स्थानीय तहको चुनाव नजिकिएसँगै दल बदल्नेको होडबाजी
भैरहवा : स्थानीय चुनावको मिति तोकिएसँगै तहका जनप्रतिनिधीहरु दल बदल गर्न सुरु गरेका छन् । कुर्सीको रस चाखिसकेका जनप्रतिनिधीहरुले पुनः चुनावी मैदानमा उत्रिनका लागि उम्मेदवारी टिकटको शर्तमा दल बदल गर्न थालेका हुन् । १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा गाउँ टोल स्तरमा चुनावी चर्चा सुरु भइसकेको छ । उम्मेदवार छनोट लागि अन्तिरक रुपमा विभिन्न पार्टीको स्थानीय स्तरमा दिनुहँ छलफल/बैठक बस्न थालेको छ ।
रुपन्देहीमा तहका अधिकांश जनप्रतिनिधीहरु नै आवद्ध दलभित्र पुनः उम्मेदवारीको आकांक्षा देखाइरहेका छन् । विशेष गरी जनप्रतिनिधीहरुले आवद्ध दलबाट पुनः उम्मेदवारीको टिकट नपाउने वा पाएमा पनि कार्यकर्ताबाट असहयोग हुने अवस्थाको मूल्यांकन गर्दै टिकटको शर्तमा अन्य दल रोज्न थालेका हुन् ।
अन्य दलले पनि जनप्रतिनिधीलाई पार्टीमा स्वागत गर्न पाउँदा हौसिएका छन् । तर, उच्च तहका नेताहरुले अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुलाई टिकटको शर्तमा पार्टीमा भित्रयाउँदा वर्षौदेखि पार्टीको झोला बोकेर हिँडेका कार्यकर्ताहरु रुष्ट बन्न पुगेका छन् । तर, अहिले नै उनीहरु खुलेर बोल्न चाहेका छैनन् ।
चुनावलाई लक्षित गर्दै दुई हप्ताभित्र रुपन्देहीका तीन गाउँपालिका ओमसतिया, रोहिणी र सम्मरीमाईका अध्यक्षहरु आवद्ध दल बदल गरेका छन् । गाउँपालिका स्तर साथै निर्वाचित वडाअध्यक्षहरु र दलका नेताहरु पनि जोड घटाउ गर्दै दल बदल गरिरहेका छन् ।
तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीबाट निर्वाचित भएका सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ५ वर्षको अन्तरालमा विभिन्न दल बदल गर्दै अगामी चुनावमा पालिका अध्यक्षको उम्मेदवारको शर्तमा माघ २७ गते नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बब्लु शुक्ललाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्ड । स्रोत : समाजिक संजाल
स्तै तत्कालिन संघीय समाजवादी फोरम नेपाल पार्टी (हाल जसपा) बाट निर्वाचित भएका रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव पनि चुनावमा उम्मेदवारी पक्का गरेर फागुन २ गते नेकपा एमालेमा प्रवेश गरेका छन् । निर्वाचित भएदेखि नै आफ्नै दलले असहयोग गर्दै आएकोले पार्टी त्याग गरी एमालेमा प्रवेश गरेको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए । पार्टी प्रवेशको कार्यक्रममा एमाले पार्टीबाट उम्मेदवारी दिने स्पष्ट संकेत गर्दै उनले भने, 'आउने दिनमा फेरी तपाईहरुको सेवा गर्ने मौका दिनुहुने भन्ने आशा छ , यस्तै साथ सहयोग गर्नुहोला ।’
शुक्ल र यादव दुवैजना नेपाली कांग्रेसमा प्रवेश गर्न चाहेका थिए । तर, उक्त क्षेत्रहरुका उच्च नेताहरुले उनीहरुलाई स्वीकार नगर्दा कांग्रेसमा प्रवेश पाएनन् । जनमत बटुल्न सक्ने खुबी भएका यी दुवै जनप्रतिनिधीलाई पार्टीमा ‘सेटलमेन्ट’ गर्न र उक्त क्षेत्रको कांग्रेसकै केही नेतालाई ‘समस्या’ पर्न सक्ने आंकलन गर्दै पार्टीमा प्रवेश हुन नसकेको कांग्रेस वृतमा चर्चा छ ।
यसको साथै अन्य दलबाट पार्टीमा प्रवेश गराएर उम्मेदवार बनाउँदा पार्टीमा लागेर कपाल फुलाइसकेका अधिकांश नेता/कार्यकर्ताहरु असन्तुष्ट हुने र चुनावमा समस्या उत्पन्न हुन सक्ने रुपन्देही काँग्रेसले आंकलन गरेको बताइन्छ ।
०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट १६ तह मध्ये एउटामा निर्वाचित भएर जिल्लामा पार्टीको साख जोगाएका ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) पनि टिकट ‘कन्र्फम’ गरेर फागुन २ गते नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीसँगै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन पनि एमाले प्रवेश गरेकी छिन् । अध्यक्ष राहुल यस अघि नै एमाले प्रवेश गर्न चाहेपनि पार्टीले कारवाही गरे पद जाने भएकोले पार्टीमै आवद्ध थिए । हालको गठबन्धन चुनावसम्म कायम रहे टिकट पाउन रस्साकस्सी गर्नुपर्ने सम्भावना देखेर उनले एमाले प्रवेश गरी ‘सेफल्याडिङ’ गरेको पालिकामा चर्चा छ ।
तर, संघिय समाजवादी फोरम नेपालबाट (हाल जसपा) ओमसतिया गाउँपालिकामा अघिल्लो चुनावी मैदान उत्रिएर ‘सेकेण्ड विनर’ भएका मन्जित यादव भने राहुल प्रवेश गर्न अघि नै पालिका अध्यक्षमा टिकटको कुराकानी गरेर जसपा छाडेर माघ २३ गते दलबल सहित एमालेमा प्रवेश गरेका थिए । ओमसतियाका ‘विनर’ र ‘सेकेण्ड विनर’ दुवै जना र पार्टीका पुराना उम्मेदवारका आकांक्षीहरुलाई एमालले ओमसतियामा चुनावमा कसरी ‘सेटलमेन्ट’ गराउने भन्ने समस्या देखिएको छ ।
‘टिकटको कुराकानी गरेर पार्टी प्रवेश गरेको हुँ’ ओमसतियाको ‘सेकेण्ड विनर’ यादवले भने, ‘पहिला प्रवेश गर्नुस, टिकटको पछि हेरौँला भन्ने जवाफ आएको थियौँ, हेरौँ अब पार्टीले के गर्छ ?’ सत्ता, पदका लागि दल बदल गरिरहेका जनप्रतिनिधीहरुका लागि आफूसँग कुनै शब्द नै नभएको भैरहवाका नागरिक अगुवा विजय गोविन्द श्रेष्ठ बताउँछन् ।
‘गाउँ–समाजको लागि नभई व्यक्तिगतको विकासका लागि फेरी चुनाव लड्नका लागि जनप्रतिनिधीहरुले दल बदल गरिरहेको देखिन्छ,'उनले भने, 'जनप्रतिनिधीहरु निकै तल्लो श्रेणीमा खसेका हुन्, यिनीहरुलाई अवसरवादी भन्दा पनि कम हुन्छ, यसको लागि मसँग कुनै शब्दै छैन् ।
पार्टीको सिद्धान्त/नीतिसँग कुनै मतलब नराखी दल बदल गर्ने जनप्रतिनिधीबाट विकासको आशा गर्न नसक्ने उनको भनाइ छ ।