एउटा थारू गीतको 'करोड कल्ब'को यात्रा

एउटा थारू गीतको 'करोड कल्ब'को यात्रा

काठमाडौं: रेकर्डका हिसाबले भन्ने हो भने थारू गीत संगीतको इतिहास धेरै लामो छैन। तीन दशकअघि थारू संगीत ‘कमर्सियल’ बन्दै गर्दा थारू भाषामा संगीत भर्ने र स्वर दिने सबै नेपाली सांगीतिक क्षेत्रका सर्जकहरू थिए। विसं २०४७ सालमा बनेको थारू फिल्म ‘करम’मा डम्बर गुरुङले संगीत भरे, जसमा लोचन भट्टराई, विमला राईलगायतको स्वर रहेको छ। त्यसपछिका वर्षहरूमा क्रमशः आनन्द कार्की, अञ्जना गुरुङ थारू भाषाको गायनमा जमेका थिए। युवा पुस्तामाझ आइपुग्दा मनिषा पोखरेल थारूहरूका प्रिय गायिका बनिन्। पाँच वर्षअघि सार्वजनिक भएको ‘चुरिया गुरिया’ मनिषाले नै गाएकी थिइन्, जुन गीतले थारू सांगीतिक क्षेत्रमा उछाल ल्याएको थियो।

पाँच वर्षमै थारू संगीतले नेपालमा आफ्नो छुट्टै पहिचान बनाएको छ। थारू गीत संगीतमा लागेकाहरू भलै राष्ट्रिय मिडियाको पहुँचभन्दा बाहिर छन्, तर काठमाडौंका अधिकांश रेकर्डिङ स्टुडियोमा आज थारू गीतहरू रेकर्ड भइरहेका छन्। थारू गीतले जसरी सांगीतिक बजारमा आफ्नो पहिचान कायम गरिरहेको छ, त्यसरी नै युट्युबमा दिनप्रति दिन नयाँ ‘रेकर्ड’हरू पनि बनाइरहेको छ। यसै दौडमा ‘मन लागेन’ एक करोड भ्युज पुग्ने पहिलो थारू गीत बनेको छ। आरकेसी डिजिटलले युट्युबमा सार्वजनिक गरेको यो गीतको भिडियोलाई १६ महिनामा एक करोड बढीले हेरेका छन्। लाख भ्युजमै रमाइरहेका थारू कलाकारहरूले यसलाई ‘माइलस्टोन’को रुपमा ब्याख्या गरेका छन्।

कसरी बन्यो मन लागेन

बर्दिया राजापुरका आरके थारू काठमाडौंमा रेस्टुरेन्ट व्यवसाय गर्थे। ग्राहकहरू नभएका बेला उनी गीत गुनगुनाउँथे। गीत गाउनु उनको बच्चैदेखिको सौख हो। गाउँका कुनै कार्यक्रम होस् या स्कुलमा गाउन भनेपछि उनी हुरुक्कै हुन्थे। त्यही सौखलाई उनी फुर्सदमा पूरा गर्थे। मुड चलेको बेला उनी फेसबुकमै लाइभ बसेर गीत गाउँथे। आरकेको उक्त गीतहरू नरेश चौधरी घोत्लिएर सुन्थे। नरेश र आरके गाउँले साथी हुन्। कुनै पनि कुरामा एकअर्कालाई प्रोत्साहन गर्न उनीहरू चुक्दैनथे। नरेश पेशाले जागिरे हुन्। नेपाल विद्युत प्राधिकरणमा उनी काम गर्छन्।

एकदिन नरेशले आरकेको खुबै तारिफ गर्दै भने, ‘यति मिठो स्वर छ। गायनमा लागे हुन्छ त।’ नरेशको कुराले आरके रोमाञ्चित बने, ‘साँच्चै गाउँ त?’ नरेशले सुझाव दिए, ‘गीत गाउने काम तिम्रो, भिडियो बनाउने काम मेरो।’ नरेशलाई पनि मोडलिङको रहर पूरा गर्नु थियो।

तस्बिरमा: बाँयाबाट गायिका अन्नु चौधरी, गायक आरके थारु, गीतकार सुवेश कठरिया र संगीतकार गणेश चौधरी।

यो त्यो बेलाको कुराकानी थियो, जतिबेला विश्व कोरोना महामारीको त्रासमा थियो। लकडाउनले विश्व नै ठप्प बनेको थियो। सल्लाहबमोजिम उनीहरू ‘गीतकार’को खोजी गरे। थारू सांगीतिक क्षेत्रका अब्बल गीतकार हुन्, सुवेश कठरिया। आरकेको सल्लाहले नरेशले नै सुवेशलाई फोन गरेर गीत लेखिदिन आग्रह गरे।

सुवेशले हुन्छ त भनिदिए, तर दिमागमा केही नफुरेर हैरान थिए। कोरोनाकालले होला उनलाई केही गर्न मन लाग्दैनथ्यो। केही गर्न मन नलागेपछि नै उनको पहिलो ट्युनिङ बन्यो– ‘मन लागेन’। ‘कोरोनाकालको प्रभावले बनेको गीत हो यो। केही गर्न मन नलागिरहेका बेला यो शब्द फुर्‍यो, जसलाई मैले प्रेमिल शब्दहरूसँग बुनेर तन्काएँ,’ सुवेशले राज खोले।

मन लागेनका संगीतकार हुन्, गणेश चौधरी। थारू सांगीतिक क्षेत्रलाई यो उचाइँमा पुर्‍याउन उनको ठूलो भूमिका छ। रूपन्देहीबाट गायक बन्न काठमाडौं आएका उनी कुशल अरेन्जर-संगीतकार बने। उनकै योगदानले आज थारू संगीतिक क्षेत्रले यो स्थान ओगटेको छ।

गीत कम्पोज गर्दा होस् या त्यसमा संगीत भर्दा, उनी शब्दको भावमा डुब्छन्। मन लागेनको भावमा डुब्न उनलाई झन्डै एक वर्ष लाग्यो। गीत कम्पोज गर्दा उनी सकभर स्वर दिने कलाकारलाई सँगै राख्छन्। त्यसो गर्दा गाउने मान्छेको ‘स्केल’ थाहा पाउने र त्यहीअनुसार गीत बनाउन सजिलो हुने गणेशको बुझाइ छ। उनले आरकेको स्वर परीक्षण गर्दै यो गीत बनाए। गीतमा गायिका अन्नु चौधरीले आरकेलाई साथ दिने सहमति भयो।

कमलादीस्थित ड्रिम्स स्टुडियोमा दुवैले गीत गाए। आवश्यक बाजा हालिसकेपछि आरकेले गीतको पहिलो ड्राफ्ट सुने। उनलाई आफ्नै स्वर चित्त बुझेन, दोहोर्‍याएर रेकर्ड गराए। ‘पहिलो गीत थियो, सकभर गल्ती नहोस् चाहन्थे,’ आरके ती पल सम्झिन्छन्।

तस्बिरमा: मोडेल नरेश चौधरी र मन्सा रावल।

त तयार भइसकेपछि वाचाअनुसार उनले नरेशलाई गीत सुम्पिदिए। गीत हात परेपछि नरेशले निर्देशकको खोजीमा लागे। थारू म्युजिक भिडियो बनाउने धेरै निर्देशकलाई उनले सम्पर्क गरे। चित्त बुझ्दो जवाफ उनले कतैबाट पाएनन्। ‘म्युजिक भिडियो बनाउने प्रोसेस मलाई थाहा थियो। म्युजिक भिडियोको स्क्रिप्ट छैन, कुन दृश्य कसरी खिच्ने केही छैन। हावा तालमा भिडियो बनाउने कुरै भएन,’ नरेश भन्छन्।

त्यही बेला निर्देशक सुरजदेव कुसुम्याको एउटा भिडियो उनले हेरे। त्यहीँबाट प्रभावित भएर सुरजलाई सम्पर्क गरे। सुरजसँगको पहिलो वार्तालापले नै नरेशको चित्त बुझ्यो। दुईबीच भिडियो बनाउने सहमति भयो। नरेश भन्छन्, ‘भिडियो बनाउने प्राविधिक पक्षबारे मलाई थोरै भए पनि ज्ञान थियो। त्यसैले म सबै कुरा बुझेरै मेकिङमा जान चाहन्थे।’

मन लागेन गीत सुनेपछि सुरजलाई प्रेमी प्रेमिकाको ‘लङ डिस्टेन्स’को कथा बन्नसक्ने आइडिया फुर्‍यो।  त्यही कथा उनले नरेशलाई सुनाएका थिए। स्क्रिप्टमा दुवै जना मिलेर काम गरे। र, नरेशको ‘डिमान्ड’अनुसार सुरजले कलाकारसहितको 'मेकिङ टिम'लाई वर्कशप दिए। टिकटकमा छाएकी पहाडी मूलकी मन्सा रावल नरेशको हिरोइन बेनिन्। सुरजले उनलाई पनि थारू हाउभाउ र थारु टोन सिकाए। सबै कुरा ‘पर्फेक्ट’ भएपछि बर्दियाको ठाकुरद्वारामा सुटिङ भयो। सुटिङमा स्थानीयले दिएको आतिथ्य यो टिमले अझै बिर्सन सकेका छैनन्। ‘यो गीत चल्नुमा कता-कता थारू गाउँका स्थानीहरूको पनि ठूलो भूमिका छ,’ नरेश सम्झिन्छन्।

काम गर्ने बेला आफ्नो धरातल बिर्सिदिनँ : निर्देशक सुरजदेव कुसुम्या

सुरजदेव कलाकार बन्न चाहन्थे। त्यसैले उनी काठमाडौंको कान्तिपुर फिल्म एकेडेमीमा एक्टिङ सिके। त्यहाँ उनले कलाकारिता मात्रै सिकेनन्, फिल्मका लागि चाहिने प्राविधिक पक्षबारे पनि ज्ञान हासिल गरे। थारू गीतहरूले बजार लिँदै गर्दा सुरज पनि यही क्षेत्रमा आइपुगे। उनी मन लागेनमा सतप्रतिशत काम गरेको दाबी गर्छन्। ‘मैले गर्ने कामहरूमा मेरो सतप्रतिशत दिन्छु। त्यो गीत सफल हुनुमा सायद हामीले गरेको मेहनतको प्रतिफल हो,’ उनी भन्छन्। मन लागेनमा सबैभन्दा राम्रो पक्ष भने भिडियो ट्रान्जिशन हो, जसलाई सुरज ‘सिन ब्रेक’ भन्न रुचाउँछन्। ‘मैले एक-एक सिनलाई ब्रेक गरेको थिएँ। कुन सिनलाई कहाँ कसरी जोड्ने मैले पहिल्यै तयारी गरेको थिएँ, जसको आउटपुट पनि धेरै राम्रो आयो,’ उनी भन्छन्।

थारूहरूको सबैभन्दा ठूलो सम्पत्ति सँस्कृति भएको सुरजको बुझाइ छ। भिडियो निर्देशन गर्दा उनी थारू सँस्कृतिको खुबै ख्याल गर्छन्। ‘काम गर्दै जाँदा हामीले हाम्रो धरातल बिर्सिन्छौं। हिजो पुर्खाहरू जे थिए, आज त्यो छैन। मनोरञ्जनको नाममा हामीले आफ्नो पुर्खा र सँस्कृतिलाई बिर्सिनु हुँदैन,’ उनी भन्छन्।

मन लागेनपछि ममाथि चुनौति थपियो : नरेश चौधरी

नरेश चौधरी अभिनित भिडियोहरू अरुभन्दा फरक हुन्छन्। उनी आफ्नो भिडियोमा केही नयाँपन दिन चाहन्छन्। त्यही भएर होला उनका सबै भिडियोमा मिलियन भ्युज छ। उनको भिडियो अरुभन्दा किन फरक हुन्छ? नरेश भन्छन्, ‘किनकि मलाई प्राविधिक कुराको ज्ञान छ। म हावा तालमा भिडियो बनाउँदिनँ। मोडर्न र कल्चरलाई कसरी भिडियोमा देखाउन सकिन्छ, त्यसबारे अध्ययन गर्छु।'

यो क्षेत्रमा आउँदै गर्दा उनी कहाँ पुगिएला भनेर सोचेका थिएनन्। हराए पनि थारू म्युजिक भिडियो गरेरै हराउने उनले निधो गरेका थिए। ‘सबैले तेरो भिडियो चल्ला भन्दै जिस्काउँथे, हराए पनि थारू भिडियो गरेरै हराउँछु भनेर जवाफ दिन्थे,’ उनी सम्झिन्छन्।

एक करोड भ्युज त कल्पनाको कुरा भएको उनी बताउँछन्। 'एक लाख भ्युजमै कति खुसी भएको थिएँ। एक करोड भ्युज त कल्पना बाहिरको कुरा थियो,’ उनी भन्छन्। मन लागेन हिट बन्दै गर्दा उनमा चुनौति पनि थपिएको छ। अर्को गीत चल्ला कि नचल्ला भनेर सधैं उनी पीर गर्छन्। तर, भाग्यवश उनका सबै भिडियोहरु हिट छन्। उनका अन्य भिडियाले पनि ५० लाख बढी भ्युज पाएको छ। त्यसको राज खोल्दै उनी भन्छन्, ‘म्युजिक भिडियो मनोरञ्जनका लागि हेरिने भएकाले मलाई मोडर्न र कल्चर दुवै समावेश गर्नुपर्छ भन्ने लाग्छ। किनकि अहिलेको जेनेरेशनले एकैपटक कल्चर नस्वीकार्न पनि सक्छ।' उनी आफ्नो भिडियोमा यही दुई सुत्र प्रयोग गरेको दाबी गर्छन्।

भिडियो हेर्नुस्:


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.