निर्यातमा आयातीत वस्तुकै भर

निर्यातमा आयातीत वस्तुकै भर

काठमाडौं : हामी पाम तेलको कच्चा पदार्थ डलरमा किनेरआयात गर्छौं। त्यसलाई प्रशोधन गरी भारुमा बिक्री गर्छौं। भटमासको तेलको अवस्था पनि यस्तै छ। चालू आर्थिक वर्षको ६ महिनाको कुल निर्यातमा यी दुई वस्तुको हिस्सा ५६.४६ प्रतिशत छ। नेपालको निर्यात स्वदेशी उत्पादनभन्दा आयातीत कच्चापदार्थमा बढी निर्भर रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ। त्यसो त निर्यात गत आवको ६ महिनाको तुलनामा चालू वर्ष ९५.६१ प्रतिशतले बढेको छ। यो अवधिमा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको निर्यात भएको छ। गत वर्ष ६० अर्ब ७९ करोडको मात्रै निर्यात भएको थियो। निर्यात वृद्धि भए पनि आफ्नै उत्पादनको हिस्सा कम छ। 

कच्चापदार्थ आयातपछि त्यसैलाई निर्यात गर्दा दीर्घकालीन रूपमा फाइदा नपुर्‍याउने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्। मुलुकमा उत्पादन नहुँदा यस्तो स्थिति आएको थापाको भनाइ छ। ‘भारतले पाम तेल आयातमा धेरै भन्सार लगाउँछ। नेपालले थोरै लगाउँछ। भारत र नेपालको भन्सारदरका कारण नेपालमा भटमास र पाम तेलको व्यवसाय बढेको हो’, थापा भन्छन्, ‘यस्तो कर भारतले घटायो भने उक्त वस्तुको व्यवसाय फस्टाएर जान सक्दैन।’ 

यसले छोटो समयका लागि फाइदा दिने थापा बताउँछन्। ‘यसो गर्दा उद्योगी व्यवसायीलाई केही फाइदा हुन्छ। सीमित मात्रामा मुलुकका लागि कर उठ्ने र केहीले रोजगारी प्राप्त गर्न सक्छन्’, उनी भन्छन्। पूर्वअर्थसचिव सुमन शर्मा बाहिरबाट ल्याएर उत्पादन गर्नु गलत नभएको बताउँछन्। तर, भ्यालुएड (अतिरिक्त मूल्य) हुनुपर्ने पूर्वसचिव शर्माको भनाइ छ। ‘सकभर आफ्नै देशको उत्पादनलाई प्रवद्र्धन गरेर निर्यात गर्न सके राम्रो हुन्छ’, शर्मा भन्छन्, ‘निर्यात गर्दा स्वदेशी वस्तुको भार धेरै हुनुपर्‍यो।’ 

विदेशबाट ल्याएर भ्यालुएड गर्दा कम देखियो भने डलरमा किनेर भारुमा बेच्नु उचित नहुने उनको तर्क छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट मुलुक अहिल्यै पर्याप्त स्वदेशी वस्तुको निर्यात विस्तार गर्ने अवस्थामा नरहेको बताउँछन्। ‘हामीले गार्मेन्ट, कार्पेटको निर्यात दोब्बर गर्न चाहेर पनि सक्दैनौं। हामीले अवसरको लाभ लिने हो। कुनै देशबाट लाभ लिन सकिन्छ भने त्यतातिर लाग्दा पनि नराम्रो होइन’, डा. भट्ट भन्छन्, ‘तर, दीर्घकालमा निर्यातलाई कसरी लैजान सकिन्छ भनेर तयसलाई विचार पुर्‍याउन जरुरी छ,’ उनले भने, ‘डलरमा किनेर भारुमा बिक्री गर्दा यसले विदेशी विनिमयमा फरक पर्दैन।’ 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकाल स्वदेशी उत्पादन बढाउन ड्युटी, कच्चा पदार्थ, विद्युत् महसुललगायतमा सरकारले सम्बोधन गर्नुपर्ने बताउँछन्।

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य स्वदेशी वस्तुको उत्पादन बढाएर निर्यात बढाउन जरुरी भएको बताउँछन्। निर्यातमा स्वदेशी वस्तुकै हिस्सा अधिक बनाउन सरकारले उत्पादनमुखी उद्योगलाई कर, बिजुलीलगायतमा छुट दिएर प्रोत्साहन गर्नुपर्ने अध्यक्ष शाक्यको भनाइ छ। आयातीत कच्चा पदार्र्थ प्रशोधन गरी भ्यालुएड गरेरै निर्यात गरेको भन्सार विभागको तथ्यांकमा छ । जसमा पाम र भटमासको तेलको निर्यात मात्रै ६७ अर्ब ९ करोड ७६ लाख ३६ हजार भएको हो। 

पामको उत्पादन स्वदेशमा छैन। भटमासको उत्पादन घरायसी प्रयोजनबाहेक तेलका लागि पर्याप्त छैन। यसैले यस्ता वस्तुको तेल निकाल्न कच्चापदार्थ आयात गरिन्छ। पामको कच्चापदार्थ ६ महिनामा २७ अर्ब ८८ करोडको आयात भयो। त्यसलाई प्रशोधन गरी ३१ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ बराबरको निर्यात गरिएको छ। भटमास ३६ अर्ब ५८ करोड ९१ लाखको आयात भयो। त्यसको प्रशोधन गरी ३५ अर्ब १२ करोड २० लाख ४९ हजार बराबरको निर्यात भएको छ। 

व्यापार घाटा उच्च
स्वदेशमा उत्पादन हुन नसक्दा व्यापार घाटा उच्च हुँदै गएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ६ महिनामा वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ। यो गत आवको यही अवधिको तुलनामा ४६.६४ प्रतिशत बढी हो। चालू आवको मंसिरसम्म कुल आयात ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ हाराहारी छ। निर्यातको तुलनामा आयात उच्च रहँदा ५४.७० प्रतिशतले व्यापार घाटा बढेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.