केबुलकारमा सरर सराङकोट

केबुलकारमा सरर सराङकोट

पोखरा : पोखरा आएका पर्यटकको नजरमा सबैभन्दा पहिले फेवाताल र हिमाल पर्ने गर्छन्। अब यसको अनुपम सुन्दरताको आनन्द छोटो यात्रामा लिन सकिने भएको छ। पर्यटकले केबुलकारबाट फेवाताल हेर्दै सराङकोट पुगेर हिमाली दृश्यावलोकन गर्न सक्नेछन्। फेवा किनारको सेदीबाट सराङकोटसम्म ‘अन्नपूर्ण केबुलकार’ सञ्चालनमा आएको छ। 

केबुलकारहरूमध्ये अन्नपूर्ण केबुलकार देशमै कान्छो हो। अरू केबुलकार धार्मिक गन्तव्यका लागि हुन्। यसका विशेषता भने धेरै छन्। लेकसाइडबाट पश्चिमतिर सोझिँदा फेवातालको किनारैकिनार सराङकोट फेदी सेदी पुगिन्छ। त्यहीं छ केबुलकारको बेसस्टेसन। फेवाताल र हिमालको दृश्य केबुलकार चढेपछि झन् मनोरम देखिन्छ। तिनै आकर्षण यो केबुलकारको विशेषता भएको अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौडेलले बताए। ‘चारैतिर उत्तिकै आकर्षक देखिन्छ,’ उनले भने, ‘गाउँघरको रहनसहन, फेवाताल र यसको मुहानसम्मकै दृश्य पश्चिमतिर देखिन्छ। पूर्वमा पोखरा सहर, दक्षिणमा फेवाताल र उत्तरमा हिमाल।’ सफ्टओपनिङका दिन शुक्रबार यात्रुहरूले तिनै दृश्य नियाले। पहेंलपुर तोरीबारी, सराङकोटका ग्रामीण बस्तीको माथिमाथि हुँदै १० मिनेटमै केबुलकारले २ हजार १ सय ६५ मिटरको दूरी तय गर्यो। 

बेलायतका जोनी फेन पहिलो दिनै केबुलकार चढ्न पुगेका थिए। ‘यो केबुलकारको पहिलो विदेशी यात्रु मै हुँला,’ जोनीले कनिकुथी नेपालीमा भने। अरू रोचक र आकर्षक पर्यटकीय गतिविधि पनि सञ्चालन हुँदैछन्। डोरीमा झुन्डिँदै सराङकोटबाट हेम्जा झर्ने जिपलाइन पनि जान पाइन्छ। छोटो जिपलाइनको व्यवस्था केबुलकारकै परिसरमा हुने महाप्रबन्धक पौडेल बताउँछन्। सराङकोट सूर्यादय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रसिद्ध छ। अन्नपूर्ण केबुलकार त्यही हेर्न आउने स्वदेशी, विदेशी पर्यटक लक्षित रहेको केबुलकारका निर्देशक तीर्थराज त्रिपाठी बताउँछन्। डाँडामा जापानी मूलका नेपाली ताकासी मियाहाराले बनाएको होटल छ। उनकै परिकल्पनामा सेदीबाट सराङकोट केबुलकार बनाउने प्रक्रिया अघि बढेको थियो। सेदीलाई पोखराको मूल बजारबाट कुनो ठाउँका रूपमा लिइन्छ। अब त्यही कुनो पर्यटकीय केन्द्र बन्ने सराङकोटका पूर्वगाविस अध्यक्ष झपटबहादुर थापाले बताए। ‘केही लाखमै जग्गा पाइने सेदीको रूपरंग केबुलकार बन्न थालेपछि फेरियो,’ थापाले भने, ‘अहिले त रोपनीकै ४\५ करोड पर्छ।’ सेदीमै पाँचतारे होटल निर्माण सुरु भइसकेको छ। रिसोर्टहरू धमाधम बनिरहेका छन्। सेदीको शान्त वातावरण र फेवातालको दृश्यले पर्यटकीय मूल्य पाउन थालेको छ। 

थापाको अगुवाइमा स्थापित सराङकोट इन्भेस्टमेन्ट प्रालिमार्फत स्थानीयले पनि अन्नपूर्ण केबुलकारमा लगानी गरेका छन्। केबुलकारमा प्रतिष्ठित व्यवसायी कालु गुरुङ, ताकासी मियाहारा, पोखराकै लक्ष्मी ग्रुपका गणेशबहादुर श्रेष्ठ, क्याप्टेन रामेश्वर थापा, भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङलगायतको लगानी छ। कोभिडका कारण केही ढिला गरी केबुलकार सञ्चालन भएको त्रिपाठीले सुनाए। उनका अनुसार बेस र टप स्टेसन तथा खम्बा गाड्न, जग्गा जुटाउन पनि केही समय लागेको थियो। ७५ रोपनी जमिन कम्पनीले चर्चेको छ। महानिर्देशक पौडेलका अनुसार केबुलकारको सम्पूर्ण प्रविधि जापानी हो। केबुलकारमा दुई अर्ब लगानी भएको निर्देशक त्रिपाठीले सुनाए। नेपाली यात्रुले सराङसम्म आउजाउ गर्दा ७ सय रुपैयाँ तिरे पुग्छ। सार्क देशका लागि ८ सय र तेस्रो मुलुकका पर्यटकका लागि ९ डलर भाडा निर्धारण गरिएको छ। ज्येष्ठ नागरिक, अपांगता भएका र विद्यार्थीका लागि आधादेखि चौथाइसम्म छुट छ। 

केबुलकार बिहानै ५ बजे र सूर्यास्त हेरेर फर्कनेलाई लक्ष्य गरी साँझैसम्म सञ्चालन हुनेछ। केबुलकारमा यात्रु ओसारपसार गर्न १७ वटा र सामान ओसार्न एउटा डिब्बा छ। एउटा डिब्बामा ८ यात्रु बस्न मिल्छ। माथिल्लो स्टेसनमा स्काई हेवन बेलुन रेस्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ। तल्लो स्टेसनमा पार्किङ, गार्डेन छ। लेकसाइडबाट सराङकोट पुग्न गाडीमा पौने घण्टा लाग्छ। केबुलकारले साँघुरो, घुम्ती नै घुम्ती भएको उकालो सडक यात्राको विकल्प खोलिदिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.