आँसु छचल्किँदै जान्छ

आँसु छचल्किँदै जान्छ

यसपालिको असार १ गते म असाध्यै विचलित भएँ। मैले यसरी भावनात्मक रूपले कहिले मन मारेको थिइनँ। यसरी मन मार्नाका पनि प्रशस्त कारणहरू छन्। ती कारणहरूमध्ये प्रमुख त यसैपल्ट म टुहुरो हुन पुग्नु पनि हो। बा हुन्जेल यस विशाल ब्रह्माण्डमा म निकै चुरीफुरी गर्थें।

म जतिसुकै र जत्रोसुकै भए पनि भुसुना थिएँ, तर सूक्ष्म भुसुना भए पनि कताकता आकाशजस्तै विशाल छाती भएका मेरा बा हुनुहुन्थ्यो र मेरा शिरमाथि उहाँको स्नेहको हात थियो भनेर म ढुक्क थिएँ। मेरो कोही छैन, मभन्दा अनुभवी कोही छैन।

मेरो रक्षामा कोही उभिँदैन भन्ने जुन त्रासले आज म कहाली छटाइछटाई रोइरहेको छ, त्यसको आभाससम्म पनि मलाई थिएन। म आफ्ना समस्त कमजोरीलाई एकातिर थन्क्याएर परिस्थितिका भयावह पहरामा सहर्ष र सगर्व सिँगौरी खेल्दै आएको थिएँ।

असार १ गते निकै रोएँ। रुनु मनलाई निको पार्ने हो भन्ने धेरैको सोचाइ छ। तर हेर्नुहोस् जति रोयो उति भक्कानो फुटेर आउँछ। जति भक्कानो फुट्यो उति सर्वांग थर्थराएर आउँछ र जति अग थर्थरायो उति हृदय विदीर्ण भएर आउँछ। छाती छियाछिया भएर आउँछ र मुटु नै ढुक्क ढुक्क हुँदै बाहिर छचल्किएर आउँछ।

असार मुसलधारे पानी पर्ने समय हो र मेरो जन्म असारमै भएको थियो। म जन्मेको बेला जोडसित पानी परेको थियो। पूर्वको माईखोला र पश्चिमको पुवाखोला तलतल उर्लेर दुवै नै हेरिनसक्ना र तरिनसक्ना भएका थिए। अरू त अरू सस्याना खहरे र खोलासमेत तँछाड र मछाड गर्दै कुर्लंदै ओरालो हुत्तिइरहेका थिए। र म त्यसै भयावह वर्षाको प्रचण्ड गर्जनलाई चिर्दै पहिलोपल्ट शिशु मुठी कसेर चिन्डे कपालमा चिच्याएको थिएँ। मैले शिशुमुठी उझाएको, विद्रोह गरेको र यहाँर याँहाँर गरेर कुर्लेको साठी वर्ष पुग्नै लाग्दै छ र त्यही भावनाले मलाई घरिघरि दगल्च्याइरहेको छ। पिरोलिरहेको छ र पिन्माइरहेको छ।
ओहो ! यी ६० वर्षहरू मैले त बालक भएरै बिताएँछु, ख्यालख्यालमै बिताएँछु र केही पनि गर्न नभ्याई र नसकी बिताएँछु। हो, यी मेरा निमेषभर जति पनि नलाग्ने ६० वर्षहरू मैले कति सरलतासाथ बिताएँछु, पेट मात्र स्याहारेर बिताएँछु।
अस्ति चैत २६ गते बिहान ५ बजे पो एउटा नमिठो फोनले मलाई बिउँझायो, लौ बा त अब हुनुहुन्न। यसरी म बिउँझे। एउटा नितान्त खेलाँची जीवनयात्रा, एउटा लक्ष्यहीन बेवास्ताको बचाइँ र कसैका भरमा, कसैका आडमा र कसैका संरक्षणमा खेल्दै आएको एउटा अनियन्त्रित सुसेली मुटुमा एक थप्पड लागेर एकाएक ठप्प भयो, बन्द भयो, रोकियो।

अनि जब मैले असार महिनामा टेकें मलाई भाउन्न भएर आयो। यही असार महिनाको ९ गतेले मलाई यस आतेशलाग्दो पृथ्वीमा खसालेको थियो। आमाको बन्द न्यानो पेटबाट पेलिएर र ठेलिएर सालनालसहित भुइँमा एक्कासि, बज्रन पुग्दा म नाङ्गो थिएँ, निम्जो थिएँ र नगन्य थिएँ।

मुडुलो टाउको लिएर निःसहाय, निरुद्देश्य र निरुपाय रुँदै मैले यस भुइँमा टेकेको ६० वर्ष पुग्दैछ र यतिका वर्षसम्मको पिताको निरन्तर प्रवाहित स्नेहको नदी स्वाट्टै सुकेको हुनाले म हठात बिउँझेको छु। म सानै छँदादेखि नै बा सम्झाइरहनुहुन्थ्यो, ठूलाबडालाई भेट्न गइरहनू, उनीहरूलाई रिझाइरहनू, उनीहरूको सेवा गरिरहनू।’ मैले बा छउन्जेल यस पवित्र अर्तीलाई टेरपुच्छर नगाइनँ र अब झन् मलाई त्यसरी मायालु पाराले सम्झाउने पनि कोही छैन।
उहाँ मलाई चाकरी गर्ने प्रोत्साहन मेरै राम्रो होस् भनेर दिनुहुन्थ्यो, तर म भने एक कानले सुनेर अर्को कानले उडाइदिन्थेँ। त्यसैले पो म यसरी आज असफल जीवन बाँचिरहेको रहेछु। म अब हठात बिउँझेको छु।
अरूहरू मान्छेले किरियापुत्री भएर कहर काटेको देख्दा त म यस्तो संस्कारप्रति मनमनै रिसाउँथेँ। तर मेरो कपालमा चिसो पानी खुयाएर छुराले स्यार्रस्यार्र पार्दै नाउले खौरन लाग्दा पो म झसंग भएँ ए हे मलाई त फेरि पनि भर्खरको शिशु हुने मौका पो मिलिरहेको छ होइन ?

म आफ्ना जन्मदाताका लागि शिशु हुँदै थिएँ। बररर्र आँसुका दाना खस्तै गएकामा मलाई ग्लानी भयो। मसित शरीरभरि भालुकै जस्तो बाक्लो केश भइदिएको भए म मेरा पिताका नाउँमा सारा रौं खौरेर पहाड थुपारिदिन्थें र त्यति मात्र होइन, त्यस्तो बाक्लो झ्यापुल्ले केश काट्नेबित्तिकै उम्रिने भइदिएको भए ६० वर्ष काट्दै उम्रँदै गरेका समस्त मेरा केशहरू म आफ्ना प्यारा बाको लागि त्यो दिन खौरिदिने थिएँ। तर मैले जतिसुकै स्नेह प्रकट गर्न खोजे पनि, रोए पनि र केश खौराए पनि मेरा बा अब फर्कनु हुन्नथ्यो। अनि, समस्त ब्रह्माण्ड मेरो चिल्लो टुहुरो टाउकोमा फननन घुम्न थाल्यो।

टाउको बेस्मारी धम्दै थियो, आँखामा तिरिमिरी झ्याइँ पार्दै थियो र जुत्ता फुकालेका खाली खुट्टामा म मेरा ६ जनै भाइहरूलाई मेरोपछि लर्को लगाएर तल मनेरातिर झर्दै थिएँ। जुत्ता वा चप्पल नलगाई पहाडको ढुङ्गेनी गोरटामा जीवनको पहिलोपल्ट ओरालो झर्दा मैले आफूलाई एकातिर विवश, व्यथित र विपन्न पाइरहेको थिएँ भने अकातिर पिता गुमाएपछि हुने असुरक्षित स्थिति र मानवको सहायताहीन आदिम युगको सामन्जस्यने म दार्शनिक भइरहेको थिएँ।

खुल्ला आकाशमुनि साबुन प्रयोग नगरी चिसो धाराबाट लोटामा पानी भरी चिन्डे टाउकामा खन्याउँदाको अनुभव सृष्टिमा मानवले पाएको चेतनाको पहिलो झल्को मेरो मस्तिष्कमा फुर्‍यो। सातै जनाले नुहाइसकेपछि सेता धोतीले शरीर ढाकेर हामी डिकुरातर्फ लाग्यौं।

एकातिर मलाई दाजुभाइको आपसी सहयोग प्रतीकात्मक लाग्यो भने अर्कातिर दाउरा बालेर आफैं पकाइने तरकारी, दाल र अचारबिनाको आदिम निस्तो भात केराका पातमा बाँडेर खाँदा मनुष्य विकासको इतिहास दोहोयाइएको अनुभूति भयो। अप्ठ्यारोभन्दा अप्ठ्यारो परिस्थिति पर्दा पनि मानिस बाँच्दै र बढ्दै आएका कुराको ज्ञान दिन नै यस्तो संस्कार चलाइएको त थिएन। पिता नहुँदा दाजुभाइमा हुनुपर्ने स्नेह र सहयोगको भावना नुहाउँदा, खादा, लहर लागेर उकालो ओरालो गर्दा र सुत्दा प्रतिविम्बित भएको मैले देखेँ।

चाहे भुइँमा पराल र त्यसमाथि राढी ओछ्याएर कम्मल ओडी सुत्दा होस्। चाहे नुनबिनाको घिउ र चिनीसित तात्तातो भात पातमा खाँदा होस्। अथवा, बाहिरका कसैलाई नछोई सेता धोती बेरी बस्दा हिँड्दा वा गरुड पुराण भन्दा होस्। मलाई मानव विकासको आदिम इतिहासको अभिनय र व्याख्या भइरहेझैं लाग्यो। फगत चिसो पानी जिउमा खन्याएर नुहाउन, निखर पानी मात्र लगाएर लुगा पखाल्नु, माटाले भाँडा माझ्नु, नाङ्गै खुट्टा हिँड्नु र तीतेपातीका डाँठले दाँत माझ्नु प्रारम्भिक युगकै द्योतक थिए। संस्कारका समग्र क्रियाकलापले मलाई मानव जीवनका अपरिवर्तनीय सत्यहरू, इतिहासको विकास प्रक्रिया र शारीरिक तथा मानसिक शुद्धिको ज्ञान दिइरहेका थिए। वास्तवमा हाम्रा संस्कारको पालनामा म जीवनकै पाठ पढिरहेको थिएँ।

दसौं दिनको बिहानी हामी दाजुभाइले एकअर्काका छोटा केश फेरि खौरिदियौं। छर्छर्ती रगत निस्क्यो र तीतेपाती निचोरेर त्यसको रसले हामीले रगत बग्नबाट रोक्यौं। छरछिमेकहरू भन्थे विचराहरूलाई ज्यादै कष्ट भयो, तर हाम्रा दिनहरू कस्तो बेगसाथ बिते भने १३ दिन त झिमिक्क आँखा झिम्काएजस्तै हामीबाट चिप्लेर गए। मेरा पिताका ८५ हिउँदहरू र मेरा ६० वर्षहरू ती १३ दिन जस्तै खुस्केर हेर्दाहेर्दै गए।
सृष्टि, सृष्टिमा मानवको आविर्भाव र मानवको इतिहासले क्रमिक खुट्किलाहरू चढ्दै गए जस्तै सारा कुराहरू रमिता हुँदै गए, उदाहरण बन्दै गए, भविष्यका मार्गदर्शन बन्दै गए। १३ दिनसम्म शोक मनाउँदाका समस्त घटनाहरू सभ्यताका क्रमिक विकासका ज्वलन्त नमुना पो रहेछन्, कर्तव्यप्रति सजग पार्ने साधन पो रहेछन् र सांस्कृतिक गरिमाका बुँदाहरू पो रहेछन्।

हाम्रा पिताको शरीर खरानी नै भएर गयो। यो यस्तो पदार्थ थियो जसलाई म केही गरेर पनि रोक्न र फेर्न सक्दिनथेँ। मेरा लागि पिताको ८५ वर्षको आयु पनि छोटो जस्तो, उहाँको देहावसान असामयिक जस्तो र उहाँको जीवनदायी निभ्नै नपर्ने जस्तो लाग्छ।
खाई नखाई रात दिन उहाँ मोटर हिँड्ने बाटाहरू बनाउनमा तल्लीन भएको, छिमेकीहरूलाई पानी खुवाउन दसतिर व्यवस्था मिलाई हिँडेको र इलामको पूर्वी भेगमा अंग्रेजी विद्यालयहरू खोल्न र चलाउन घरी इलाम, घरी विराटनगर, घरी कलकत्ता धाएको सारा दृश्य मेरा अगाडि नाचिरहेकै छ। हो, धेरैले यी कुराहरूलाई बिर्से होलान् र नयाँ पुस्तालाई त विकास त्यसै जुँगादारी उमे्रझैँ स्वाभाविक रूपले उमे्रको भन्ने लाग्ला, तर मेरा लागि भने पशुपतिनगरदेखि फिक्कलसम्म, बुधबारेदेखि माई खोलासम्म र विशेषगरी गोदक मास्तिरको सकवीर गोलाइबाट गाडीमा गुज्रँदा बाकै अनुहार, बाकै त्याग र बाकै योगदानको झझल्को भइरहन्छ।
 र ६० वर्ष बितेछन् र पनि म किन बाले देखाएका बाटामा हिँडिन वा हिँड्न पाइनँ भनेर भित्रभित्रै पिरोलिन्छु। जसैजसै दिन, महिना र वर्षहरू बित्तै जान्छन् मनमा कहाली छुट्दै जान्छ, छाती बटारिँदै जान्छ र आँखा बर्सिंदै जान्छन् खनिँदै जान्छन्।

असार हो, पानी दर्किनै पर्छ। मान्छे हुँ, आँखा खुलेपछि आँसु खनिँदै जान्छ, बग्दै जाच्छ, छचल्किँदै जान्छ।

-स्व. शर्माले पिताको निधन भएपछि शोकमा बसेका बेला लेखेको निबन्ध।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.