकास दिनु्ुस्। प्रतिपक्ष दलसँग पनि सहमति जुटाउला भन्नुभयो’, मन्त्री बडुले भने। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसद्मा टेबुल हुन कसैले रोक्न मिल्ने कुरै नभएको बताए। सभामुखले एमसीसी रोकेर राख्न नमिल्ने नेता पौडेलको भनाइ थियो। ‘आजको सर्वदलीय बैठकमा पनि सभामुखजीले राष्ट्रिय सहमति जुटाउनुहोस् भन्दै दलहरूलाई आह्वान् गर्नुभएछ। त्यो एकदम राम्रो हो। एमसीसी पारित गर्नुको विकल्प छैन’, पौडेलले भने, ‘एमसीसी यहाँसम्मको प्रक्रियामा ल्याउन कम्युनिष्टका सबै नेता उत्तिकै संलग्न छन्। अनि अहिले राष्ट्रघाती यस्तो उस्तो भनेर हुन्छ ? संसद्मा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसद्मै हुन्छ।’ 

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सहमति जुटाउन सभामुखले आह्वान गरेको बताए। ‘यद्यपि एमसीसीका विषयको अन्तरवस्तुका बारेमा पार्टीको आआफ्नो अडान कायमै छ। संविधान र कानुनमा मेल नखाने विषय संसदमार्पmत जानुपर्ने हो। तर, केही बुँदा संशोधन नै गरौं भन्ने हाम्रो अडान भने कायम छ’, नेता गुरुङले भने। नेकपा एकीकृत समाजवादी नेता जगन्नाथ खतिवडाले पार्टीको अडान कायम रहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.