अघि बढ्यो बेतन कर्णाली जलविद्युत आयोजनाको काम

अघि बढ्यो बेतन कर्णाली जलविद्युत आयोजनाको काम

सुर्खेत : ‘बेतन कर्णाली जलविद्युत आयोजना’ निर्माणका लागि पक्रिया अगाडि बढेको छ। कर्णाली प्रदेशकै गौरवको आयोजनाको रुपमा लिइएको यो आयोजना निर्माणका लागि पूर्वतयारी धमाधम अगाडि बढेको हो। विस्तृत अध्ययन प्रतिवेदन तयार भएसँगै आयोजनाले निर्माण पूर्वका तयारी थालेको छ। 

चारसय ३९ मेगावाट क्षमताको अर्धजलासययुक्त यो आयोजना निर्माणका लागि पूर्वतयारीको काम अगाडि बढेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक दीपक रौनियारले बताए। सुर्खेतको चौकुने गाउँपालिकादेखि अछामको ढकारी गाउँपालिकासम्म समेट्ने यो आयोजनाले आउँदो आर्थिक वर्षदेखि निर्माणको सुरु गर्ने उद्देश्यले हाल पूर्वतयारीका काम जारी राखेको हो। त्यसैका लागि हाल आयोजना स्थलसम्म सडक, क्याम्पहाउस तथा अडिट टनेल निर्माण र विद्युत विस्तार लगायतका काम भइरहेका छन्।

अछाम खण्डबाट आयोजनास्थलमा पुग्न सडक निर्माणको काम सम्पन्न भइसकेको छ। सुर्खेत खण्डमा भने अहिले आयोजना स्थलसम्म सडक निर्माणको काम चलिरहेको छ। सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट बाँधस्थलसम्म १४ किलोमिटर सडकको ट्याक खन्न थालिएको हो। त्यस्तै आयोजनास्थलमा विद्युत विस्तारको प्रक्रिया पनि सुरु भएको छ। कैलालीको सुगरखालदेखि ३३ केभिए विद्युत प्रसारण लाइन विस्तारको काम अगाडि बढेको हो। सुगरखालबाट आयोजना स्थल करिव ३० किलोमिटर टाढा पर्छ। निर्माणपूर्व तीन मिटर व्यास र ७० मिटर लम्बाइका दुई तथा एकसय र दुईसय मिटर लम्बाइका एक÷एक गरी चार वटा अडिट टनेल तथा बेशिकक्याम्प हाउस निर्माण थालिएका छन्।

यो आयोजना सञ्चालन गर्न सन् २०१७ अक्टोबरदेखि नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनीयरिङ कम्पनी लिमिटेडले अध्ययन सुरु गरेको थियो। दुई महिना अघिमात्रै आयोजनाको विस्तृत अध्ययन सकिएको हो। योसँगै आयोजनास्थल, अतिक्रमित हुने क्षेत्र र लागत अनुमान पनि टुंगो लागेको छ। यो आयोजनाका लागि कर्णाली नदीमा एक सय ४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत विद्युतगृहमा पानी पुर्याइने छ। यसको जलासयमा एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ। यसरी जम्मा भएको पानी ६.६ किलोमिटर लामो हेडरेस टनेल र तीन सय ४५ मिटर लामो पेनस्टल पाइपबाट टर्वाइनमा खसालिने छ। 

आयोजना निर्माण थालिएको पाँच वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ। यस्तै आयोजनाले शेयर संरचनाको पनि टुंगो लगाएको छ। जसअनुसार अब आयोजनाको प्रभावित क्षेत्रका स्थानीयले १० प्रतिशत शेयर पाउने छन्। आयोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिकाको वडा नं. ७ र अछामको ढकारी गाउँपालिकाको वडा नं. ६ र तुर्माखाँद गाउँपालिकाका वडा नं. ३, ४ र ५ वडाका बासिन्दा प्रभावित हुनेछन्।

आयोजनाले जग्गा अधिग्रहण प्रक्रिया पनि सुरु गरेको छ। आयोजना सञ्चालन हुँदा सुर्खेत र अछामको झण्डै २२ हजार दुई सय ९४ रोपनी जग्गा अधिग्रहणमा पर्नेछ। ‘अछाम र सुर्खेतमा जग्गा अधिग्रहण सुरु भएको छ’ बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक दीपक रौनियारले भने, ‘चालु आर्थिक वर्षभित्रै अधिग्रहणको काम सकिन्छ।’

यो आयोजना सम्पन्न गर्न ८८ अर्ब बजेट लाग्ने अनुमान छ। तर अहिलेसम्म लगानीको सुनिश्चिता भने छैन। यहीकारण आयोजना प्रबद्र्धकले लगानी सुनिश्चितताको पहल सुरु गरेको छ। आयोजना सञ्चालनका लागि झण्डै ६५ प्रतिशत ऋण लिनुपर्ने छ। तर कर्मचारी सञ्चय कोषसँग आयोजनाका लागि सात अर्ब बजेट मात्रै सुनिश्चित भएको छ। तर बाँकी रकम आयोजना सुरु हुनुअघि नै सुनिश्चितता गर्नुपर्ने हुन्छ। यही प्रबर्दक कम्पनीले आयोजनाको लागि रकम सुनिश्चितताको पहल सुरु गरेको हो। आयोजनामा ग्लोवल आइएमई बैंकको नेतृत्वमा नेपाल पूर्वाधार विकास बैंक र सनराइज बैंकले चासो देखाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.