स्वस्थानी कथामा मतभेद-मेलमिलाप

स्वस्थानी कथामा मतभेद-मेलमिलाप

श्रीमद्भागवत कथामा उल्लेख भएअनुसार स्वयम्भुव मनु र सतरूपाबाट आकूति, देवहूति र प्रसूतिसमेत तीन कन्याको जन्म भयो । प्रसूतिको विवाह ब्रह्माका पुत्र दक्षप्रजापतिसँग भएको थियो । प्रसूतिबाट पैदा भएका छोरीमध्ये श्रद्धा, मैत्री, दया, शान्ति, तुष्टि, पुष्टि, क्रिया, उन्नति, बुद्धि, मेधा, तितिक्षा द्वी र मूर्ति गरी १३ कन्याको विवाह धर्मसँग भएको थियो । यसैगरी, स्वाहाको अग्नि, स्वधाको पितृ र सतीको महादेवसँग विवाह भयो ।

सती र महादेवको दाम्पत्यजीवन अनुपम एवं उच्च कोटीको थियो । परन्तु दक्ष आफ्नी प्यारी पुत्रीको विवाहप्रति सन्तुष्ट थिएनन् । उनले वाध्य भएर महादेवलाई ज्वाइँ स्वीकार गरेका थिए । दक्ष महादेवलाई औघड ( अघोरी ) भनेर उपहास गर्थे । महादेव र दक्षले नेतृत्व गर्ने सम्प्रदायहरूबीच सांस्कृतिक, वैचारिक र आस्थागत मतभिन्नता थियो । ब्रह्माजीको नीति समन्वयवादमा आधारित रहेको हुँदा उनी नातिनी सती र महादेवबीचको वैवाहिक सम्बन्धको माध्यमबाट दुई सम्प्रदायमा मेलमिलाप र सौहार्दता कायम गर्न चाहन्थे । किन्तु त्यो ‘कूटनीतिक विवाह’ आपसी वैमनस्यलाई सौजन्यमा परिणत गर्न सर्वथा असफल रह्यो । महादेव र सतीको विवाहबारे स्वस्थानी कथामा केही भिन्नरूपमा वर्णन भएको पाइन्छ ।

सभ्यताको विकाससँगै व्यक्तिगत सम्पत्ति, वैवाहिक सम्बन्ध, आआफ्नो कुलपरम्परा र पूजापद्धतिको विकास हुँदै गयो । त्यसै सिलसिलामा एक सम्प्रदायले आफूलाई अर्कोभन्दा श्रेष्ठ मान्ने क्रम फैलिँदै गयो । सत्ता, शक्ति र सम्पत्ति हुनेले कमजोरलाई विभेद गर्ने प्रवृत्ति वैदिक युगमा पनि रहेछ भन्ने प्रमाण हो, दक्षपर्व । अहिले जस्तै एक विचार समूहलाई अर्काको विरुद्धमा उक्साउने, भड्काउने र झैझगडा गराउने तत्वहरू उस बखत पनि रहेछन् । त्यस समयमा पनि विभेद, बहिष्करण, वञ्चितीकरण र हेपाइका विरुद्धमा निर्णायक संघर्ष भएको रहेछ । यसले के पुष्टि गरेको छ भने मानव सभ्यताको इतिहास निरन्तर संघर्ष, युद्ध, विनाश एवं पुनः सम्झौता, शान्ति र समृद्धिको शृंखला हो ।

एक समयमा प्रजापतिहरूले ठूलो यज्ञको अनुष्ठान गरेका थिए । उक्त यज्ञमा महादेव र उनका अनुयायीहरू समेतको बृहत् जमघट थियो । यज्ञशालामा दक्षप्रजापतिको आगमन हुँदा सबै आगन्तुकले उठेर हार्दिक सम्मान र अभिवादन गरे । महादेव भने चुपचाप बसिरहे । त्यसै त मन नपरेको ज्वाइँ, झन् सार्वजनिक रूपमा देखाएको त्यो उपेक्षा । दक्षप्रजापतिको क्रोधको सीमा रहेन । उनले महादेवलाई गाली गर्न थाले । ‘शरीरमा अपवित्र श्मशानको खरानी घस्ने, नरमुण्डको माला लगाउने र बूढो साँढेमाथि चढेर यात्रा गर्ने यो मूढ एक अमंगल जीव हो । अकार्थमा ब्रह्माजीको बहकाउमा लागेर यो भूतको नेता आचारहीन दुष्ट महादेवलाई मेरी सिधा र शालीन छोरी दिएछु ।’

छोरी आत्मघाततर्फ प्रवृत्त भएको प्रष्ट देख्दादेख्दै पनि दक्ष उपेक्षा गरेरै बसे । साम्प्रदायिक दुर्भाव र सत्ताको दम्भ कति निर्मम हुन्छ भन्ने ज्वलन्त उदाहरण हो यो ।

दक्षको वंश ठूलो थियो । एकसेएक नाम चलेका व्यक्तिहरूले भरिभराउ थियो कुटुम्ब । यज्ञमा जम्मा भएका धेरैजना महादेवका पनि नातेदार नै थिए । परन्तु सत्ता र शक्तिमा आसीन दक्षको विरोध गर्ने को ? अहंकारले मदान्ध र क्रुद्ध भएका दक्षले घोषणा गरे, ‘अबदेखि यस निर्लज्ज दिगम्बरलाई इन्द्र–उपेन्द्र आदिको पंक्तिमा यज्ञभाग मिल्ने छैन ।’ दक्षको यस्तो श्रापबारे थाहा पाएका नन्दीले क्रोधले तप्त भई दक्ष र निजका समर्थक ब्राह्मणहरूलाई यस्तो श्राप दिए, ‘महादेवको घोर अपमान गर्ने दक्ष र निजका अनुचर ब्राह्मणहरू तत्वज्ञानबाट विमुख हुनेछन् । अत्यन्त भोगी होस् । यी महादेवका द्रोही ब्राह्मणहरू कर्मकाण्डको जालमा अल्झिरहून् । यी लोलुपहरूलाई दुनियाँमा भिख माग्दै भौंतारिनु परोस् ।’

नन्दीको मुखबाट त्यो भयावह घोषणा सुनेपछि भृगु ऋषिलाई नितान्त असह्य भयो । उनले पनि रिसको झोकमा घोषणा गरिदिए, ‘शंकरका भक्तहरू शास्त्रविरोधी हुनेछन् । यी खरानी घसेर विचरण गर्ने जटाधारीहरू सुरापानमा मस्त रहनेछन् । वैदिक मार्गका निन्दक यिनीहरू पाखण्डमा रमाउने छन् ।’ आआफ्ना सिद्धान्त, विश्वास र पूजाविधि थिए । सबैलाई आफ्नै सम्प्रदाय प्यारो थियो । आगो भित्रभित्र लुकेर बसेको थियो, जो वातावरण पाउनेबित्तिकै दन्क्यो । साम्प्रदायिक गालीगलोज, अपमान, निन्दा र उपहास सुनेर महादेव साह्रै खिन्न भए । उनी त्यो भनावैरी र घृणामय वातावरणमा बसिरहन नसकी चुपचाप उठेर हिँडे ।

त्यो वैरभाव निरन्तर चलिरहेकै थियो । त्यसै सिलसिलामा ब्रह्माले दक्षलाई समस्त प्रजापतिहरूको अधिपति बनाइदिए । सत्ता, शक्ति र सम्पदाले मदमस्त दक्षको अहंकार झनै चुलिँदै गयो । साथै शंकर र उनका अनुयायीमाथिको हेपाइ, उपहास र अपमानमा पनि लगातार अभिवृद्धि हुँदै गयो । दक्षले पहिले बृहत् रूपको वाजपेय यज्ञ गरे, जसमा शंकरलाई निमन्त्रणा नै दिइएन । उनले फेरि अर्को बृहस्पतिसव नामक भव्य यज्ञको आयोजना गरे । त्यो यज्ञमा देवता, ऋषिगण, दस दिक्पाल, यक्ष, गन्धर्व आदिलाई चुल्हो निम्तो गरिएको थियो । पछिल्लो यज्ञमा समेत निम्तो आएन तापनि सतीले महादेवलाई भनिन्, ‘नबोलाए पनि मेरा माइती हुन् । आफ्नो जन्मभूमि र जनक जननीको माया कसलाई लाग्दैन ? हामी पनि यज्ञमा सहभागी हुन जाऔं ।’

महादेवले भनेका थिए, ‘विद्या, तप, धन, स्वस्थ शरीर, युवावस्था र असल कुल यी छ कुरा सत्पुरुषका लक्षण हुन् । किन्तु कसैकसैका लागि यिनै गुणहरू अवगुण हुन पुग्दा रहेछन् । अहंकारी र अवगुणी आफन्तकहाँ यी आफ्ना स्वजन हुन् भनेर जान हुँदैन । भनिएको पनि छ, शत्रुले प्रहार गरेको वाणको जलन बरु त्यस्तो पीडादायी हुँदैन । जति स्वजनहरूको कटु वचन । तिम्रा पिता मेरो ससुरा हुन् तापनि मसँग द्वेष राख्छन् । विचार नै नमिलेपछि के बाबु के छोरी, के ससुरा के ज्वाइँ । तिमी एक प्रतिष्ठित नारी हौ । निमन्त्रणा नपाएको यज्ञमा जानु उचित छैन ।’

शिवलाई अनुमान थियो, अब सतीलाई माइत जान दिँदा पनि र नदिँदा पनि प्राणत्यागको सम्भावना छ । तथापि माइतीप्रतिको आग्रहमा लागेकी नारीलाई थप सम्झाउनुको प्रयोजन छैन भनेर उनी चुप लागे । शंकर मौन बसेको देखेर सती अत्यन्त क्रोधित भइन् । उनी लामोलामो सास फेर्दै माइतीतिर दौडिन् । महादेवका केही पार्षद सतीको पछि लागेर गए । दुनियाँ स्वार्थी छ । उनी माइत पुग्दा उनका बहिनीहरू र आमाबाहेक कोही बोलेनन् । शक्तिशाली बाबुको निम्ता मान्न आएका पाहुनाले हेला गरिएकी चेलीलाई किन वास्ता गर्थे ?

आफूप्रति पिताको उपेक्षा र प्यारा पतिप्रतिको उपहासले सती अत्यन्तै मर्माहत बनिन् । उनले पिता दक्षलाई सम्बोधन गर्दै भनिन्, ‘हामी महादेवका अनुयायीहरूको ऐश्वर्य अव्यक्त छ । किन्तु तिमीहरू यज्ञशालाको भौतिक कर्मकाण्डमा सीमित छौं । हामी तत्वज्ञानमा विश्वास गर्छौं, तिमीहरू सकाम कर्मकाण्डमा । हे पिता ! पतिको घोर उपहास सहेर तिम्रो अमंगल बीजबाट निर्मित यो शरीरलाई जीवित राख्न सक्दिनँ ।’ छोरी आत्मघाततर्फ प्रवृत्त भएको प्रष्ट देख्दादेख्दै पनि दक्ष उपेक्षा गरेरै बसे । साम्प्रदायिक दुर्भाव र सत्ताको दम्भ कति निर्मम हुन्छ भन्ने ज्वलन्त उदाहरण हो यो ।

अत्यन्त मर्माहत र क्रुद्ध भएका शिवगणहरू दक्षलाई आक्रमण गर्न कस्सिएको देखेका भृगु ऋषिले ‘अपहतम् रक्ष...’ आदि मन्त्र पढी आहुती दिएर ऋभुहरूलाई आह्वान गरे । ऋभुहरूले शिवका गणहरूलाई पिटपाट गरेर धपाइदिए । यो सबै थाहा पाएका महादेवले वीरभद्रको सेनापतित्वमा सेना खटाई पठाए । शिवका गणहरूले दक्षको यज्ञशाला ध्वस्त गरिदिए । यज्ञमा निम्तो मान्न आएका पाहुनाहरूको भागाभाग भयो । शिवसेनाले यज्ञकुण्डमा पिसाब गरिदिए । वीरभद्रले भृगुलाई कैद गरेर दाह्री जुँगा उखेलिदिए । किनकि उनले दक्षले महादेवको अपमान गर्दा जुँगामा ताऊ दिएका थिए । उनीहरूले भग देवताका आँखा झिकिदिए । किनकि उनले शिवलाई अपमान गर्न आँखाको इशाराले उक्साएका थिए । पूषाको दाँत भाँचिदिए, किनकि उनी शिवको उपहास हुँदा दाँत देखाएर हाँसेका थिए । वीरभद्रले दक्षको टाउको काटेर यज्ञकुण्डमा होमिदिए ।

आपसी भनावैरी र गालीगलोजबाट सुरु भएको साम्प्रदायिक शीतयुद्ध अन्त्यमा निर्मम गरमयुद्धमा परिणत भयो । त्यो युद्धमा ठूलो भौतिक नोक्सानी मात्र भएन, वर्चस्वशाली वर्गले घुँडा टेकेर सन्धि गर्न र वञ्चनामा परेको वर्गलाई सत्ता र सम्मान दिन तयार हुनुपर्‍यो । कर्मकाण्डका पक्षधरहरू ज्ञानकाण्डलाई समेत सम्मान गर्न तयार भए । उनीहरू शिवसँग शान्ति तथा मैत्री सन्धि गरेर उनैलाई यज्ञका हर्ताकर्ता र संरक्षक मान्न मन्जुर भए । दक्षप्रजापतिलाई बोकाको टाउको जोडेर जीवित तुल्याउने काम भयो (हार्नेको दुर्गतिको बिम्ब हो यो) । भृगु ऋषिलाई बोकाको जस्तै दाह्री राख्ने आदेश भयो । घाइतेहरूका लागि औषधिमूलो र पीडितहरूको उद्धारको व्यवस्था भयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.